मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

साउदीमा सप्लायर्स कम्पनीबाटै ठगिन्छन् नेपाली श्रमिक

शनिबार, ३० भदौ २०८०, ०८ : ३४
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । डेढ वर्ष अघि साउदी पुगेका २० जना नेपाली यतिबेला बेरोजगार छन् । उनीहरूले चार महिनादेखि न काम पाएका छन्, न तलब ।

एउटा कोठामा बन्दीजस्तै जीवन बिताउन बाध्य उनीहरूलाई १५ दिनमा १०० रियाल खर्च दिएर राखिएको छ । सप्लायर्स कम्पनीमार्फत काम गर्दै आएका उनीहरु कम्पनीले काममा लगाउन नसकिने बताएपछि बिचल्लीमा परेका हुन् ।अहिले उनीहरूलाई साउदीस्थित काउन्सुलर कार्यालयमा राखिएको छ ।

खोटाङका उदय राईलाई वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेको ३ महिनासम्म ठूलो भवनको एक अँध्यारो कोठामा राखियो । उनीसँगै अन्य १५ जना नेपाली र अन्य देशका केही कामदार पनि थिए । चौथो महिना लाग्दै गर्दा राईले काम पाए । तर, नेपालबाट भने अनुसारको काम उनलाई भएन ।

नेपालबाट जाँदा गरिएको सम्झौता अनुसार काम नपाएपछि उनले कम्पनीसँग जिज्ञासा राखे । त्यसपछि उनी कम्पनीको निसानामा परे । र, उनलाई गाह्रो काममा लगाउन थालियो । काम गर्न नसक्ने भएपछि उनी ६ महिनामै नेपाल फर्किए । उनीसँगै गएका अन्य साथीसमेत कामै गर्न नसक्ने अवस्थामा पुगे ।

अन्य देशमा नेपालबाट सिधै रोजगारदाताकहाँ पठाउने गरिन्छ । तर, साउदीको हकमा भने सप्लायर्स कम्पनीमार्फत मात्रै रोजगारदाताकहाँ काममा लगाउने गरिएको छ । जसले गर्दा नेपालीहरूले दुःख पाउने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

वैदेशिक रोजगारीका लागि साउदी पुगेका अधिकांश नेपाली भनेअनुसार तलब नपाउने, सम्झौता अनुसार काम नपाउने समस्याबाट प्रताडित छन् । नेपालबाट जाँदा एक खालको सम्झौता गरिएको हुन्छ तर साउदी पुगेपछि सुरूमा कामै नपाउने र पाए पनि सम्झौता अनुसार नहुने समस्या देखिन्छ ।

नेपालबाट मेनपावर कम्पनीमार्फत साउदीमा रहेका सप्लायर्स कम्पनीले नेपाली कामदार लैजान्छन् । तिनै सप्लायर्स कम्पनीले विभिन्न रोजगारदाता कहाँ लगेर काममा लगाउँछन् ।

अन्य देशमा नेपालबाट सिधै रोजगारदाताकहाँ पठाउने गरिन्छ । तर, साउदीको हकमा भने सप्लायर्स कम्पनीमार्फत मात्रै रोजगारदाताकहाँ काममा लगाउने गरिएको छ । जसले गर्दा नेपालीहरूले दुःख पाउने गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

साउदीमा सप्लायर्स कम्पनीमार्फत मात्रै रोजगारदाताकहाँ काममा लगाउनुपर्ने प्रावधान छ । सोही आधारमा नेपालबाट समेत तिनै सप्लायर्स कम्पनीले कामदार मगाउँदै आएको र उता रोजगारदाताकहाँ पुगेपछि अर्को सम्झौता हुने गरेको उनको भनाइ छ ।

साउदीमा ९० प्रतिशतभन्दा बढी सप्लायर्स कम्पनीले नेपाली कामदार मगाउने गरेको भण्डारी बताउँछन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले साउदीको समस्या नै सप्लायर्स कम्पनीमार्फत कामदार पठाउनु रहेको बताए । यसको अर्को विकल्पसमेत नरहेको उनको भनाइ छ । यस्तो खालका समस्या दिन प्रतिदिन आइरहेको भन्दै उनले समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन थालिएको बताए ।

‘यहाँबाट सप्लायर्स कम्पनीले नेपालबाट मान्छे लैजान्छन् । त्यहाँ उनीहरूको लगभग पक्का त हुन्छ । तर, यो रोजगारदाताकहाँ पठाउने भनेर पक्का भएको हुँदैन,’ उनले भने, ‘फिक्स नभएका कारण यहाँबाट लगेर २÷३ महिना कतै राखिदिन्छन् । त्यो भनेको कन्ट्रयाक्ट पनि इलिगल हो । किनभने कहाँ काम पाउने भनेर कन्र्फम नै नभएपछि यहाँ गरेको कन्ट्रयाक्टको कुनै अर्थ छ र ?’

साउदीको सप्लायर्स कम्पनी र रोजगारदाताबिच सम्झौता गरिएको हुन्छ । र त्यही आधारमा सप्लायर्स कम्पनीले नेपालका मेनपावरमार्फत कामदार मगाउँछन् । उता पुगेपछि सप्लायर्स कम्पनीले रोजगारदाताकहाँ लैजाने गरेको उनको भनाइ छ ।

आफू विभागमा आएपछि साउदीमा निकै बढी समस्या आएको देखिएको दाहालको भनाइ छ ।

‘म यहाँ आएपछि यो बिचमा साउदीको धेरै समस्या आयो, के कारण रहेछ भनेर बुझ्दा यस्तो समस्या देखियो । मैले यो विषयमा छलफल गरेँ । मन्त्रालयमा पनि यो समस्याबारे जानकारी गराएको छु,’ उनले भने, ‘यसमा मन्त्रीज्यूले निर्णय गर्नुहोस् भन्नुभएको छ । मैले गर्ने निर्णय त म गरिहाल्छु । तर, मन्त्रालयले गर्ने निर्णय मन्त्रालयले गर्नुपर्छ भनेको छु ।’

अब सप्लायर्स कम्पनीलाई नै कुन रोजगारदाताकहाँ पठाउने भनेर यहीँबाट यकिन गर्न लगाउने प्रावधान गर्न लागेको दाहालले बताए ।

‘यही रोजगारदाता हो भने यकिन गरेर भन्न नसकिने भए पनि सम्भावित यी हुन् भनेर तोकिनुपर्छ । रोजगारदाता फिक्स भयो भने श्रमिकको काम पनि फिक्स हुन्छ,’ उनले भने, ‘सेलरी पनि फिक्स हुन्छ । कन्ट्रयाक्ट पनि फिक्स हुन्छ । अहिले केही पनि नभएका कारण दुःख पाएका हुन् ।’

नेपालबाट श्रमिक लैजाने र २-३ महिना कतै एकान्त ठाउँमा लगेर राख्ने गरेका छन् । त्यो बेला रोजगारदाताकहाँ काम खोज्ने र डिमाण्ड आएको खण्डमा पठाउने गरेको उनको भनाइ छ ।

एउटा सप्लायर्स कम्पनीले अर्को सप्लायर्स कम्पनीलाई समेत श्रमिक आदानप्रदान गर्ने गरेका छन् । यो कार्यलाई पूर्ण रूपमा रोक लगाउन खोजिएको दाहालको भनाइ छ ।

‘एउटाले अर्को सप्लाई कम्पनीलाई रोजगारदाता भनेर ल्याउँछ भने त्यसको माग प्रमाणीकरण नगर्ने भनेर प्रस्ताव गर्दैछु, यसमा निर्णय गराउँछु । त्यो भयो भने कम्पनीमा यो खालको समस्या घट्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप