आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीको दरबन्दी बढाउन सरकारसँग सांसदहरुको माग

शुक्रबार, १२ असोज २०८०, १७ : ४०
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताएका छन् । 

शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद भण्डारीले स्वास्थ्य क्षेत्रमा थोरै जनशक्तिले काम गरिरहेको भन्दै स्वास्थ्यकर्मीको जनशक्ति थप्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनले स्वास्थ्यकर्मीहरुको संख्या बढाउँदा मात्रै पनि बिरामीको समस्या सम्बोधन हुने बताए । भण्डारीले चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिनै नसकिएको भन्दै कानून भएपनि कार्यान्वयन नभएको बताए । 

सांसद भण्डारीले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा समस्याहरु छन् । समस्याहरु जनशक्तिको छ, दरबन्दी बढ्दैन । जुन कुरा हामीले बारम्बार कुराहरु उठाइरहेका छौं । संघ, प्रदेशका अस्पतालमा स्वास्थ्यकर्मीहरुको संख्या बढाइदिने हो भने जनताको समस्या सम्बोधन हुन्थ्यो । जनताको चाहना अनुसार काम गर्न सकेनौं । प्रशासनका मान्छेले दरबन्दी सृजना गर्दा समस्या आएको हो । हामीले अस्पताल दिन्छौं तर, त्यसलाई स्रोत, साधन हेर्दैनौं । चिकित्सकलाई रोग पहिचानका लागि उपकरण दिँदैनौं । हाम्रो मोनिटरीङ छैन । चिकित्सा शिक्षा आयोगले दरबन्दी दिनसक्छ विद्यार्थी संख्या दिन्छ तर, उपकरणको कुरा गर्दैन । त्यहीबाट यो देशमा स्वास्थ्यकको समस्या परेको छ । हामीसित जुन कानून छ, कानूनले काम नै गरेन । अहिले त झन् हामी अफ्ठ्यारोमा परेका छौं । जसले जतिसुकै अपराध गरेपनि छोडदिने कुराले अपराधी प्रवृत्ति बढेको छ । सरकारले डाक्टर र इन्जिनियरलाई प्राथमिकता दिनुपर्छ । किनभने हामीले फस्ट व्रेन भन्छौं । एउटाले मुख्र्याईं गरेको भन्दैमा अर्कोले मुख्र्याईं गर्नुहुँदैन । दोषीलाई कानूनी कारबाही हुनुपर्छ । तपाईहरुले अस्पताल बन्द गरिदिँदा धेरै बिरामी मर्न सक्छन् । राज्यका कमजोरीका कारण धेरै डाक्टरहरु नेपाल बस्न पाएका छ्रैनन् । स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउँछु ।’

समितिमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीहरुको ऐन कानून सुधार्न आन्दोलनरत पक्ष वार्तामा आउनुपर्ने बताए । उनले  अरु तरीकाले राज्य अराजकतातर्फ जाने भन्दै वार्तामार्फत कानून, नियमावली र कार्यविधिमा सुधार गर्न सकिने बताए । 

उनले भने, ‘कर्तव्य ड्युटी हो । आफ्नो जिम्मेवारी हो । ऐन कानून सुधार्न वार्ताको टेबलमा बस्नुपर्छ । अरु तरीकाले गरे राज्य अराजकतातिर जान्छ । वार्तामार्फत् जाँदा पहिलो कानूनमा सुधार, नियमावली सुधार, कार्यविधिमा सुधार के के हो त्यो टेबुलद्वारा पहलकदमी गर्न अनुरोध गर्न चाहन्छु । कोही व्यक्तिले संगठित तरीकाले अपराध गरेको छ भने थुन्नुपर्छ । समस्याको हल भनेको वार्ता हो । वार्ताको टेबुलबाट समस्याको हल हुनुपर्छ । गृह सचिवलाई अनुरोध छ, अपराध गर्ने जो सुकैलाई कारबाही गर्नुहोस् । कुट्ने कुरा अक्षम्य कुरा हो । हजार वटा फोन आएपनि अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ । ’

उनले अपराध गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप