बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फोहोर भित्री वस्त्र लगाउने बानीले स्वास्थ्य बिग्रन्छ, लाग्न सक्छन् यी ५ रोग !

मङ्गलबार, ०२ असोज २०८०, १७ : ११
मङ्गलबार, ०२ असोज २०८०

हामी शरीरको स्वच्छताको बारेमा कुरा गर्छौँ, तर इन्टिमेट हाइजिन बारे कुरा गर्न चाहँदैनौँ । जबकि तपाईंले आफ्नो गुप्ताङ्ग सफा र रोगमुक्त राख्नु निकै महत्त्वपूर्ण छ । इन्टिमेट हाइजिनमा आफ्नो भित्री वस्त्रको सरसफाइ पनि समावेश छ । तपाईंले भित्री वस्त्रलाई सफा राख्नुहुन्न भने त्यसमा हानिकारक ब्याक्टेरिया हुर्कन थाल्नेछ । जसलाई धेरै पसिना आउँछ, उनीहरूलाई छालाको सङ्क्रमण हुने खतरा बढी हुन्छ । फोहोर भित्री वस्त्र लगाउँदा रोग फैलन्छ । आज हामी तपाईंलाई फोहोर अन्डरवेयर लगाउँदा हुने पाँच रोगबारे जानकारी लिऔँ । यो जानकारीका लागि एक भारतीय सञ्चार माध्यमले लखनउको केयर इन्स्टिच्युट अफ लाइफ साइन्सेजकी एमडी फिजिसियन डा. सीमा यादवसँग कुराकानी गरेको छ । 

१. फोहोर भित्री वस्त्रले मिर्गौला सङ्क्रमण हुनसक्छ

भित्री वस्त्र सफा नगर्दा यसमा हुने ब्याक्टेरिया पिसाब थैली र मिर्गौलामा पुगेर स्वास्थ्यलाई हानि पुर्‍याउँछ । फोहोर भित्री वस्त्र लगाउँदा प्रोस्टेट क्यान्सर वा पिसाबको क्यान्सर पनि हुनसक्छ । भित्री वस्त्र छनोट गर्दा राम्रो ब्रान्ड खोज्ने प्रयास गर्नुपर्छ र गुणस्तरमा ध्यान दिनुपर्छ । यसो गर्दा रोगबाट बच्न सकिन्छ ।

२. फोहोर भित्री वस्त्र लगाउँदा ब्याक्टेरियाको सङ्क्रमण हुन्छ

फोहोर भित्री वस्त्र लगाउँदा ब्याक्टेरियल सङ्क्रमणको जोखिम बढ्छ । ब्याक्टेरियल सङ्क्रमणका कारण युटीआई सङ्क्रमण हुनसक्छ । यदि तपाईं फोहोर भित्री वस्त्र लगाउनु हुन्छ भने पिएच सन्तुलन बिग्रनेछ र छालामा छिटो–छिटो सङ्क्रमण हुन थाल्छ । 

३. फोहोर अन्डरवेयरले यिस्ट इन्फेक्सन निम्त्याउँछ

तपाईंले फोहोर भित्री वस्त्र लगाउनुभयो भने, तपाईंको फंगल सङ्क्रमण हुने जोखिम धेरै गुणा बढ्छ । सफा नगरी अन्डरवेयर लगाउँदा यौनाङ्गबाट गन्ध आउँछ । यिस्ट संक्रमणबाट बच्न, दैनिक नुहाउनु होस् । गोप्य अङ्ग सुक्खा राख्ने प्रयास गर्नुहोस् ।

४. फोहोर भित्री वस्त्र लगाउँदा बिमिरा आउँछन्

तपाईंको यौनाङ्ग चिलाउने वा बिमिरा आउने जस्ता समस्या छन् भने तपाईंले सरसफाइमा ध्यान दिनु भएन भनेर बुझ्नुहोस् । फोहोरका कारण हुर्कने ब्याक्टेरियाले यौनाङ्गमा चिलाउने र बिमिरा आउने हुन्छ । केही महिला पिसाब फेरेपछि यौनाङ्गलाई टिस्युले सफा गर्दैनन् ।  यौनाङ्ग र भित्री वस्त्र लामो समयसम्म चिसो रहँदा सङ्क्रमण फैलन्छ, त्यसैले यस्तो बानीबाट जोगिनुहोस् । 

५. फोहोर भित्री वस्त्रबाट बढ्न सक्छ पाठेघरको मुखको क्यान्सरको खतरा

केही विज्ञहरू फोहोर अन्डरवेयर लगाउनाले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने विश्वास गर्छन् । फोहोर अन्डरवेयर लगाउनाले योनि स्राव बढ्छ । योनि क्षेत्रमा सङ्क्रमण, दुर्गन्ध र स्रावले पाठेघरको क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जोखिम दोब्बर बनाउँछ । यदि तपाईं यसबाट बच्न चाहनुहुन्छ भने, तपाईंले व्यक्तिगत सरसफाइमा ध्यान दिनै पर्छ ।

भित्री वस्त्र सफा राख्ने सही तरिका 

भित्री वस्त्र मेसिनले होइन हातले नै धुनुहोस् । 

भित्री वस्त्र सधैँ फेर्नुहोस् र यसलाई सफा गर्न हल्का साबुन र कोठाको तापक्रमको पानी प्रयोग गर्नुहोस् ।

भिजेको भित्री वस्त्र नलगाउनुहोस् र धोएर घाममा मज्जाले सुकाउनुहोस् । 

महिनावारीको हुँदा दिनमा कम्तीमा १ देखि २ पटक भित्री वस्त्र परिवर्तन गर्नुहोस् ।

धेरै टाइट भित्री वस्त्र नलगाउनुहोस् र सधैँ सुती कपडाले बनेको अन्डरवेयर लगाउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप