आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राज्य व्यवस्था बलियो बनाउन संविधानको अक्षरशः पालना हुनुपर्छः शर्मा

बुधबार, ०३ असोज २०८०, १२ : ०९
बुधबार, ०३ असोज २०८०

हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले राज्य व्यवस्था बलियो बनाउन संविधानको अक्षरशः पालना गर्नुपर्ने बताएका छन् । हरेक राज्य व्यवस्थामा उठ्ने विरोधका अभिव्यक्तिहरूलाई समाधान गर्दै अघि बढ्नु सरकारको जिम्मेवारी भएको बताए ।

संविधान दिवस २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले उत्कृष्ट राज्य व्यवस्थामा कुनै न कुनै रूपमा विरोधका आवाजहरू सुनिने गरेको धारणा व्यक्त गरे ।

‘सबैभन्दा राम्रो राज्य राम राज्य भनेर बुझिन्छ । राम राज्यमा पनि एक धोबीले आफ्नो अधिकार नपाएको भन्दै विरोध गरेको पाइन्छ । त्यसैले विरोधका आवाजलाई राज्यले सम्बोधन गर्दै अघि बढ्नुपर्छ,’ उनले भने, ‘संविधानसभाबाट जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विद्यमान संविधान निर्माण गरिएको हो । संविधानका मर्म र भावनाहरुको पालना गर्न प्रतिबद्धता व्यक्त गर्नु नै हामी सबैको मूल दायित्व हो ।’

संविधानप्रतिको ओठेभक्ति र संघीयता प्रतिको विष वमन विरोधाभासपूर्ण विषय भएको उनले बताए । संविधानले परिकल्पना गरेको यस्तै सुशासन प्रदेशमा रहेको उनको भनाइ छ । संविधानले न्याय, समानता र जनजीविकाको हक स्थापित भएको र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको उनले बताए ।

‘सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रूपमा अगिंकार गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरूप्रति सम्मान हुनेछ । संविधानले समाजवादको सुखद परिकल्पना गरेको छ र यसबाट समृद्ध नेपाल निर्माण गर्दै सुखी नेपालीको हँसिलो मुहार हेर्ने अपेक्षा गरेको छ ।’

संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उनले बताए । संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षता संविधानले उपलब्ध गराएका भावी पुस्ताको धरोहर रहको उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माओवादी आन्दोलन र दनयुद्ध मार्फत् संविधानसभाबाट नेपालको संविधान जारी गर्न सफल भएको बताए । संविधानसभाबाट संविधान जारी गर्न माओवादी आन्दोलन र जनयुद्ध मार्फत २०५१ सालबाट समावेशी सिद्धान्त गाउँ बस्ती हुँदै गरिव मजदुर र किसानहरू माझ पुगेर सबै दलहरूको साझा मुद्दा बन्न सफल भएको र २०६२÷०६३ को जनआन्दोलनबाट उक्त विषयमा सफलता प्राप्त भएको उनले बताए ।

संविधान र संघीयतालाई नेपालले आफ्नै अभ्यास अनुसार अघि बढाएको उनको भनाई छ । अबको यात्रा संविधानको पूर्ण कार्यान्वयन सहित समृद्धि तर्फको रहेको उनले बताए ।

मुख्यमन्त्री जम्मकट्टेलले संविधानको कार्यान्वयनसहित विकास निर्माणमा सरकारले आफ्नो क्षमता अनुसारको स्रोतसाधन परिचालन गर्नुपर्ने बताए । प्रदेशका सबै जिल्लाहरुमा सम्मानजनक ढंगबाट राष्ट्रिय गौरबको आयोजना, भौतिक पूर्वाधार विकास र मानव अधिकारको सम्बर्द्धनका लागि प्रतिबद्ध रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप