सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दसैँ

शेरधन राईको दसैँ : लामो समयपछि फुर्सदिलो भए पनि रमझम छैन, गाउँ रित्तो जस्तो छ

मङ्गलबार, ०७ कात्तिक २०८०, ११ : ०९
मङ्गलबार, ०७ कात्तिक २०८०

विराटनगर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईलाई यस वर्षको दसैँ मान्न पर्याप्त समय छ । अर्थात् उनी फुर्सदिला छन् । विगतमा मन्त्री, मुख्यमन्त्री, सांसदको जिम्मेवारीमै रहिरहेका उनी गत वर्ष भने चुनावी चटारोमा थिए । यो वर्ष भने सार्वजनिक पदमा नरहेको कारण दसैँ आनन्दसँग स्वतन्त्रतापूर्वक मनाउन पाएको उनको अनुभव छ । 

गृहजिल्ला भोजपुरको आम्चोकस्थित आफ्नै घरमा आफ्नी श्रीमती जाङ्मु शेर्पासहित स–परिवार भेला भएर दसैँ मनाइरहेको उनले बताए । ‘म पहाड गाउँमा छु । आम्चोकमा छु । घरमा मजाले दसैँ मानेर बसिरहेको छु । भेटघाट, साथीभाइ यस्तै छ,’ उनले सुनाए, ‘सबै गाउँमै हुनुहुन्छ । घरमै हुनुहुन्छ । मौसम पनि राम्रो छ यस पटक । झरी बादल, केही छैन । बाटोघाटो सबै राम्रो छ ।’

उनले गत वर्षको भन्दा यस वर्षको दसैँ स्वतन्त्रतापूर्वक मनाउने पनि बताए । ‘गत वर्षको दसैँमा चुनावी दौडधुप थियो । पानी परेको थियो । चुनावको मुखमा धपेडी धेरै थियो । ध्यान पनि त्यतै थियो । त्यसले खल्लो महसुस गराएको थियो,’ उनले सुनाए, ‘यस पटकको मौसम पनि राम्रो भयो । कुनै दबाब वा दौडधुप रहेन, छैन । यसपटकको दसैँ गत वर्षको भन्दा निक्कै नै रमाइलो भइरहेको छ ।’

उनका लागि यो वर्षको दसैँ लामो समयपछिको फुर्सदिलो दसैँ पनि हो । ‘लामो समयपछिको फुर्सदिलो दसैँ भइरहेको छ । मन्त्री, मुख्यमन्त्री हुँदा दसैँ तिहार मान्ने अवस्था नै बनेन । असाध्यै व्यस्त भइयो । औपचारिक पदमा रहेपछि घेराबन्दीमा हिँड्नुपर्दो रहेछ । त्यस बेलाको भन्दा अहिले स्वतन्त्र छु,’ उनले भने । 

उनका अनुसार आफ्नै घर परिवारभित्र टिका लगाउने तर, ससुराली भने नजाने बताए । ‘ससुराली अमेरिकामा रहेको कारण जाने अवस्था छैन । त्यसो भएको कारण गाउँमा जाने कुरा पनि भएन । बाँकी परिवार काठमाडौँमा हुनुहुन्छ,’ उनले भने । सप्तमीको दिन गाउँ पुगेका उनी अब दसैँ सकाएर मात्रै फर्किने बताउँछन् । त्यसबिचको समयमा राजनीतिक भेटघाट गर्ने उनको भनाइ छ । 

घरमा पनि मार हान्ने, रमाइलो गर्ने सबै भयो । तर, दसैँमा पनि गाउँहरु रित्ता जस्तो लागेको उनले सुनाए । ‘विगतका दसैँमा मानिसहरू धेरै जम्मा हुन्थ्यो । युवाहरू थिए । तर, अहिले वैदेशिक रोजगारीमा जाने कुराले गाउँ सुन्ने जस्तो छ । देशको परिस्थितिले लगभग गाउँहरू रित्ता जस्ता छन्,’ उनले भने, ‘देशको राजनीतिक अस्थिरताको कारणले यस्तो भएको हो । पहिले पहिले गाउँ, घर, खेतीपाती सबै यही नै हुन्थ्यो । त्यसकारण दसैँतिहारमा रमाइलो वातावरण हुन्थ्यो । अहिले त सबै युवाहरू देश बाहिर छन् । त्यसो हुँदा जुन रमझम हुनुपर्ने हो त्यस्तो छैन ।’

उनले आफू युवा अवस्था हुँदाको दसैँ पनि सम्झिए । ‘पहिले लिङ्गे पिङ, रोटे पिङ हालिन्थ्यो । त्यसो हुँदा धेरै रमाइलो वातावरण हुन्थ्यो । तर, अहिले त्यो छैन । युवा उमेरका मानिसहरू जुटेर यस्तो गरौँ भन्ने म्यानपावर नै अहिले छैन,’ उनले सुनाए, ‘हाम्रो पालामा बेग्लै खालको मज्जा थियो । भलिबल खेलहरू हुन्थ्यो । अहिले पनि फाट्टफुट्ट भइरहेको छ । तर, त्यसबेला ठूलाठूला खेलकुदहरू, सांस्कृतिक कार्यक्रम आयोजना हुन्थ्यो । भव्य हुन्थ्यो । हामी सहभागी हुन्थ्यौँ । अहिले त्यो खालको वातावरण छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप