शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आगामी मंसिर ९ गते केन्द्रीय समिति बैठक बस्ने राप्रपाको निर्णय

सोमबार, १५ असोज २०८०, २१ : २६
सोमबार, १५ असोज २०८०

काठमाडौँ । राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर ९ देखि ११ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेश स्तरीय विरोध प्रदर्शन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

यस्तै कोशी प्रदेश सरकारको सम्बन्धमा उपयुक्त समयमा पार्टीको पदाधिकारीहरूसँग परामर्श गरी अध्यक्षले टुंगो लगाउने निर्णय भएको श्रेष्ठले बताए । 

यस्तै पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेकाले पार्टीको अनुशासन समितिको सिफारिस बमोजिम झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय पनि भएको छ । 

यसबाहेक महामन्त्री डा धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलनसम्बन्धी कार्ययोजनालाई अन्तिमरूप दिन वरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्रीद्वय डा धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप