शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

टोखामा ‘प्रथम कर सप्ताह’ सुरु

आइतबार, १४ असोज २०८०, १३ : ३३
आइतबार, १४ असोज २०८०

काठमाडौँ । टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर सप्ताह’ सुरु भएको हो ।

टोखाको प्रथम कर सप्ताहको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलले स्थानीय तहको मातहत कर प्रणाली रहेकाले करको दायरलाई फराकिलो बनाएर अगाडि बढाउनुपर्ने बताए ।

“हाम्रो कर प्रणालीमा समस्या छ, हामीले जनताबाट कर लिन्छौँ तर कर लिएअनुसार जनतालाई अनुभूति दिलाउने खालको योजना दिन सकेका छैनौँ”, उनले भने । कर प्रणालीमा पारदर्शिता नभएको भन्दै उनले कर सेवालाई प्रविधिमा लैजानुपर्नेमा जोड दिए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आन्तरिक कर प्रणालीलाई मजबुत बनाउनका लागि कर सप्ताह आयोजना गरेको बताए । उनले कर सप्ताहले राजस्व सङ्कलन वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउन कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गरिएको जानकारी दिए ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक कर ३३ प्रतिशत, घरबहाल कर १६ प्रतिशत र अन्य शीर्षक अन्तर्गत १० प्रतिशत रहेको छ ।

आजदेखि सुरु भएको कर सप्ताहमा आज बिहान प्रभातफेरी गरिएको थियो । आगामी असोज २० गतेसम्म चल्ने कर सप्ताहमा करसम्बन्धी लोकगीत प्रतियोगिता, घरदैलो कार्यक्रम, विद्यालयमा करसम्बन्धी वतृत्वकला प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए ।

कर सप्ताहको अन्तिम दिन बढी कर तिर्ने करदातालाई नगरपालिकाले पुरस्कार र सम्मान गरिनेछ । टोखा नगरपालिकामा ११ वडा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप