सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालको तस्बिर तानेर एआईबाट किशोरीहरूको ‘नग्न तस्बिर’ तयार

आइतबार, ०७ असोज २०८०, ११ : ५६
आइतबार, ०७ असोज २०८०

अल्मेन्ड्रालेहो । ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरेर स्थानीय किशोरीहरूको नग्न तस्बिर सामाजिक सञ्जालमा सेयर भइरहेको पाइएपछि स्पेनको दक्षिणी सहर यतिबेला स्तब्ध बनेको छ । धेरै जसो तस्बिर ती किशोरीहरूको सामाजिक सञ्जालबाट लिएको थियो जहाँ उनीहरूले पुरै कपडा लगाएका थिए ।

ती तस्बिरहरूलाई एउटा एपको प्रयोग नग्न तस्बिरमा परिणत गरिएको थियो । हालसम्म अल्मेन्ड्रालेहो सहर र त्यस नजिकका २० जनाभन्दा बढी किशोरीहरू आफूहरू पीडित बनेको भन्दै बाहिर आएका छन् । उनीहरूको उमेर ११ देखि १७ वर्ष रहेको छ । 

‘मेरी एक छोरी स्कुलबाट फर्केर आइन् र आफ्नो टपलेस तस्बिर सामाजिक सञ्जालमा सेयर भइरहेको कुरा सुनाइन्,’ १४ वर्षीया किशोरीकी आमा मारिया ब्लायङ्को रायोले भनिन्, ‘मैले उनलाई कतै तिमीले आफ्नो नग्न तस्बिर खिचेकी थियौ भनेर प्रश्न गरेँ । तर, उनले होइन यस्तै फेक तस्बिरहरू व्यापक रूपमा सेयर भइरहेको कुरा सुनाइन् । उनको कक्षाका अन्य किशोरीहरू पनि यसबाट पीडित बनेको उनको भनाई थियो ।’

रायोले यसरी प्रभावित बनेका सहरका २८ जना किशोरीका परिवारले एक समूह नै बनाएको जानकारी दिइन् । प्रहरीले पनि यस घटनामा अनुसन्धान सुरु गरिसकेको छ । हालसम्म यसमा ११ जना स्थानीय किशोरहरूको संलग्नता खुलेको छ । यस्ता तस्बिर तयार गर्न वा ह्वाट्स एप र टेलिग्राममार्फत सेयर गर्नमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाई छ ।

एक पीडित किशोरीसँग त पैसा समेत माग भएको बताइएको छ । यसबारे प्रहरीले छुट्टै अनुसन्धान गरिरहेको छ । अल्मेन्ड्रालेहो सहरमा करिब ३० हजार जना बसोबास गर्दछन् । यो सहर ओलिभ र रेड वाइनका लागि प्रख्यात रहेको छ । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप