सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालापनको जस्तो दसैँ कहिले आउला ?

मङ्गलबार, ३० असोज २०८०, १० : ४६
मङ्गलबार, ३० असोज २०८०

दसैँ पनि आयो । घर जाने दिन पनि आइसकेछ । नेपालीहरूको महान् चाड विजया दशमी साँच्चै हर्षोल्लासको चाड हो । असत्यमाथि सत्यको विजयका लागि दसैँ मनाइन्छ । दसैँ शान्ति, सुख र समृद्घिको प्रतीक हो भन्ने मान्यता छ । 

दसैँ भन्नेवित्तिकै बाल्यकालको समय स्मरण गर्दा कहिले परीक्षा सकिन्छ र नयाँ कपडा किन्न बजार जाने भन्ने लागिरहन्थ्यो । साथीहरूसँगको दिनहुँ भलाकुसारी ‘साथी कपडा किनिसकेऊ दसैँको, के किन्ने, म त भोलि जान्छु किन्न ।’ बच्चाबेलाको जस्तो उत्सुकतापूर्ण दसैँ त कहिले आउला फेरि ।

दसैँमा मान्छेले नयाँ लुगा लगाउँछन्, त्यस्तै घरहरू पनि रङ गरी नयाँपन दिइन्छ । काम र पढाइ विशेषले आफ्नो घरबाहिर बस्नुपर्ने मानिसहरू झन् उत्साहित हुन्छन् आफ्नो गाउँ फर्कन र दसैँ मनाउन । दस दिनअघि गाडी बुकिङ गरिन्छ, उत्साहित भई प्याकिङ त झन् एक हप्ताअघि नै भइसक्छ । उता आमा, बुबा, हजुरबुवा, हजुरमा पनि क्यालेन्डर हेर्दै, दिन गन्दै दङ्ग परेर पर्खिरहनुहुन्छ कहिले छोराछोरी आइपुग्छन् भनेर । 

दसैँ हरेक कुराले विशेष छ, गर्मी मौसमको अन्त्य र जाडो सुरु हुने बेलाको सौम्य वातावरण,  भिडभाड बजार, रङ्गीन माहोल र बेग्लै सुगन्धले दसैँ आयो भन्ने हर्ष ल्याउँछ । परिवार सबै भेला भई सरसफाइ र दसैँको तयारीमा जुटी दसैँको स्वागत गरिन्छ । घटस्थापनामा रोपेको जमरा र जमरा हुर्कंदै जाँदाको त्यो वासनाले दसैँको सुवाशीलता थप्छ । घरगाउँमा सबै भेला भएर लिङ्गे पिङ बनाउने र त्यसमा चढी चाचा हुइँ गर्दै आफ्नो मनका पीडा, दुःख उडाई साँच्चै खुला आकाशमा पुगेको अनुभूति हुन्छ ।

गाउँमा मन्दिरमा सुरु भएको नवरात्रि पूजा, भजन कीर्तन, सजीसजाउ दुर्गा माताको पूजाआजाले साँच्चै आनन्द दिन्छ । दसैँ भनेपछि आफन्त भेला हुने र मीठो परिकार खानुले पनि एउटा उत्साहित माहोल थप्छ । व्यस्त जिन्दगी र सबै आफ्नो कामको धपेडीलाई भुलेर परिवारसँग हाँसी मजाक गर्दै तास खेल्ने, जित्नेले पार्टी दिने सर्त राख्नु पनि दसैँको रमाइलो पक्ष हो । चङ्गा बनाउने र त्यसलाई उडाउनुले पनि बेग्लै आनन्द थप्छ । अझ साना भाइबहिनी त कति रमेका चङ्गालाई माथि माथि उडाउन पाउँदा । अष्टमीमा दही चिउरा केरा खानुपर्छ भन्ने मान्यता छ हाम्रो परम्परामा । अष्टमीका लागि भनेर केराको घरी पकाउन राखिन्छ र त्यस दिन खाने गरिन्छ । साँच्चै दसैँको माहोल यति रमाइलो हुन्छ कि परिवारसँगको साथमा बसेर खाएको, रमाएको हरेक कुरा आनन्दित र यादकार हुन्छ ।

बारीमा फलेको कोदो, लहलह झुलेको धानले वातावरण नै हराभरा बनाउँछ । नवौँ दिनमा महादुर्गाको नौँ स्वरूपको पूजा गरिन्छ । सबै जना आफ्नो यात्रा सहज बनाउने सवारी साधनको सरसफाइ र पूजाआजा गर्न व्यस्त हुन्छन् । 

दसैँको विशेष र महत्त्वपूर्ण दिन विजया दशमी हो । घरको सबै परिवार व्यस्त भइन्छ । टीका सामग्री तयार गर्न । छोराछोरी आँप, वर, पीपलको पात, फूलहरू टिप्न र टीका सामग्री तयार गर्न व्यस्त हुन्छन् । बाबा कुल पूजा र अन्य पूजाआजामा व्यस्त हुनुहुन्छ । आमा भान्सामा परिकार बनाउन । दियो, कलश, गणेशको पूजा गरी शुभ समयमा मान्यजनले आशिष र मन्त्र पढ्दै टीका लगाइदिनुहुन्छ ।

आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।

शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।

रातो अबिर र दही मुछी रातो टीका निधारमा, जमरा कानमा, भर्खर छापिएको नयाँ नोटको वासना, नयाँ कपडा, परिवारको शुभेच्छा, दसैँले त जीवनमा साँच्चै नयाँ रङ्ग, उमङ्ग र हर्षका किरण ल्याउँछ । अझ दसैँ भन्ने वित्तिकै मामाघर जानुको मज्जा छुट्टै छ । सबैलाई आफ्नो मामाघर कति प्यारो हुन्छ । व्यस्तताले मामाघर खासै जान नपाउने बुबाआमा पनि दसैँमा आफ्नो मामाघर गई टीका, आशीर्वाद लिनुहुन्छ । दसैँको आशीर्वाद साँच्चै नै विशेष छ, भाव बोकेको छ । टीका जमरा लगाउँदै शिरमा आफ्नो हात राखी हजुरबुवा, हजुरमाले आशीष दिएपछि त साँच्चै जीवनमा सकारात्मक उर्जा थपिन्छ ।

विदेशमा हुने आफन्तको सम्झनाले चाहिँ केही खल्लोपना ल्याउँछ । तर दसैँ पर्व यति विशेष छ कि नेपालीहरू हुने विदेशी भूमिमा पनि दसैँ भव्यताका साथ मनाइन्छ । सबै नेपालीहरू भेला हुने, टीका जमरा लगाई नेपालीपनको आभाषसँगै विदेशमा पनि हर्षका साथ दसैँ मनाइन्छ ।

आफन्तको आवतजावत, रमाइलो भेटघाटसँगै पूर्णिमाको दिन दसैँ बिदा गरिन्छ, अर्काे दसैँको प्रतीक्षाको साथ ।

विजया दशमी २०८० को सम्पूर्णमा शुभकामना । ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिशा आचार्य
अनिशा आचार्य
लेखकबाट थप