सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको कैलाश मानसरोवर तीर्थयात्राको सन्देश के ?

शनिबार, १३ असोज २०८०, ०६ : २९
शनिबार, १३ असोज २०८०

त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागमा कार्यरत प्राध्यापक डा. मञ्चला झाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन यात्राको क्रममा शुक्रबार बिहान ट्वीट गर्दै लेखिन्– भारतको यात्रामा महाकालेश्वरको पूजापाठ र दर्शन तथा चीन यात्राको क्रममा मानसरोवर कैलाश पुग्नुले प्रधानमन्त्रीको शिवप्रतिको आस्थालाई उजागर गरेको छ । कृपया, अब धर्मलाई अफिम कसैले नभन्नु ल ।। जय शम्भु ।

प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर भ्रमण गरेको दृश्य र समाचार पढेपछि डा झाले लेखेको धारणाजस्तै प्रतिक्रिया सामाजिक सञ्जालमा प्रशस्त भेटिन्छ ।

चीन भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबार सनातन (हिन्दु र बौद्ध)हरुको पवित्र तीर्थस्थल मानसरोवर भ्रमण गरी कैलाश पवर्तको दर्शन गरेका खबर नेपाली सञ्चारमाध्यमले प्रकाशन र प्रसारण गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्ना नागरिकलाई पनि नेपालकै हुम्ला जिल्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवरको भ्रमण गर्न सकिने व्यवस्थाका लागि चिनियाँ अधिकारीसँग पहल गर्ने विषयलाई राम्रै मान्नु पर्दछ । मैले दर्शन गरेँ, अब अन्य नेपालीलाई कैलाश दर्शन सहज होस् भनेर देशको प्रमुख कार्यकारी जस्तो जिम्मेवार व्यक्तिको दायित्व र जिम्मेवारी पनि हो ।

त्यसो त कुनै धर्म र संस्कृतिको मान सम्मान गर्नु भनेको हरेक व्यक्तिको आफ्नो निजी कुरा हो । चीनको औपचारिक भ्रमणमा आएका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ पक्षले मानसरोवर दर्शन गर्ने व्यवस्था मिलाउँदा जान्न भनेर नकार्नु भन्दा त्यहाँ पुगेर दर्शन गरेर फर्कनु नै राम्रो पक्ष हो । प्रधानमन्त्री प्रचण्डले तीर्थाटन गर्ने विषय उनको निजी अधिकारसँग सम्बन्धित हो ।

प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा रहेका प्रचण्डले चिनियाँ पक्षले मानसरोवर घुम्न लैजाँदा नकार्न पनि सकेनन् होला । कूटनीतिमा समय र संकेतको पनि महत्त्व हुन्छ । प्रचण्डले चीन भ्रमणका क्रममा जुन स्थानमा घुमे, त्यहाँबाट उनले सनातन हिन्दु र बौद्धमार्गीहरुका लागि एक पटक जानुपर्ने स्थान रहेछ भनेर बुझ्ने र बुझाउने अर्काे अवसरको उपयोग गरे ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेतासँगको भेटवार्ता, सम्झौता र अनेकन सहमति गरिसकेपछि नेपाल फर्कने बेलामा बिच बाटोमा परेको तीर्थस्थल घुम्न जानुलाई विवादको विषय बनाइरहनु उचित हुन्छ कि हुँदैन भनेर बहस जति पनि चलाउन सकिएला । यद्यपि नेपालसँग सीमा जोडिएको कैलाश पर्वतको अवलोकन भ्रमण प्रधानमन्त्री प्रचण्डका लागि राजनीतिक रुपमा पनि अर्थपूर्ण हुन सक्छ । यसले सतानन धर्मावलम्बीहरुले उनलाई हेर्ने दृष्टिकोणमा केही हदसम्म सकारात्मक प्रभाव पार्छ नै ।

धर्म मान्ने नमान्ने भन्ने कुरा व्यक्तिको जीवनमा आउने समय र जिम्मेवारीले बदलिरहने कुरा हो । धर्म भनेको धारण गर्ने कुरा हो । अहिले प्रचण्डले सनातन नेपालीहरुले मान्ने धर्म र आस्थालाई सम्मान गरे, के बिराए ?

हो, चीनमा कम्युनिस्ट शासन सत्ता छ । चिनियाँ नेताहरु धर्मलाई विरोध पनि गर्दैनन्, सम्मान पनि गर्दैनन् । उनीहरु कुनै धर्मलाई प्रोत्साहन र विरोध पनि गर्दैनन् । चिनियाँहरुले गरेनन् भनेर हामीले पनि हाम्रा धार्मिक क्षेत्रको भ्रमण गर्नु हुँदैन भन्नु अर्को पाखण्डपन हो ।

प्रचण्ड यसअघि पनि नेपालमा बाग्लुङ जिल्लामा पुग्दा गलेश्वरधामको दर्शन गर्न पुगेका थिए । केही महिना अघि भारत भ्रमणका क्रममा उनले महाकालेश्वरको दर्शन गरेका थिए । भारतबाट फर्के लगत्तै उनले पशुपतिनाथमा गएर जल अभिषेक र आरतीसमेत गरेका थिए ।

हो, प्रचण्डले मन्दिरमा आरती कसरी गर्ने भनेर पनि जानेका रहेनछन् । तर, उनले नजानेको कुरा स्वीकार गर्दै त्यहाँका बटुक ब्राह्मणसँग आफूले आरती गर्न नजानेको र त्यसको विधि सिकाउन भन्दै विधिसम्बत ढंगले पशुपतिनाथमा आरती गरेर फर्किएका थिए । महाकालेश्वरबाट ल्याएको जल कोटको खल्तीमा बोकेर ल्याएका प्रचण्डले पशुपतिनाथमा जलाभिषेक समेत गरेका थिए ।

त्यसो त प्रचण्डले कैलाश पर्वत दर्शन गरेपछि मानसरोवर तालबाट केही जल लिएर गएका हुन सक्छन् । केही दिनपछि पशुपतिनाथ गएर उनले जल अभिषेक गर्दा अनौठो नमाने हुन्छ । त्यो उनको व्यक्तिगत आस्था पनि हो । 

प्रचण्डले कैलाश पर्वतको दर्शन केवल धर्मका विषयलाई मात्र गरेका छैनन् । त्यसभित्र केही राजनीतिक विषय र कूटतीतिक विषय लुकेको छ । त्यो कुरा भविष्यमा देखाउँछ । सम्भवतः नेपालको प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमण गर्दा कैलाश पर्वत दर्शन गर्ने प्रचण्ड पहिलो प्रधानमन्त्री हुन सक्छन् ।

नेपालमा पनि बेलाबेलामा धार्मिक कार्यक्रम र मठ मन्दिर पुगिरहने प्रधानमन्त्री प्रचण्डले भारत यात्रामा मध्यप्रदेशको उज्जैन महाकालेश्वरमा मन्दिर दर्शन गर्दा आवश्यक पर्ने गेहरुवस्त्र धारण गरेर मन्दिर दर्शन र पूजा गरेका थिए । त्यसैले कैलाश मानसरोवर यात्रा गर्दा धेरै प्रश्न गरिरहनु उचित हुँदैन कि !

महामारीपछि यसपटक धेरै नेपाली तीर्थयात्रीहरु कैलाश दर्शन गर्न आए । तर, भारतीय हिन्दु, बौद्ध धर्मअनुयायीहरुले यस पटक कैलाश आउने अवसर पाएनन् ।

चीन–भारतको पराराष्ट्र निकायबिच केही कुरा नमिल्दा भारतीय हिन्दु र बौद्धमार्गीले कैलाश टेक्न पाएनन् । तर, आगामी दिनका लागि दुवै पक्षसँग छलफल चलिरहेको छ । अर्को वर्ष सबैका लागि कैलाश मानसरोवर खुला हुने आशा राख्न सकिन्छ ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएका छन् । तीनै कार्यकाल उनले चीन यात्रा गरे । यो पटक कैलाश पर्वतको दर्शनको पृष्ठभूमि चाहिँ उज्जैनको महाकालेश्वर र पशुपतिनाथ दर्शन नै हो । चिनियाँहरुले पनि यसअघि प्रचण्डले भारत भ्रमणका क्रममा महाकालेश्वरको दर्शन गरेका कारण चीन भ्रमणका क्रममा पनि तीर्थाटन गराएको हुन सक्छ । प्रचण्डको कैलाश यात्राले राजनीति भन्दा अलि बढी कूटनीतिक अर्थ राख्छ ।

सनातन हिन्दु धर्मग्रन्थहरुमा उल्लेख भए अनुसार देवताहरुको पनि देवता महादेवको मुल बासस्थान नै कैलाश पर्वत हो । त्यसैले मानसरोवर तालमा गरिने स्नान हिन्दु र बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण मानिन्छ ।

त्यसो त यसअघि, प्रधानमन्त्री दाहालको भ्रमणको चाँजो मिलाउन चीन आएका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको टोलीलाई चीन भ्रमणको सुरुवात मै चिनियाँ पक्षले कैलाश मानसरोवरको भ्रमण गराएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा आएका कांग्रेस, जसपा, रापपाका नेताहरुलाई पनि चीन भ्रमण क्रममा नेपाल फर्कने बेला चिनियाँहरुले कैलाश मानसरोवर दर्शन गराएर पठाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप