बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आज सुरु हुँदैछ क्यानको चुनावी साधारणसभा, अध्यक्षका आकांक्षीहरु सहमति जुटाउन ब्यस्त

शुक्रबार, ०५ असोज २०८०, ११ : २७
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा शुक्रबार काठमाडौँमा सुरु हुँदैछ । यो साधारणसभाले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । साधारणसभा शुक्रबार दिउँदो नयाँवानेश्वरमा सुरु हुनेछ ।  दुई दिने साधारणसभा नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने क्यानले जनाएको छ ।

क्यानको नयाँ नेतृत्वका लागि विभिन्न आकांक्षी देखिएका छन् । उनीहरुको समूह लामो समयदेखि नयाँ नेतृत्वका लागि आफ्नो पक्षमा सहमति जुटाउन प्रयासरत छन् ।  वर्तमान अध्यक्ष चतुरबहादुर चन्द पुनः एकपटक क्यानको नेतृत्वमा आउन चाहन्छन् । उनले अन्तिम पटक क्यानको नेतृत्वमा आउन चाहेको बताउँदै आएका छन् । यसका लागि उनले लामो समयदेखि तयारी अगाडि बढाएका थिए । नयाँ नेतृत्वका लागि उनी हालसम्म बलियो दाबेदारका रुपमा देखिएका छन् । 

अर्कोतिर राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पनि क्यान नेतृत्वको दौडमा अग्रपंक्तिमा देखिएका छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सफल कप्तानमा गनिन्छन् । उनको कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै महत्वपूर्ण सफलता हात पारेको थियो ।  उनी काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य हुँदै क्रिकेटको ब्यवस्थापकीय भूमिकामा सक्रिय बनेका हुन् । काठमाडौँ जिल्ला क्रिकेट संघको सदस्य बनेको छोटो समयमै उनी बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पनि निर्वाचित भएका थिए । 

खड्का क्यानको केन्द्रीय नेतृत्वमा आउने उद्देश्यसहित अगाडि बढेका छन् । यसपटक उनलाई पनि बलियो दाबेदारका रुपमा हेरिएको छ । क्यानका वर्तमान अध्यक्ष चन्द भने खड्कालाई पनि आफ्नै समूहमा मिलाएर अगाडि बढ्ने योजनामा देखिन्छन् । पछिल्लो समय चन्द आफ्नो नेतृत्वमा खड्कालाई सचिवको रुपमा मनाउने अभियानमा जुटेका छन् । 

यद्यपि, हालसम्म क्यानको नयाँ नेतृत्वमा को आउँछ भन्ने स्पष्ट भइसकेको छैन । चन्द र खड्का अतिरिक्त बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारी र वर्तमान कोषाध्यक्ष रोशनकुमार सिंहको नाम पनि आकांक्षीको रुपमा अगाडि आएको छ । क्यानको केन्द्रीय निर्वाचनमा ८६ मत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप