सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वेथिति

जनप्रतिनिधिकै मिलेमतोमा सार्वजनिक जग्गाको माटो चोरी गरेर सेजमा बिक्री

जनप्रतिनिधिलाई विश्वास गर्ने ठाउँ भएन : इन्जिनियर रुपाखेती
सोमबार, २२ असोज २०८०, ०९ : २८
सोमबार, २२ असोज २०८०

बारा । जीतपुरसिमरा उपमहानगरमा सार्वजनिक जग्गाको माटो चोरी गरेर विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) लाई बिक्री गरेको भेटिएको छ । उपमहानगर वडा नं ११ मा कागजमा नम्बरी जग्गा देखाएर सार्वजनिक जग्गाको माटो चोरी गरी सेजलाई बिक्री गरेको भेटिएको हो ।

सार्वजनिक जग्गाबाट चोरी भएको माटो विशेष आर्थिक क्षेत्र प्राधिकरणभित्र उद्योगका लागि आवश्यक भौतिक संरचना बनाइरहेका  ग्रेनाइट टायल कम्पनी र लक्ष्मी ग्रेनाइट ईण्डष्ट्रीलाई बिक्री गरेको भेटिएको हो । स्थलगत अनुगमनको क्रममा सेजमा निर्माणाधीन उद्योगहरूमा ठुलो परिमाणमा माटो थुपारिएको थियो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका सहायक इन्जिनियर अजय चौधरीले सेजले उद्योगीलाई जग्गा भाडामा दिएकाले ठेकेदारले माटो कहाँबाट ल्याएको हो भन्ने विषयमा जानकारी नभएको बताए ।

m21

‘उहाँहरूले माटो चोरी गरेर ल्याउनु भएको हो कि कसैको निजी जग्गाबाट किनेर ल्याउनु भयो भन्ने हामीलाई थाहा हुँदैन,’ चौधरीले भने  ।

नम्बरी जग्गाबाट एक सय टिपर माटोका लागि उपमहानगर वडा नं ११ का वडाध्यक्ष विन्दालाल साहसहित वडा सदस्यहरूले उपमहानगरमा सिफारिस पत्र पठाएका थिए ।

नम्बरी जग्गाको लालपुर्जासहित वडाले पठाएको सिफारिसमा थोरै परिमाण उल्लेख भएको भन्दै उपमहानगरले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी ७० हजार रुपैयाँ राजस्व लिएर माटो उत्खनन गर्ने छुटपुर्जी दिएको थियो ।

m18

सिफारिस पत्रमा साबिक फत्तेपुर गाविस वडा नं ९ हाल जीतपुरसिमरा–११ को कित्ता नम्बर ३५ को ५ बिघा जग्गाबाट एक सय टिपर माटो निकाल्ने उल्लेख छ ।

तर,  माटो भने कित्ता नं ४० को १८ बिघा सार्वजनिक जग्गाबाट निकालिएको उपमहानगरका इन्जिनियर रुपाखेतीले जनाए । १८ बिघा  सार्वजनिक जग्गामध्ये २ बिघाबाट करिब डेढदेखि २ मिटर गहिराइमा ८ सयदेखि एक हजार टिपर माटो उत्खनन भएको उपमहानगरले जनाएको छ ।

‘उपमहानगर वडा नं ११ बस्ने हसिना चुरीहारका छोरा महमददिन मियाँ चुरीहारको नाममा दर्ता रहेको साबिक फत्तेपुर गाविस वडा नं ९ (हाल जीतपुर सिमरा उपमहानगर वडा नं ११) को कित्ता नं ३५ को ५ बिघा जग्गाबाट सय टिपर निकाल्ने भएकाले त्यहाँ कार्यालयको नियमनुसार राजस्व बुझिलिई प्रक्रिया अगाडि बढाइदिनु हुन सिफारिस साथ अनुरोध छ,’ वडाध्यक्षले उपमहानगरलाई पठाएको सिफारिस पत्रमा उल्लेख छ ।

m9

सुरुमा सय टिपर माटोका लागि निवेदन लिएर माओवादी नगर कमिटी अध्यक्ष प्रेम बरालसहित राजनीतिक दलका केही व्यक्ति उपमहानगर पुगेका थिए ।

कानुनतः निजी जग्गाबाट माटो उत्खनन गर्नु पूर्व प्राविधिक खटाएर वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्छ ।

जनप्रतिनिधि र सेजको ठेकेदारको मिलेमतोमा रातभर दर्जनौँको सङ्ख्यामा टिपरले माटो चोरी गरेको भन्दै स्थानीयले उपमहानगरमा उजुरी दिएपछि असोज १९ गते उपमहानगरको प्राविधिक टोली अनुगमनमा पुगेको थियो । अनुगमनमा माटो उत्खनन गरिरहेको एस्काभेटर नियन्त्रणमा लिएर उपमहानगरले थप अनुसन्धान सुरु गरेको छ ।

‘सार्वजनिक जग्गाबाट यति ठुलो परिमाणमा माटो चोरी हुँदा हामीलाई पनि ढिलो गरी थाहा भयो, तर अचम्मको कुरा, वडाध्यक्षहरूले के हेर्नुभएको थियो ? उहाँहरूको कार्यशैली हेर्दा सेजको ठेकेदारसँग मिलेर माटो चोरी गर्न लगाएको जस्तो देखिएको छ,’ रुपाखेतीले भने ।

उपमहानगरले वडाध्यक्षको सिफारिसलाई विश्वास गरी वातावरणीय प्रभाव मूल्याङ्कन पनि नगरी राजस्व रकम लिएर २ दिनभित्र अनुमति दिएको थियो । जनप्रतिनिधिको मिलेमतोमा अवैध ढंगले सार्वजनिक जग्गाबाट माटो चोरी हुँदा लाखौँ रुपैयाँ राजस्व समेत हिनामिना भएको छ भने वडाध्यक्षहरुमाथिको विश्वास समेत गुमेको रुपाखेतीले जनाए । अहिले स्थानीय बजारमा माटोको प्रतिटिपर ४ हजार रुपैयाँ पर्दछ ।

m16

चोरीको माटो कहाँ पुग्यो ? उपमहानगरले थाल्यो अनुसन्धान

जीतपुर सिमरा उपमहानगरले सार्वजनिक जग्गाबाट चोरी भएको माटो कहाँ पुग्यो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ ।

उपमहानगरले असोज १९ गते विशेष आर्थिक क्षेत्र प्राधिकरण  सिमरा सेजलाई पत्र पठाएर प्र.०२–०३–००१ ख. ७६४७, लु २ ख ४६८२, ०२–०३–००१ ख २५६९ र प्र.०२–०३–००१ ख ५४७५ नंको टिपरबाट माटो ढुवानी भए÷नभएको विषयमा विवरण माग गरेको छ । सो विवरणमा माटो उत्खनन गर्न प्रयोग भएको एस्काभेटरको नं भने लुकाइएको छ । ‘चोरी भएको माटो सेजमा गएको छ भन्ने सूचना आएको छ त्यसैका आधारमा हामीले कुनकुन गाडीले ओसारपोसार गरेका हुन्, यसमा कोको संलग्न छन् भनेर विशेष आर्थिक क्षेत्र सेजसँग समन्वय गरेर अनुसन्धान गरिरहेका छौँ,’ रुपाखेतीले भने, ‘चलनचल्तीको बाटोबाट सयौँ टिपर माटो चोरी भएको छ ।’

उपमहानगरको कित्ता नं ४० को सार्वजनिक जग्गाबाट उठेको माटो र सेजमा उद्योगीले प्रयोग गरेको माटो परीक्षण गर्दा धेरै सूचना थाहा हुने जानकारहरू बताउँछन् ।

उपमहानगरका प्रमुख राजन पौडेलले सार्वजनिक जग्गाबाट माटो चोरी भएकोबारे सूचना पाउनासाथ प्राविधिक टोली खटाएर अनुसन्धान सुरु गरिएको बताए । ‘हामीले प्राविधिक कर्मचारीको टोली खटाएर अनुसन्धान गरिरहेका छौँ, पत्र पठाएर सेजसँग पनि सूचना माग भएको छ । केही दिनमा सबै सार्वजनिक हुन्छ,’ नगरप्रमुख पौडेलले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप