सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

धुम्बाराहीमा गगन-विश्वले उठाए देउवा र कोइरालाको कदममाथि प्रश्न

सोमबार, २९ असोज २०८०, १९ : ५५
सोमबार, २९ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा कोशी प्रदेशको घटनाबारे  गम्भीर आत्मसमीक्षा हुनुपर्ने आवाज उठेको छ । सोमबार अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टीका विग फाइभ पदाधिकारीको छलफलमा घटनाबारे गम्भीर आत्मसमीक्षा हुनुपर्ने आवाज उठेको हो ।

सभापति देउवा, उपसभापति र महामन्त्रीहरु सम्मिलित छलफलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा छलफल नभएको गुनासो गरेका थिए । ‘सभापतिजीले कोशी घटनाबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । कोशीबारे महामन्त्री, सहमहामन्त्रीलगायत कसैसँग पनि सभापति र नेता शेखर कोइरालाले संस्थागत रूपमा किन छलफल गर्नुभएन ?,’ महामन्त्री शर्माको प्रश्न थियो ।

महामन्त्री शर्माका अनुसार सत्ता गठबन्धनभित्र सबै प्रदेशमा सम्मानजनक रूपमा आलोपालो मुख्यमन्त्री हुने पूर्ववत सहमति थियो । ‘कोशीमा नहुनुपर्ने द्वन्द्व भयो, यसले डढेलोको रूप लिन हुन्न,’ शर्माले भने, ‘संयमतापूर्वक अघि बढ्नुपर्छ।’

महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति देउवा र नेता कोइरालाबीच शनिबार भएको सहमतिमाथि पनि प्रश्न उठाएका थिए । ‘तीन नेताले हस्ताक्षर गरेको कागजको चिर्कटो देखियो, यस्तो चिर्कटोमा सम्झौता किन गरियो, गर्नुपर्नाका कारण के हुन् ?,’ सभापति देउवासामु उनीहरुको प्रश्न थियो ।

गठबन्धनलाई नै निरन्तरता दिने कांग्रेसले संस्थागत निर्णय पहिले नै गरिसकेको भन्दै चिर्कटो सम्झौताको औचित्यबारे महामन्त्रीले जिज्ञासा राखेका थिए ।

‘प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । सभापतिजी गठबन्धन दलको ठूलो दलको नेता, गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो ? कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा हुन्थ्यो होला,’ महामन्त्री शर्माले भने । 

कोशीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको महामन्त्री शर्मा भनाइ थियो ।  ‘सभापतिले संस्था चलाउने कुरामा फरक विचारलाई सुन्ने र समन्वय गर्ने कुरा नगर्ने र फरक विचार समूहका नेताले पनि आफ्नै समूह भित्र पनि छलफल नगर्ने परिपाटी देखियो,’ शर्माले भने ।

कोशीमा देखिएको समस्यालाई सहमतिमै हलमा पुग्नुपर्ने उनको भनाइ छ । अब कांग्रेसले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएर अघि बढ्नुपर्ने शर्माले बताए ।

उनले पार्टी सभापति र शेखरले पार्टी पंक्तिलाई कोशीबारे जवाफ दिनुपर्ने बताए । यसअघि दुई पटक माओवादीले कांग्रेसलाई छाडेको हुनाले अहिले माओवादीले दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । महामन्त्री शर्माले भने, ‘शेखर कोइरालाले पनि जबरजस्ती कांग्रेसको भागको माओवादीलाई दिइयो भन्ने भाष्य बनाउनुभएको छ । त्यो कांग्रेसको भाग दिइएकै होइन । कुनै प्रदेशमा कांग्रेसको भागको हुन त बहुमत ल्याएको पनि हुनुपर्थ्यो नि !’

कोशीमा कांग्रेसका केदार कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सत्ता गठबन्धनको सहमतिअनुसार माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेश गरेका छन् । तर, शनिबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । यसले कांग्रेस र सत्ता गठबन्धनमा पैदा भएको तरंग रोकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप