मिथिलामा जितिया पर्व समापन
महोत्तरी । सन्तानको सौर्य वृद्धि, सुस्वास्थ्य, दीर्घजीवन र कल्याणको कामनासहित सन्तानवती आमाले जितिया पर्व आज समापन गरेका छन् । पितृपक्ष (असोज कृष्णपक्ष) को लाग्दो अष्टमीसँगै एक अहोरात्र निर्जला व्रत गरिने जितिया आज बिहान १०ः२३ बजेको समयमा नवमी तिथि प्रारम्भ भएसँगै केही समय कटाएर समापन गरेका हुन् । यसअघि अस्ति बिहीबार पवित्र स्नान गरेर चोखोनीतो खाई व्रत सङ्कल्प गरेका सन्तानवती आमाले सोही दिन मध्यरातअघि ‘ओगटन’ (दर) खाएर निराहार व्रत थालेका थिए ।
अष्टमीको एक अहोरात्र र नवमी तिथि एक घडी कटाएर मात्र समापन गर्न सकिने व्रत विधानले बर्तालुको यसपालिको व्रत करिब ३६ घण्टाको भएको छ । बिहीबार मध्यरातसँगै व्रत थालेका बर्तालुले आज नवमी तिथि टेकिँदा १०ः२३ बजे हुँदा व्रत अवधि ३६ घण्टाभन्दा केही बढी पुगेको हो । देवदूत जितवाहनको आराधना गरिने यो व्रतको प्रभावले सन्तान परोपकारी, सुयोग्य, दीर्घजीवी, स्वस्थ्य र कर्तव्यपरायण हुने मैथिल जनविश्वास छ ।
पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा यो व्रत गरिन्छ । यस्तो ‘ओगटन’ अष्टमी लाग्ने दिनको सूर्योदय हुन चार घडीपूर्व खाइसक्नुपर्ने व्रत परम्परा रहेको मिथिलानी (मिथिलाका नारी) बताउँछन् । ‘ओगटन’ मा दही चिउरा, अमोट खाने मैथिल परम्परा छ ।
सन्तानको कल्याण र सौर्य वृद्धिको कामना पूरा गराउन सन्तानवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण गर्ने गर्छन् । यस व्रतमा पुरुषहरूले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरूले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको पछिल्ला २० वर्षदेखि जितिया व्रत बस्दै आएकी महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी ५५ वर्षीया दिपियादेवी महतो बताउँछिन् ।
पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । वर्तालुुले दिवङ्गत सासू, जेठानी, बूढीसासू, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरूको भनाइ छ । सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र÷पौत्री (नाति÷नातिनी), प्रपौत्र÷प्रपौत्री (पनाति÷पनातिनी) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ ।
व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा व्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् ।
राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुुरु भएको हुनसक्ने महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण