मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘अस्थायी ठेगानाबाट पनि अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने कानुनी व्यवस्था गर्न माग’

शनिबार, ३० भदौ २०८०, १२ : ३१
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । विभिन्न प्रकारका शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई मतदाता परिचय पत्र भएको स्थायी ठेगानाबाट मात्र नभई बसोबास गरिरहेको अस्थायी ठेगानबाट पनि मतदान गर्न पाउने कानुनी व्यवस्था गर्न माग गरिएको छ । 

नेत्रहीन युवा संघ नेपालले काठमाडौँमा गरेको ‘आम निर्वाचन २०७९ मा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र सहभागिता’ विषय प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै संघका अध्यक्ष कलाधर भण्डारीले निर्वाचन आयोग समक्ष सो माग गरेका हुन् ।  अध्यक्ष भण्डारीले निर्वाचनका बेला अपाङ्गता भएका व्यक्तिलाई बन्दसूचीमा समावेश गरिने तर प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गराउने बाध्यकारी व्यवस्था नभएका कारण बन्द सूचीमा समावेश भएका व्यक्तिलाई पनि संसदमा निश्चित संख्यामा प्रतिनिधित्व गराउने बाध्यकारी कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए । 

यस्तै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनका लागि अपाङ्गता भएका वा अल्पसंख्यक भन्ने क्लष्टर राखिएकोले अल्पसंख्यकले सिट पाउने तर अपाङ्गता भएकोले नपाउने भएकोले अपाङ्गता भएका भन्ने छुट्टै क्लष्टर राख्नुपर्ने बताए । 

अध्यक्ष भण्डारीले अपाङ्गता भएको व्यक्ति आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेको अवस्थामा जुन स्थानमा अस्थायी बसोबास गरेको छ त्यही स्थानबाट मतदान गर्न पाउने व्यवस्था राख्न माग गरे । स्थायी ठेगाना भएको स्थानमा मतदानका लागि आवतजावत गर्न कठिनाई हुने भएकोले जहाँ बसेको छ त्यहीबाट मतदान गर्न पाउने व्यवस्था गर्न माग गरे । यस्तै बौद्धिक अपाङ्गता भएका र मनोसामाजिक अपाङ्गता भएकाहरुलाई उनीहरुको अवस्था अनुसार आफैंले मतदान गर्न पाउने व्यवस्था राख्न जोड दिए । 

अपाङ्गतामैत्री निर्वाचनका लागि उपयुक्त कानुनको मस्यौदा बनाएका छौँ : निर्वाचन आयुक्त तुलाधर  

 सोही कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले अपाङ्गता मैत्री निर्वाचनका लागि आवश्यक कानुनी मस्यौदा तयार पारेर आयोगले सरकारलाई बुझाएको बताएकी छिन् । 

तुलाधरले अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले दिएको सुझाव समेटेर निर्वाचन कानुनको मस्यौंदा बनाई सरकारलाई पठाएको जानकारी गराउँदै सो विधेयकलाई सांसदहरूले पास गर्ने विश्वास लिएको बताइन् ।

उनले सरोकारवाला पक्षबाट आएको सुझाव अनुसार आगामी दिनमा कानुन र संविधानमा भएको व्यवस्थाअनुसार आयोगले नियम, निर्देशिकाहरू बनाउने गरेको उल्लेख गरिन् । नेपालमा झन्डै ३० लाख अपांगता भएका व्यक्तिहरु रहेको बताउँदै कतै अपांगता भएका ब्यक्तिको नाम छुटेको छ कि त्यसलाई ख्याल गर्नका लागि आग्रह गरिन् । 

तुलाधरले अपांगता भएका व्यक्तिहरूको सल्लाह सुझाव संविधान र ऐनमा भएको व्यवस्था अनुसार कार्यान्यन गर्ने उल्लेख गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप