सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

निमका पातझैँ ओखती मेरा बा

बिहीबार, २८ भदौ २०८०, ११ : २६
बिहीबार, २८ भदौ २०८०

जब नदीले बगरमा थुपारेको बालुवासरी 
सन्तानका लागि अभाव थुपार्दै  गरेको देख्छु
अनि यो चाहियो, त्यो चाहियो भन्दै
तिम्रा कोटका सबै गोजीहरू चाहारेको सम्झिन्छु
त्यो पुरानो च्यातिएको कोटको गोजीमा 
पैसा भेट्टाउँदाको खुसी 
अनि बजार गएर  त्यही खुसी बेचेको सम्झिन्छु ।
मेरा लागि कहिल्यै नथाक्ने त्यो शरीर 
घुँडा टेकेर काँधमा बोकेर घर वरिपरि घुमाउँदा
रगत बगरहेको घुँडामाथि घोडा चढिरहेँ
तर तपाईंको दुःख र वेदनाहरू कहिल्यै भेटिनँ । 

बुवा,
बगरमा बसेर नदीको गहिराइ नाप्ने म 
चाउरी परेको अनुहारमा 
बाँसको चोया काढेझैँ 
कोरिएका दुःखका लाप्साहरू देखिन 
नदीको किनारामा बढेको भावुकतालाई
पानीको छालले बेस्सरी पछार्छ 
अनि म झल्यास्स ब्युँझिन्छु ओहो !  
मेरो बुवाको स्वर पो रहेछ यो त !
मेरा गल्ती र कमजोरीहरू केलाउँदा
छोरो नबिग्रियोस् भनेर झपार्दा
मेरा कानसम्म बजारिएको आवाज सुन्छु ।

बुवा
दुःख होस् या सुख नदी जसरी बगिरहने 
खेतमा दिनभरि हलो जोतेर
काँधमा मलाई बोकेर 
घर फर्किंदा 
एक भारी दाउरा उठाएर 
घरसम्म पुगेको सम्झिन्छु
जिम्मेवारीको झोला बोकेर 
चरीले झैँ गुँड बनाएर सन्तान हुर्काउने 
कहिले बनाउनु भयो बुवा त्यत्रो ठूलो भकारी 
मन रोएर पनि 
मुस्कुराउँदै खुसी साट्ने हिम्मत
कहाँबाट जुट्यो बुवा ?  
तपाईंले मेरो भविष्यका लागि 
खनेको बाटोमा अहिले म बामे सर्दैछु ।

बुवा 
अब म चाँडै आउँदै छु
ती तपाईंले खनेका दुःखका डोबहरूमा 
बिरुवा रोप्न 
तपाईंका ती गाउँखाने कथा 
सोलक सुन्न, 
जसले मलाई सुन्न सक्ने बनाएको छ  
मलाई बोकेर घाँसदारा जाँदा 
गुनगुनाएका गीत सुन्न 

बुवा
तपाईंको यादमा आँखाबाट 
पानी बनेर बगेको 
समय नियालिरहँदा 
पसिनाले लुथ्रुक्कै भिजेको शरीर सम्झिन्छु 
तपाईंको मधुरो छाया देख्छु 
मीठो आवाज सुन्छु, अनि सम्झिन्छु 
घरखर्च जोहो गर्न नसक्दाका
बुवाका दुःख र विषादहरू कहिल्यै देखिनँ ।
कठ्याङ्ग्रिने जाडोमा हात सेकाउनका लागि
दाउरा चिर्दा बुबाका हातमा उठेका ठेलाहरू 
किन देखेन ।

बुवा
सन्तानका निधारको पसिना पुछ्न,
बुवाले आफ्नो निधारबाट बगाएका
पसिनाका खोलालाई किन देखेनन् ।
बुवा तपाईं त्यो निमको पात हो 
भलै तीतो होला तर त्यो तीतोले 
सधैँ ओखतीको काम गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन विष्ट
अर्जुन विष्ट
लेखकबाट थप