शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वाधार

सुर्खेत विमानस्थलको विस्तार कि नयाँ विमानस्थल भन्नेमा रुमलिएको बहस

'सुर्खेत विमानस्थलको विकल्प तत्काल सोच्न सकिन्न : थानी
मङ्गलबार, ०२ असोज २०८०, ११ : ०४
मङ्गलबार, ०२ असोज २०८०

सुर्खेत। स्थानीयको दबाबका कारण 'च्याप्टर क्लाेज' गरिएको सुर्खेत विमानस्थल बिस्तारको कामका लागि पुनः पहल सुरु भएको छ। २०७८ मै तत्कालीन मुख्यमन्त्री जीवनबहादुर‌ शाहीले नागरिकको दबाब खेप्न नसकेको र महँगो पनि भएको भन्दै बिस्तारको विषयलाई बन्द गरिदिएका थिए ।

साथै उनले भेरीगंगाकाे रामघाटमा नयाँ विमानस्थल बनाउने नयाँ प्रस्ताव अघि सारेका थिए  । अहिले संघीय सरकारले उक्त ठाउँमा विमानस्थल निर्माण गर्ने भनेर बजेट र नीति, कार्यक्रममा पनि समेटेको छ। साथै प्रदेश सरकारले पनि विमानस्थल निर्माणका लागि संघीय सरकारसँग समन्वय गरिने बजेटमा उल्लेख गरेको छ। यद्यपि तत्कालको आवश्यकताका लागि वर्तमान विमानस्थलको विकल्प नरहेको भन्दै मुआब्जा दिएर विस्तार कार्य अगाडि बढाउनुपर्ने आवाजहरू उठ्न थालेका हुन् ।

सुर्खेतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको तत्काल विकल्प सोच्न नसकिने बताए । उनले विमानस्थलको धावनमार्ग विस्तार गर्ने सम्बन्धमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग छलफल समेत गरिसकेका छन्।

हाल १ हजार २५५ मिटर क्षेत्रफल रहेको सुर्खेत विमानस्थल विस्तार गर्न स्थानीयलाई उचित मुआब्जाको व्यवस्था गरी उत्तरतर्फ ३०० मिटर थप गर्ने कुरामा सबैको साझा धारणा बन्न जरुरी रहेको थानी बताउँछन् ।

तत्कालीन अवस्थामा १ हजार पाँच समयको धावनमार्ग विस्तार गर्ने भनेर बर्सेनि बजेट समेत व्यवस्थापन हुँदै आएको थियो । तर, त्यो बजेट प्रत्येक पटक  फ्रिज भएर जाने गरेको थियो ।

थानीले महानिर्देशक प्रदीप अधिकारीलाई विस्तार कार्य अगाडि बढाउनुपर्ने भन्दै निवेदन दर्ता गरेका छन्। निवेदनमा भनिएको छ , 'विमानस्थलको धावनमार्ग सानो हुँदा तापक्रम, सिट संख्या र तौल सन्तुलन गरेर एटीआर–७२ जहाजले सेवा प्रदान गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । ५७ वर्ष पुरानो यस‌ विमानस्थलको हाल विकल्प सोच्न नसकिने अवस्था छ।'

हाल विमानस्थलको विकल्प खोज्दा मुलुकको आर्थिक स्थितिले तत्काल सम्भव नहुने भन्दै उनले यही विमानस्थलको धावनमार्ग विस्तार मुलुक र कर्णालीवासीलाई लाभदायी हुने उनको भनाई छ ।

उनले विकल्प सोच्दा पनि १५/२० वर्ष लाग्ने, त्यो अवधिसम्म यही विमानस्थल चलाउनुपर्ने हुँदा थप ३०० मिटर विस्तार गरेर छिटो सम्पन्न गर्नु लागत र प्राविधिक दृष्टिकोणले सहज हुने उनको भनाइ छ।

प्रदेश सरकारले बजेटमा स्तरोन्नतिको विषय नराखे पनि नीति तथा कार्यक्रममा भने स्तरोन्नति गरिने उल्लेख छ। कर्णालीको निजी क्षेत्रले पनि लामो समयदेखि अहिलेकै विमानस्थललाई विस्तार गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेको छ। केही दिन अघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल विस्तार कार्य अगाडि बढाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएको थियो ।

सुर्खेत विमानस्थलको बिस्तारको विषयलाई लिएर नेताहरू पक्ष र विपक्षमा देखिन्छन् । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्तार कार्य अगाडि बढाउन भन्दै लगत सङ्कलनको कार्य अगाडि बढाइसक्दा त्यो बेला नेकपा एमालेले साथ दिएको थिएन ।

टीकाराम आचार्यको नेतृत्वमा गठित नागरिक सरोकार समितिले सयौँ घरधुरी प्रभावित हुने, महँगो हुने भन्दै विकल्प सोच्नुपर्ने प्रतिवेदन तयार गरेर आन्दोलन गरेको थियो ‌। यामलाल कँडेलहरूले सहयोग नगरेको त्यो बेला सरकारमा रहेका मन्त्रीहरू बताउँछन्। 

पछि भेरीगंगामा विमानस्थल बनाउनुपर्ने कुरा उठिसकेपछि मात्र कँडेल लगायतका नेताहरूले वर्तमान विमानस्थललाई नै विस्तार‌ गर्नुपर्ने आवाज उठाउन थालेका हुन् ।

कँडेलले हिजाेआज हरेक जसाे सार्वजनिक कार्यक्रममा विमानस्थल विस्तार गर्नुपर्ने कुरा उठाउँदै आएका छन्।

विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११, र १२ नं वडाका करिब ९ सय २३ घरधुरी परिवार, विद्यालय पनि प्रभावित हुनेछन् ।

काम गर्ने वातावरण बनाउनुहोस् : महानिर्देशक 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यसअघि विस्तार कार्य‌ अगाडि बढ्न नदिएकाले रोकिएको बताए । अहिले आवाजहरू उठ्न थालेपछि विस्तारका लागि छलफल गर्नुपर्ने उनको भनाइ छ।

'हामीलाई पहिला काम गर्न दिइएन, दुई पटक प्रयास गरिएको हो,' अधिकारीले भने,' अहिले च्याप्टर क्लाेज गरिएको छ। के गरेर हुन्छ छलफल गरौँ।'

काम गर्ने वातावरण मिल्ने नमिल्नेमा नै अधिकारीले‌ चिन्ता व्यक्त गरेका छन्। यसका लागि सकारात्मक वातावरण बनाउन उनले आग्रह समेत गरे ।

सांसद थानीले पनि आफू वातावरण बनाउन तयार रहेको जवाफ दिएका छन्। 'विस्तारका लागि साथीहरूले बोलिरहनुभएको छ, मैले पनि बोलेँ,' थानीले राताेपाटीसँग भने,' यामलाल जीले प्रधानमन्त्रीकै अगाडि बोल्नुभएकै छ। वातावरण बन्छ । यो अहिलेको आवश्यकता हो ।'

थानीले ४ बिगाहा जग्गा अधिग्रहण गरे पुग्ने बताए । कम पैसामा छिट्टै बन्ने र नयाँ बनाउन वर्षौँ लाग्ने भएकाले यसलाई नै विस्तार गर्नुपर्ने उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप