बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सांसदहरु भन्छन्–संसदमा आजैदेखि सुवास नेम्वाङको अभाव खड्किसक्यो

बिहीबार, २८ भदौ २०८०, २२ : ५८
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख स्वर्गिय सुवासचन्द्र नेम्वाङको अभावको महसुस भइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले प्रतिनिधिसभा बैठकमा स्व. नेम्वाङको अभाव आजैको बैठकबाट सुरु भइसकेको बताएका हुन् । उनले नेपाली राजनीतिले नेम्वाङका अभावको क्षतिपूर्ति गर्न लामो समय कुर्नुपर्ने बताए । 

सचेतक बर्तौलाले नेम्वाङ राजनीतिलाई निष्ठा र संस्कृतिका साथ अगाडि बढाउनुपर्छ भन्ने वकालत गर्ने पात्र भएको बताए । त्याग, निष्ठा, लगनशीलता, सहनशीलता र धैर्यताका साथ असहजतालाई पार लगाउनुपर्छ भन्ने नेम्वाङको मान्यता रहेको उनले बताए ।

नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेम्वाङको शालीन व्यवहारका कारण संविधान सभा तथा संसदमा सबैलाई मिलाएर जान सकेको बताए । शालीन व्यवहार प्रस्तुत गर्दै सबै पार्टीलाई विषयवस्तुमा केन्द्रित गराएर छलफल गर्नसक्ने क्षमता नेम्वाङमा रहेको भन्दै पाण्डेले नेम्वाङको स्मरण गरे ।

उनले भने, ‘उहाँको संविधान निर्माणदेखि लिएर संसद् चलाउने सिलसिलामा पनि उहाँको शालीन व्यवहार, सबै पक्षलाई मिलाएर लिएर जाने जे स्वभाव थियो । सधैभरि त्यस्तै मान्छे, त्यस्तै नेता फेला पर्दैनन् । उहाँको शालीन व्यवहार, नरिसाउने स्वभाव, सबै पार्टीलाई समेटेर विषयवस्तुमा केन्द्रित गराएर छलफल गर्ने बानी छ ।’

त्यस्तै, नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपालका कम्युनिस्ट तथा वामपन्थी आन्दोलनलाई एकै ठाउँमा राख्नुपर्छ भन्ने कुरामा नेम्वाङले जोड दिने गरेको बताए । कम्युनिस्टहरु मिलेर जानुको विकल्प छैन भन्ने कुरामा नेम्वाङ दृढ रहेको पौडेलको भनाई छ ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशमा शान्ति प्रक्रियाको काम टुंगिन बाँकी रहेको उल्लेख गर्दै नेम्वाङ जीवित भइदिएको भए शान्ति प्रक्रिया टुंग्याउन र संविधान कार्यान्वयन गर्न उहाँको विशेष भूमिका हुने बताए । नेम्वाङले जातीय र धार्मिक मुद्दाको आधारमा नभई लोकतान्त्रिक विधि र पद्धतिको आधारमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने विश्वास बोकेको उनको भनाई छ । नेपालको तात्कालिक राजनीतिमा नेम्वाङ जत्तिको समन्वयकारी भूमिका गर्ने नेता भेट्न गाह्रो पर्ने सांसद पौडेलको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेम्वाङ राजनीतिमा सहमति, समन्वय गरेर अगाडि बढाउने व्यक्ति भएको बताए । राष्ट्रिय मुद्दाहरुमा सबैजना एक ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने धारणा नेम्वाङमा रहेको उनले उल्लेख गरे ।

नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले असहज परिस्थितिमा खुट्टा कमाइदिएको भए संविधान सभाबाट संविधान जारी नहुने बताए । कम्युनिस्ट पार्टीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने नेम्वाङको धारणा रहेको उनले बताए ।

श्रेष्ठले संसदीय काम, कारबाहीमा आफूहरुले नबुझेका कुरा सोध्दा स्व. नेम्वाङले झर्को नमानीकन सिकाउने गरेको स्मरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप