शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२४ दिनको अमेरिका भ्रमण गरेर स्वदेश फर्किए विराटनगर प्रमुख कोइराला

सोमबार, ०६ कात्तिक २०८०, ०९ : ०२
सोमबार, ०६ कात्तिक २०८०

विराटनगर । गत असोज १० गते अमेरिका गएका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला स्वदेश फर्किएका छन् । कोइराला शनिबार विराटनगर आइपुगेका हुन् ।

४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा सहभागी हुन प्रमुख कोइराला अमेरिका गएका थिए । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर प्रमुख कोइरालाले विभिन्न महानगरका मेयर, सिनेटरहरूसँग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए । 

उनका अनुसार विराटनगर महानगरपालिका र अमेरिकाको न्यूयोर्क महानगरबिच भगिनी सम्बन्ध स्थापित गर्ने समझदारी भएको छ । यद्यपि समझदारीपत्रमा हस्ताक्षर भने भएको छैन । भगिनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दीर्घकालीन समस्याका रूपमा रहेका बाढी, डुबान, सुकुम्वासी व्यवस्थापन, सडक निर्माण र फोहर व्यवस्थापनमा सहकार्य हुने कोइरालाको विश्वास छ । 

न्यूयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आउने र त्यसैबेला महानगरबिच भगिनी सम्बन्धमा हस्ताक्षर हुने कोइरालाको भनाइ छ । ‘फोहर व्यवस्थापनका लागि बोस्टनमा बनेको प्लान्ट हाम्रा लागि सुविधाजनक हुनसक्छ । तर त्यहाँ त्यो प्लान्ट ४ बिलियन डलरमा बनेको हो । हामीले त्यति खर्च गर्न नसके पनि त्यस्तै सानो प्लान्ट लगाएर काम गर्न सक्छौँ,’ कोइरालाले भने, ‘त्यहाँ प्लान्ट जडान गर्ने प्राविधिकहरू आएर विराटनगर महानगरको सर्वेक्षण गरेपछि त्यसपछि डीपीआरको काम अघि बढ्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप