बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा सांसदहरुका यस्ता छन् सुझाव

शुक्रबार, २९ भदौ २०८०, १६ : २१
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चिन भ्रमणमा नेपाल–चिन विद्युत् व्यापारको विषयमा छलफल गर्नुपर्ने बताएका छन् ।  

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपालको विद्युत् व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने बताए । उनले चीनसँग विद्युत् व्यापार गर्ने सम्बन्धमा प्रधानमन्त्रीको भ्रमणको बेलामा छलफल गर्नुपर्ने बताए । 

त्यस्तै बीआरआई परियोजनालाई पनि अगाडि बढाउनुपर्ने सांसद पन्तले बताए । उनले प्रधानमन्त्रीले अमेरिका हुँदै चीन जानु उपयुक्त नहुने पनि बताए । त्यसैगरी चीनसँग ३/४ वटा नाका खोल्नुपर्ने पनि उनले बताए ।

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्री प्रचण्डले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताए । उनले नेपाली भूमिको सम्बन्धमा पनि कूटनीतिक रुपमा स्पष्ट रुपमा कुरा गर्नुपर्ने बताए । प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले  भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताए । उनले व्यापारको विषयमा पनि छलफल हुने बताए । त्यस्तै देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई पनि सुमधुर, सन्तुलित रुपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरू हुने बताए ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा सीमा सम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल हुने बताए । नेपालको चुच्चे नक्साको सन्दर्भमा पनि चिनियाँ पक्षसँग छलफल हुने र प्रधानमन्त्रीले उनीहरुलाई सो कुराको बोध गराउने उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिए । उनले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

शाहीले हङकङस्थित महावाणिज्य दूतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप