सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

शीतल निवासमा शशांकलाई देउवा–पौडेलको ढाडस : ‘वी आर विथ यु, गो अहेड’

बिहीबार, ११ असोज २०८०, १६ : ०६
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । ‘दलीय राजनीतिमा लाग्दिनँ । विकास र सुशासनका लागि सदैव सक्रिय रहन्छु ।’ असोज ६ मा राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको दमौलीमा सभाहल उद्घाटन कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । राष्ट्रपति भएपछि पहिलो पटक गृह जिल्ला तनहुँ पुगेका पौडेल आफ्नो सो अभिव्यक्तिमा केही मिनेट पनि टिक्न सकेनन् ।

सोही कार्यक्रममा उनले गत वैशाख १० को उपचुनावमा ‘घण्टी’को आँधीबेहरीमा पनि कांग्रेस नछाड्नेलाई धन्यवाद दिए ।

राष्ट्रपति भएपनि पौडेल कांग्रेससँगको करिब ६ दशकको राजनीतिक यात्राबाट बाहिर निस्कन नसकेको उनको सो अभिव्यक्तिले प्रस्ट हुन्छ । गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि कांग्रेसको सबै जिम्मेवारीबाट अलग भए पनि पौडेलमा पार्टीप्रतिको मोह भङ्ग भएको छैन । बरु उनी कांग्रेसको आन्तरिक राजनीतिमा सुसुप्त ढंगले प्रवेश गर्न खाजेको कांग्रेसवृत्तमा चर्चा छ ।

नेताहरुका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले ९ जना मन्त्री पठाउँदा राष्ट्रपति पौडेलको कोटामा एक मन्त्री परेको थियो । राष्ट्रपति पौडेलको जोडबलमा सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेको लुकेको छैन । नेता शेखर कोइरालाको कोटा देखाएर कांग्रेस सभापति शेरबहादुर देउवाले आचार्यलाई सरकारमा पठाएका थिए ।

शीतल निवासबाट राष्ट्रपति पौडेलले कांग्रेसको १५ औँ महाधिवेशनको लेखाजोखा गरिरहेको देखिन्छ । कांग्रेस विधान अनुसार नियमित महाधिवेशन हुन पनि दुई वर्षभन्दा बढी समय छ । २०७८ मंसिरमा १४ औँ महाधिवेशन गरेको कांग्रेसले विधानअनुसार ०८२ मंसिरमा १५ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, कांग्रेसमा १५ औँ महाधिवेशनपछिको नेतृत्वका लागि ‘म्याराथन’ सुरु भइसकेको छ । विधान अनुसार सभापति शेरबहादुर देउवाको यो अन्तिम कार्यकाल भएकाले १५ औँ महाधिवेशनबाट नेतृत्वमा को पुग्छ भन्ने कांग्रेस मञ्चमा बहसको विषय बनिरहेको छ ।

उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, महामन्त्री गगन थापा, प्रकाशमान सिंह र विमलेन्द्र निधि सभापतिको स्वाभाविक दाबेदार मानिन्छन् । उक्त नामको अलवा पछिल्लो समय पूर्व महामन्त्री शशांक कोइरालाको नाम पनि कांग्रेस वृत्तमा चर्चा भइरहेको छ । राष्ट्रपति पौडेल र सभापति देउवाको ‘ग्रीन सिग्नल’ पाएपछि शशांक कोइराला जुर्मुराएको पनि देखिन्छ । shashan deuba paudel

भदौ २२ मा जननायक बीपी कोइराला स्मृति ट्रस्टद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलसहित कांग्रेस सभापति देउवा र नेता कोइराला पनि सहभागी थिए ।

शीतल निवास स्रोतका अनुसार कार्यक्रमपछि राष्ट्रपति पौडेल, सभापति देउवा र नेता कोइरालाबिच आधा घण्टा आन्तरिक छलफल भएको थियो । ‘कार्यक्रम सकिएपछि करिब आधा घण्टा तीन जनाबिच गोप्य वार्ता भएको थियो । राष्ट्रपति ज्यू र सभापतिज्यूले शशांक डाक्टरसापलाई अगाडि बढ्न भन्नुभएको छ,’ स्रोतले भन्यो ।

शशांक कोइरालाले पनि आफू निकटस्थसँग देउवा र पौडेलले आफूलाई ‘वी आर विथ यु, गो अहेड’ भनेको बताउने गरेका छन् । त्यसपछि विभिन्न कार्यक्रममा शशांकले आफू देउवाको उत्ताधिरकारी हुन सक्ने बताएका थिए । यद्यपि देउवाको उत्ताधिकारी बन्न उसभापति खड्का, सिंह, निधि र सिटौलाबिच होडबाजी चलिरहेको छ ।

असोज ३ मा पार्टी कार्यालय सानेपामा शशांकले १५ औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारको तयारीका रुपमा कार्यकर्तामाझ पुग्न लागेको बताएका थिए । १५ औं महाधिवेशनअघि देशैभर घुमेपछि मात्रै सभापतिबारे निचोडमा पुगिने उनको भनाइ थियो । ‘१५ महाधिवेशनअघि म देशैभर जान्छु, साथीहरूका भावना के छन्, मलाई सभापतिमा देख्न चाहन्छन् कि चाँहदैनन् ? त्यो बुझ्छु,’ उनले भने, ‘राजनीतिमा आफूले चाहेर मात्रै हुन्न । साथीहरूले के भन्छन्, युगअनुसारको नेता आवश्यक पर्छ ।’

साउन पहिलो साताको केन्द्रीय समिति बैठकपछि चियापान राखेर शशांकले संक्रियता बढाएका थिए । पार्टी केन्द्रीय सदस्य उर्मिला थपलियाले साझा व्यक्तिको खोजी हुँदा शशांक कोइराला उपयुक्त हुने बताइन् । ‘उहाँहरु (देउवा र पौडेल)ले साझा व्यक्तिको रुपमा शशांक दाइलाई देख्नु भएको हुनुसक्छ,’ शशांक निकट थपलियाले भनिन्, ‘शशांक दाइले कार्यकर्ताको राय बुझेर मात्र सभापतिबारे बोल्छु भन्नु भएकाले अहिले नै धेरै कुरा गर्नु हतार हुन्छ ।’

शशांकलाई देउवा र पौडेलको सद्भाव देखिएको उनका स्वकीय सचिव भरत तिवारी पनि बताउँछन् । ‘शीतल निवासमा भएको कुराकानीबारे मैले बुझेको छैन । तर, उहाँहरु (देउवा–पौडेल)को सद्भाव देखिन्छ । राजनीति हो, कसरी अगाडि बढ्छ हेरौँ,’ तिवारीले भने ।

संस्थापन इतर पक्ष निकट नेताका अनुसार देउवाले शेखर कोइरालालाई ‘तपाईँलाई त हो नि मैले अगाडि सार्ने’ भन्दै आएका थिए । ‘शेखर कोइरालालाई देउवाको साथ समर्थन पाउछु कि भन्ने कुराको मनमा लोभ पलाएको थियो । अहिले शशांक कोइरालालाई अगाडि बढ् भनेको हामीले थाहा पायौँ । उहाँको फुटाउ र राज गर नीति फेरिएको देखिएन,’ ती नेताले भने ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले भने कोइराला परिवार एकताको पक्षमा रहेको भन्दै शशांक कोइराला देउवाको उम्मेदवार बन्नेमा विश्वस्त नरहेको बताए । ‘अस्तिमात्र कोइराला परिवारका तीनै जनाले हामी एक हुन्छौँ भन्नुभयो । उहाँहरु (देउवा र पौडल)को समर्थनमा शशांक कोइराला उम्मेदवार हुन्छन् भन्ने मलाई विश्वास लाग्दैन । तर राजनीतिमा असम्भव केही पनि छैन,’ पोखरेलले भने ।

राजनीतिक विश्लेषक शंकर तिवारी भने देउवा र पौडेलले शशांकलाई सभापतिमा अगाडि बढाउन चाहेको बताउँछन् । उनले भने, ‘बीपी कोइरालाको सामिप्यतामा राजनीति गरेका शेरबहादुर देउवा र रामचन्द्र पौडेलमा शशांक कोइरालाप्रति अतिरिक्त मोह देखिन्छ । आगामी महाधिवेशनमा उहाँहरु दुई जनाको क्यान्डिडेट शशांक कोइराला हुने सम्भावना बढी छ ।’

उनका अनुसार देउवा र शशांकबिच गहिरो सम्बन्ध छ । महामन्त्री हुँदा शशांकले सभापति देउवाको प्रतिरक्षा गरेका थिए भने १४ औँ महाधिवेशनमा मौन समर्थन । शशांकप्रति पौडेलको पनि गुनासो छैन । १४ औँ महाधिवेशनमा पौडेलकै लागि शशांकले सभापतिको दाबी छोडिदिएको तिवारी स्मरण गर्छन् ।

तत्कालीन संस्थान इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको प्रतिस्र्धामा उत्रिएपछि पौडेलले मैदान छोडिदिएका थिए । राष्ट्रिय सभागृहमा भएको महाधिवेशनमा पौडेल मतदान प्रक्रियाबाट बाहिर बसेका थिए ।

विश्लेषक तिवारीका अनुसार शशांक कोइरालालाई सभापति बनाउन सके भनेअनुसार चलाउन सकिने उनीहरुको बुझाइ हुनसक्छ । तर, देउवा र पौडेलले अगाडि सार्दैमा शशांकलाई कांग्रेसजनले अनुमोदन गरिदिन्छन् भन्ने नरहेको उनको भनाइ छ ।

‘उहाँले शशांक कोइरालालाई अगाडि सार्ने सम्भावना रहन्छ । तर, उहाँहरुले सार्दैमा कांग्रेस कार्यकर्ताले अनुमोदन गरिदिन्छ भन्न सकिन्न,’ उनी भन्छन्, ‘शशांक कोइरालाले आफ्नो गति कसरी अगाडि बढाउनुहुन्छ । त्यसमा पनि भर पर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप