शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

मोरक्कोको जितले समीकरण फेरियो, स्कटल्याण्डलाई इतिहास रच्न अन्तिम खेल कुर्नुपर्ने

शनिबार, ०६ असार २०८३, ०५ : ४८
शनिबार, ०६ असार २०८३

सारांश

  • मोरक्कोले स्कटल्याण्डलाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।
  • खेलको दोस्रो मिनेटमा इस्माइल साइबारीले गरेको गोल मोरक्कोको जितमा निर्णायक बन्यो ।
  • यो हारसँगै स्कटल्याण्डको इतिहास रच्ने मौकामा ढिलाइ भएको छ र अब अन्तिम खेलमा ब्राजिललाई हराउनुपर्ने भएको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गरेपछि अघिल्लो चरण प्रवेशको होड निकै रोमाञ्चक बनेको छ । खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले गरेको कीर्तिमानी गोल नै मोरक्कोको जितमा निर्णायक बन्यो ।

यो जितसँगै मोरक्कोले दुई खेलबाट ४ अंक जोड्दै समूहको शीर्ष स्थान ओगटेको छ । पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको मोरक्को अब अघिल्लो चरण (राउन्ड अफ ३२) प्रवेशको निकै नजिक पुगेको छ । यदि अर्को खेलमा ब्राजिलले हाइटीलाई पराजित गर्न सकेन भने मोरक्कोको नकआउट यात्रा अझै सहज बन्नेछ ।

यता, पहिलो खेलमा हाइटीलाई हराएर ३ अंक जोडेको स्कटल्याण्डका लागि भने यो हारले इतिहास रच्ने मौकामा ढिलाइ गरिदिएको छ । यदि आजको खेल जितेको भए स्कटल्याण्ड इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने निश्चित हुन्थ्यो । तर, अहिले ३ अंकमै सीमित रहेको स्कटल्याण्डले अघिल्लो चरणमा पुग्न आफ्नो अन्तिम खेल (ब्राजिल विरुद्ध) कुर्नुपर्ने भएको छ ।

अब सबैको नजर आजै बिहान ६ः१५ बजे हुने ब्राजिल र हाइटीबिचको खेलमा छ । हाल ब्राजिलको १ अंक छ भने हाइटी अंकविहीन छ । यदि ब्राजिलले हाइटीलाई हराएमा उसको पनि ४ अंक हुनेछ र समूहको शीर्ष स्थानका लागि मोरक्कोसँग कडा प्रतिस्पर्धा हुनेछ । स्कटल्याण्डले भने अन्तिम खेलमा ब्राजिललाई हराउन सकेमा मात्र आफ्नो ऐतिहासिक नकआउट यात्रा सुनिश्चित गर्न सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप