बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

गाडी भाडा बढाउन माग, कहिले खुल्छ दसैँको अग्रिम टिकट बुकिङ ?

आइतबार, ०७ असोज २०८०, १६ : १८
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दसैँ र तिहार नजिकिएसँगै सार्वजनिक यातायातको चहलपहल सुरु भएको छ । दसैँमा उपत्यकाबाट बाहिर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउने योजनासहित यातायात क्षेत्रमा चहलपहल सुरु भएको हो ।

यसपटकको दसैँको टीका कात्तिक ७ गते छ । यस्तै, असोज २८ गते घटस्थापना छ । काठमाडौँका देशभरका यात्रु घटस्थापनाबाट उपत्यका छाड्न थाल्छन् र टिकापछि धमाधम फर्किन सुरु गर्छन् । दसैँमा  २० लाखभन्दा धेरै यात्रुले उपत्यका छाड्ने गरेका छन् ।

यी यात्रुलाई घरसम्म पुर्याउनका लागि हजारौँ गाडी परिचालित हुन्छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले दसैँको अग्रिम टिकट खुलाउनेबारे छलफल सुरु भएको बताए । उनले गत साताको शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बैठक समेत गरेको बताए ।

तर, बैठकले अग्रिम टिकट बुकिङ खुलाउने भन्ने मिति तय गर्न सकेन । मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग र यातायात व्यवसायी सम्मिलित उक्त बैठकमा व्यवसायीले सडक मर्मत र भाडा समायोजनको मुख्य एजेन्डा राखेका थिए । उनीहरुले चैत मसान्तमा हुनुपर्ने सार्वजनिक यातायातको भाडा समायोजन अहिलेसम्म नभएको विषय बैठकको मुख्य एजेन्डा बनाएका थिए ।

व्यवसायीहरूले दसैँको अग्रिम टिकट बुकिङ खुलाउनुअघि लामो दूरीको भाडा समायोजन हुनुपर्ने अडान लिएका छन् । ‘दसैँको अग्रिम टिकट बुकिङ खुलाउन कुनै समस्या छैन । टीकाको हप्ता १० दिन अघिदेखिका लागि अग्रिम टिकट खुलाउने हो,’ स्वाँरले रातोपाटीसँग भने, ‘तर, सडक मर्मत र भाडा समायोजन हुनुपर्छ ।’

पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वतः सार्वजनिक यातायातको भाडा समेत तलमाथि हुँदै आइरहेको छ । तर, पछिल्लो दुई पटक मूल्य वृद्धि हुँदा भाडा नबढेको भन्दै व्यवसायीले दसैँको अग्रिम टिकट बुकिङ खुलाउनुअघि भाडा समायोजन हुनुपर्ने माग राखेका हुन् । भाडा समायोजनको सहमति नबनेसम्म बुकिङ नखुलाउने पक्षमा व्यवसायी देखिएका हुन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ऐनमै भाडा समायोजनको विषय प्रष्टरुपमा लेखिएकाले प्रक्रिया पुरा गर्नुपर्ने बताउँछन् । ‘दसैँमा अग्रिम टिकट खुलाउन पर्याप्त समय छ । तर, त्यसका लागि भाडा समायोजन हुनुपर्छ,’ सिटौलाले भने, ‘भाडा बढ्ने वा घट्ने भन्ने विषय प्रक्रियामार्फत प्रस्टिन्छ ।’ यसबारे सरकारी निकायसँग निरन्तर छलफल भइरहेको यातायात व्यवसायीहरूको भनाइ छ । 

दसैँ लक्षित गरेर सडक मर्मत गर्दै सरकार

दसैँका लागि उपत्यका छाड्ने र दसैँ मनाएर भित्रने लाखौं सङ्ख्याका यात्रु लक्षित गरेर सरकारले देशभरको सडक मर्मतको काम सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले सरकारले युद्ध स्तरमा सडक मर्मत सम्भारको काम सुरु गरेको बताए ।

‘देशभर सडक मर्मत सम्भारको काम सुरु भएको छ । भत्किएका र खाल्डाखुल्डी भएका सबै राजमार्ग र निर्माणाधीन अवस्थामा रहेको सडक समेत दसैँ लक्षित मर्मत हुँदै छन्,’ रिजालले रातोपाटीसँग भने, ‘भौतिक मन्त्रालयले देशभरका सडक मर्मत सम्भार गर्न निर्देशन दिइसक्यो ।’

सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले विभागको मातहतमा रहेका सम्पूर्ण सडक मर्मत सम्भारको काम भइरहेको बताए । दसैँलाई लक्षित गरेर राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुर्ने, पहिरो हटाउने र अन्य प्रकारको मर्मत सुरु भइसकेको उनले बताए । देशभरका राष्ट्रिय राजमार्गमा पहिरो हटाउनका लागि २५० हाराहारीमा एक्स्काभेटर तयारी अवस्थामा रहेको समेत ढकालको भनाइ छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौला मुग्लिन सडकखण्ड, पूर्वपश्चिम राजमार्ग, टोखा छहरे, अरनिको राजमार्ग, बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग लगायतको मर्मतमा ध्यान दिनुपर्ने बताउँछन् । विस्तार र वर्षायामको पहिरो लगायतले सडकको अवस्था दयनीय रहेकाले ती सडकलाई यात्रा योग्य बनाउनुपर्ने सिटौलाको भनाइ छ ।

रुट परमिट खुलाउँदै विभाग

यसैबीच लक्षित गरेर यातायात व्यवस्था विभागले देशभरका सडक मार्गमा रुट परमिट खुला गर्ने भएको छ । सार्वजनिक र निजी यातायातमार्फत यात्रु ओसारपसार गर्नका लागि रुट परमिट खुला गर्ने महानिर्देशक रिजालले बताए । उनले भने, ‘यसअघिको अभ्यास हेरेर निश्चित समयका लागि सम्पूर्ण सडक मार्गको रुट परमिट खुला गर्ने तयारी भइरहेको छ । यसमा मन्त्रालयको निर्देशनले समेत काम गर्छ ।’

विभागले प्रत्येक वर्षको दसैँमा हुने यात्रुहरूको आवतजावतलाई मध्यनजर गर्दै रुट परमिट खुला गर्छ । रुट परमिट नभएको सडकमा सवारी साधन ओहोरदोहोर गर्न मिल्दैन । जसकारण, यात्रुको आवतजावतमा समस्या सृजना हुने भएकाले झन्झटमुक्त गर्नका लागि विभागले परमिट खुला गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप