आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणको तयारी तीब्र

महेन्द्रनारायण स्मृति भवनमा नागरिक अभिनन्दन
बुधबार, ०३ असोज २०८०, १६ : ५३
बुधबार, ०३ असोज २०८०

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमणको तयारी तीब्र पारिएको छ । असोज ८ गते हुने भ्रमणका क्रममा जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा उनको नागरिक अभिनन्दन गरिने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको पहलमा मंगलबार बसेको सर्वदलीय बैठकले राष्ट्रपतिको नागरिक अभिनन्दन कार्यक्रम महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा गर्ने निर्णय गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका अनुसार हल बाहिर ठुलो स्क्रिन लगाएर कम्तीमा एक हजार सर्वसाधारणलाई बस्ने व्यवस्था मिलाइने छ ।

मौसम प्रतिकूल रहेकाले नागरिक अभिनन्दन कार्यक्रम महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा गर्न लागेको उनको भनाइ छ ।

मंगलबार बसेको सर्वदलीय बैठकको अध्यक्ष समेत गरेका मेयर साहले नागरिक अभिनन्दन समारोहमा सहभागी हुन आउने सर्वसाधारणलाई बस्ने कुर्सी र टेण्टको व्यवस्था गर्ने जानकारी दिए ।

नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकृष्ण यादव, नेकपा एमालेका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री जुली कुमारी महतोको विशेष उपस्थितिमा सर्वदलीय बैठक बसेको थियो ।

राष्ट्रपति पौडेल पहिलोपटक मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका हुन् । यसअघि उनी जेठ महिनामै आउने कार्यक्रम तय भए पनि अस्वस्थ हुँदा अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

लामो समयदेखि थन्किएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले मधेसमा प्रशंसा पाएका छन् । सर्वदलीय बैठकमा प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री रामसरोज यादव, दिपेन्द्र ठाकुर लगायतको पनि उपस्थिति थियो ।

प्रदेश प्रमुखको निवासमा खाजाको व्यवस्था

राष्ट्रपति पौडेल असोज ८ गते सोमबार बिहान हेलिकप्टरबाट जनकपुरधाम आउने भएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम विमानस्थलमा अवतरण गरेपछि राष्ट्रपति पौडेल सोझै जानकी मन्दिरतर्फ प्रस्थान गर्ने छन् ।

जानकी मन्दिरमा विधिपूर्वक दर्शनपूजा गरेपछि राष्ट्रपति पौडेल प्रदेश प्रमुख हरिशंकर मिश्रको निवास जाने छन् । प्रदेश प्रमुख मिश्रको निवासमा राष्ट्रपति पौडेलका लागि जलपानको व्यवस्था गरिने भएको छ ।
त्यसपछि राष्ट्रपति पौडेल नेपाल राष्ट्र बैंकको अतिथि गृह पुग्ने नेपाली कांग्रेसका नेता निधिले बताए । निधिका अनुसार अतिथि गृहमा राष्ट्रपति पौडेलले भोजन गरेर केहीबेर आराम गर्ने छन् ।

त्यसपछि महेन्द्रनारायण स्मृति प्रतिष्ठानमा आयोजित नागरिक अभिनन्दन समारोहमा राष्ट्रपति पौडेल सरिक हुने छन् । यसअघि राष्ट्रपति पौडेलले महेन्द्रनारायण स्मृति प्रतिष्ठानको उदघाटन गर्ने कार्यक्रमसमेत रहेको नेता निधिले बताए ।

अझै कार्यक्रम तय भएको छैन

राष्ट्रपति पौडेलको जनकपुरधाममा हुने कार्यक्रमको आधिकारिक जानकारी अझै प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ ।

मंगलबार बसेको सर्वदलीय बैठकले गरेको निर्णय प्राप्त भएपछि राष्ट्रपति कार्यालयमा पठाउने धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

पाण्डेका अनुसार कार्यक्रमको रुपरेखा तयार गरेर दिएपछि राष्ट्रपतिको कार्यालयले अन्तिम टुङ्गो लगाउने हो ।

‘असोज ८ गते बिहान राष्ट्रपतिज्यू जनकपुरधाम आउने कार्यक्रम तय भइसकेको छ,’ प्रजिअ पाण्डेले भने, ‘राष्ट्रपतिज्यू जनकपुरधाम आउँदा सबैभन्दा पहिला जानकी मन्दिर जानु हुने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप