बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

२ वटा वडामा अस्पताल सञ्चालन गर्दै हेटौंडा उपमहानगरपालिका

बिहीबार, ०२ कात्तिक २०८०, १५ : १९
बिहीबार, ०२ कात्तिक २०८०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले २ वटा वडामा नगर अस्पताल सञ्चालनको तयारी गरेको छ । १३ र १६ नम्बर वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नतिसहित जनशक्ति थप गरेर नगर अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी भएको हो ।

२०७९ सालमै नगरकार्यपालिकाबाट निर्णय गरेर उपमहानगरपालिकाले ती स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्ने काम थालेको हो । गत आर्थिक वर्षदेखि नै उपमहानगरले नगर अस्पताल सञ्चालनको सोच बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।

सुरुवाती चरणमा अस्पताललाई ५/५ शय्या क्षमतामा सञ्चालन गरी आवश्यकताका आधारमा शय्या थप गर्ने र स्तरोन्नतिको काम गर्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । नगर अस्पताल सञ्चालनका लागि फर्निचर, प्रयोगशालाका सामग्री लगायत व्यवस्थापनका काम गरिरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए । उनका अनुसार अस्पतालका लागि हाल जनशक्ति माग गरिएको छ ।

१७ पदका लागि ७९५ को आवेदन

नगर अस्पतालका लागि उपमहानगरपालिकाले विभिन्न ७ पदमा गत असोज १० मा आवेदन खुला गरेको थियो । उपमहानगरपालिकाले १५ दिनको समय दिएर मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, कम्युटर अपरेटर, अहेव, कार्यालय सहयोगी पदमा आवेदन खुला गरेको थियो ।

ती पदका लागि ७९५ जनाको आवेदन परेको छ । उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख शान्ति विश्वकर्माका अनुसार मेडिकल अधिकृत २, स्टाफ नर्स २, प्रयोगशाला प्राविधिक १, अहेव १, कम्प्युटर अपरेटर ७ र कार्यालय सहयोगी ४ जना माग गर्दै आवेदन खुला गरिएको थियो ।

२ जना मेडिकल अधिकृत माग गरेकोमा २ जनाले मात्र आवेदन दिएका छन् भने २ जना स्टाफ नर्सका लागि २० जनाले आवेदन दिएका छन् । एक जना ल्याव टेक्निसियन पदका लागि ९ जना, एक जना अहेव माग गरिएकोमा २७ जनाले आवेदन दिएका छन् ।

यस्तै, ७ जना कम्प्युटर अपरेटर माग गरिएकोमा ३७५ जना र ४ जना कार्यालय सहयोगी माग गरिएकोमा ३६२ जनाले आवेदन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप