आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आयातित विविधता थोपर्न खोजिएको छ, सतर्क हुनुपर्छ : ओली

बुधबार, ०१ कात्तिक २०८०, १७ : ४१
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले नेपालमा आयातित विविधता थोपर्न खोजिएको बताएका छन् । बुधवार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आयातित विविधताबाट सतर्क हुनुपर्नेमा पनि जोड दिए । 

‘आयातित विविधता बोकेर हिँड्ने आवश्यकता छैन । हाम्रो विविधतालाई हामी सम्मान गर्दछौ । र विविधतामा एकता खोज्दछौ । विविधतालाई विभेदको विषय बनाउनु हुँदैन’, ओलीले भने, ‘विविधता सामान्य कुरा हो । तर त्यसलाई विभेदको विषय बनाउनु र त्यसले गर्दा अधिकारमा असमानता, विभेद र थिचोमिचो, शोषण, पक्षपातजस्ता कुरा गर्नु हुनुहुँदैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सदभावमा आधारित राष्ट्रिय एकता कायम गर्नुपर्ने भन्दै नेपालमा भौगोलिक, जैविक र सामाजिक विविधता रहेको बताए । ‘त्यसले अनेक भाषिक र सांस्कृतिकसहित अरू प्रकारका विविधता पनि ल्याएको छ । हाम्रो विविधताले नल्याएका विविधता पनि रोप्न खोजिएको छ नेपालमा’, ओलीले भने, ‘अहिले केही आयातित विविधताहरू थोपर्न खोजिएको छ । जुन कुरासँग हामी सतर्क हुनुपर्छ ।’

विविधतामा एकता खोज्नुपर्ने भन्दै उनले विविधतालाई विभेदको विषय बनाउने नहुने पनि बताए ।  उनले देश बिगार्न अनेक तत्त्वहरूले प्रयास गरिरहेको भन्दै जति अनुशासनहीन र उच्छृङ्खल भयो त्यो महान् हुन खोज्ने प्रवृत्ति मौलाएको बताए । ‘आफूलाई अरूभन्दा फरक देखाउने प्रयास भइरहेका छन् त्यसलाई नियन्त्रण गरे मात्रै सभ्य समाज निर्माण गर्न सकिन्छ’, ओलीको भनाइ छ ।  

ओलीले समाजमा अराजकता, असहिष्णुता बढ्न पुग्दा  त्यसले समाजलाई परस्पर घृणा फैलाउने र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरिरहेकोमा चिन्ता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप