सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आमालाई परदेशी चेलीको चिठी

शुक्रबार, १० कात्तिक २०८०, १७ : ५२
शुक्रबार, १० कात्तिक २०८०

 आमा धेरै धेरै माया, सम्झना र ढोग 

आमा, यो वर्षको दसैँको रमझमको नशा पनि सकिनै लाग्यो होला । नेपालका हिमाली सुन्दर पर्वतमा सुनको लेपजस्तै कलिलो घाम पनि उदाए होला । हरिया पहाडका रमणीय दृश्यहरु वर्षाको पानीले धोइएर सफा भई प्रभातको उषाकालमा मन्त्रमुग्ध पार्ने गरी प्रकृतिको सुकोमल छटा÷छवि छरिरहेका होलान् । 

म सात समुद्र पारी छु र यी सबै सम्झिरहेकी छु । कता कता यो विरानो देशमा तपाईको न्यानो मायाबाट टाढा हुनु पर्दा विरह लागिरहेछ । उता शरद् ऋतुको शारदीय प्रभामा पहेंलै धानका बाला झुलिरहेका होलान् । सफा कुलोमा सङ्लो पानी घरनिरैबाट कलकलाउँदै बगिरहेको होला । बाटोघाटो, खोलानाला, वन–जङ्गल पनि त सफा भएका होलान् । 

घरका वरिपरि करेसाबारीमा शरद्का बेला थुंगे, सयपत्री, गुर्धौली, मखमली आदि पूmल फुलेर हावाका लहरमा लहरिंदै र सुगन्ध छर्र्दै ढकमक्क ढलपलाइरहेका होलान् । वर्षा पछिको मौसम खुलेर सफा, शान्त, स्निग्ध, सौम्य र मनमोहक बनेर घरपरिवारलाई त छँदैछ । बटुवा, गोठालालाई पनि मन्त्रमुग्ध पार्दै होलान् भन्ने सोंचिबस्छु । 

आमा, टाढा परदेशबाट परदेशीहरु–मुग्लानीहरु, लाहुरेहरु, कुल्ली र दरभानहरु गोरेटा बाटामा वर्षभरिको मजदुरीले नानाचाचा, जडौरी, दसैँका लागि मरमसला किनेर सवेग घरतिर फर्कंदा ताँती झैं देखिएका थिए होलान् । त्यो दृश्य सम्झँदा मन त्यसै तीतो र तरल बन्छ । कता–कता मनमा विरह चलेझैं, सुनसान एकान्तमा बसेर एकछिन रोऊँ कि झैं जस्तो पनि हुन्छ । मन पनि त्यसै त्यसै उदास–उराठ हुन्छ । 

यहाँ त न तीज, न दसैँ, न माघे सक्रान्ति, न त बुद्ध पूर्णिमा ! न कुनै चाड न पर्व ? तीजमा पनि काममा गएँ, दसैँमा पनि काममै गएँ । चाडपर्वका रहर लाग्दा ईच्छाहरु सबै मरेर जाँदैछन् । पहिला विदेश विदेश भनिस्, अहिले यस्तो कुरा गर्छेस् नभन्नु है आमा ! 

म विदेशमा भासिएर बिरानो भएकी छु र भित्रभित्रै आँसुका घुट्का पिउँदै छु । ऋण तिर्नका लागि रोजगारीका उद्देश्यले म यता आएँ । रातदिन काममा जोतिनु तर धेरै आर्थिक लाभ चाहिं नहुनु ? यहाँ पनि कहाँ सजिलो छ र आमा ? गरे खान पायो, नगरे भोकै सुत्यो । दया, प्रेम र करुणा भन्ने शब्द यहाँ डिक्सनरीमै छैन कि जस्तो लाग्छ । यहाँ जो देख्छु एक्लो छ । नेपालबाट आएकाहरु पनि उस्तै भएका छन् । 

विदेशमा पारिवारिकता छैन आमा । सबै सम्बन्ध, बन्धुत्व, आफ्नोपन, स्नेह, सान्निध्य विकासे कंक्रिटका जङ्गलले खाइसकेको छ । यन्त्र, मसिन, इलेक्ट्रोनिक्स सामान, यन्त्र मानव, डमीहरुले मानवता खाइसक्न लागेका छन् । मान्छे पनि यान्त्रिक बन्दै गएको छ । एउटै घरमा बस्नेले पनि चिन्दैनन् आमा । न त केही कुराको आदान–प्रदान नै हुन्छ । 

कसैलाई ताकेर हेरे पनि पुलिस सोध्न आइपुग्छ । साँगुरो, खण्डित, विकेन्द्रित, छरपस्ट, एकाकीपन मात्रै छ–आमा यहाँ त । महँगो छ कोठाभाडा ! साँगुरो एक्लो कोठा छ । एउटा कोठाको भाडाले नै मैना दिन खाने रासन हडप्छ ।  कहिलेकाहिं भौतारिन्छु आमा त्यतातिर सम्झेर । अर्काको देश आफ्नो भन्ने कोही छैन । दुःख बिमार पर्दा कसलाई गुहार्नु र ? सहानुभूति दिनेसम्म पनि नहुँदा रहेछन् । 

फेरि पनि यन्त्रवत् चलिरहेछ जीवन–जेनतेन । मान्छे त ठान्थे विदेश भासिएपछि, जीवन त्यसै सफल बन्छ, जीवनभरिको सपना सार्थक हुन्छ । मानौं यहाँ आएपछि बोटमा लटरम्म फलेको डलर टिप्न पाइन्छ झैंं ! तर, सोंचेजस्तो, ठाने जस्तो जीवन त कहाँ हुँदोरहेछ र आमा–यहाँ पनि ! ‘नेपाल गए कपाल सँगै बर्मा गए कर्म सँगै’ भन्थे । साँचो रहेछ । जहाँ गए पनि गरिब मानिसलाई दुःख मात्रै उसको भागमा पर्छ । 

यहाँ पनि शोषण छ, अन्याय छ, अपहेलना छ, थिचोमिचो सबै छ आमा । यहाँ पनि असमानता छ, विभेद छ । अहम्भाव छ, धनी, पुँजीपतिले त हामीलाई मान्छे नै गन्दैनन् । फरक यत्ति हो त्यहाँ गरिब खान नपाएर मर्छ, यहाँ पोषणरहित, फोस्रो खाना खाँदाखाँदै रोगाएर मर्छ । 

ए ! दसैँको कुरा गर्दागर्दै म त भावुक बनेर बहकिएँछु पो । अँ, आमा दसैँमा घर पोत्न, चोख्याउन, रङ्गीन पार्न डोको बोकेर रातो माटो, सेतो कमेरो लिन जानेहरुलाई भ्याई नभ्याई भएको थियो होला है ? पहिले साथी सँगीहरुसित डोको, नाम्लो भिरेर कञ्चन खोलाको तिरैतिर, बगरैबगर हिँडेर कहिले ठुल्ठुला ढुङ्गा चढ्दै र झर्दै माटो लिन जाँदा तपाईले पत्रीभरि हालेको ढकनेको अर्नी, भोकले गर्दा बिच बाटोमै खाएको अहिले पनि सम्झिन्छु । 

माटो खन्दाखन्दै झमक्कै साँझ पर्न लागेको र अबेर रात घर पुग्दाको दृश्य पनि झलझली सम्झन्छु । तपाईलाई पनि सम्झना होला नि आमा ? राम्रो खाले माटो, कमेरो नपाएर खोज्दै हामी धेरै टाढा पाल्पाको बूढीदमारसम्म पुगेका थियौं । सँगिनीहरुसँग बाटाभरि मनका बह पोख्दै, गफ गर्दै र हाँसो–ठट्टा गर्दै त्यति लामो बाटो पनि पार भएको पत्तै भएन है आमा ? अबेरसम्म घर नफर्कंदा घरका सबै आत्तिएर हामीलाई खोज्न आउनु भएको थियो नि हैन ? 

सबैले घर लिपिसके, हामीले कहिले लिपिसक्ने होला ? तपाईंले पीर मान्दै भन्नु भएको थियो । दसैँ आउन छ दिन मात्रै त थियो त्यस वर्ष । पर्सिसम्म त लिपेर सक्नैपर्छ भन्दै हामीले छिटो छिटो पाइला चाल्यौं । काम गर्दै जाँदा रातो माटो र कमेरोले शरीर पूरै लतपत भई रङ्गिएको स्थितिको यादले एकोहोरो मात्र बनाउँछ । 

यतिखेर विदेशमा काम गरिरहेकी त छु तर मन भने त्यहींँ जन्म ठाउँमै  घुमिरहेको छ । म जन्मेको गाउँ रुपन्देहीको सालझण्डीको फूलबारी । खपडाले छाएको घर, धुरी खाँबोमा टाँगिएको हजुरबाको फोटो । एक तला, वरिपरि पाली हालेको, पालीमै बनाएको भान्छा, अगाडि साँगुरो आँगन, पछाडि बयरको रुख । ससाना खेतका गरामा फुलेको धान, नजिकै रहेका कुसुम र कदमका रुख, सालका अग्ला रुखहरु । घरको तल्लोपट्टि डालेघाँसको रुख, केही पछाडि कुखुराको खोर, गोठमा एउटा गाई र दुहुने भैंसी । एउटा कटहरको रुख र त्यसमुनि बाले शीतल ताप्न राखेको जाली चारपाई, नजिकैबाट बग्ने कुलो यही त थियो मेरो जन्म घर । जसको मलाई बारम्बार सम्झना आउँछ । 

आमा, धान काटेर स्याहार्दा, लछप्पै बाला झुलेको धान, धानमा मौरी भुनभुनाएर डुलिरहेको, रङ्गीचङ्गी पुतली फुरफुर नाचिरहेको हेर्दा कति आनन्दविभोर हुन्थ्यो मन, हकि ? धान दाउने दिन त अर्कै लाग्थ्यो । किनकि सुनजस्तो पहेंलो धानको रास हेर्दा मनै दङ्ग । पराल दाएको, पराल दाएकै दिन पिंडालु र आलु उसिनेर खाएको, कहिले वनभोजमा चिल्लो खाजा खाएको, नाचेको, गाएको यादले आज पनि सताउँछ आमा । ती दिनहरु कति प्रिय थिए, कति सुन्दर र स्वतन्त्र थिए । 

बिना बन्धन बाँच्ने कुरा पो स्वर्ग रहेछ आमा, निस्फिक्री भएर बाँच्नु पो मजा रहेछ । अहिले दसैँको ह्याङओभर बाँकी छ, मलाई मेरो जन्मभूमिको यादले सताइरहेको छ । दसैँमा हामी पिङ खेल्न कति रहराउँथ्यौं । रोटे पिङ गाउँमै लगाएका थिए । तीन चार ठाउँमा त लुठे पिङ पनि थिए । हामी साथी साथी खोसाखोस गर्दै खेल्थ्यौं । कति सुखी र सुन्दर थिए ती दिनहरु ? 

यहाँ त जतिसुकै राम्रा ठाउँ घुमे पनि रस लाग्दैन । बरु त्यहींको गाउँघर, गोरेटो, परालको टौवा वा माच, गाईवस्तु चराएको र मेलापात गरेको याद प्रिय लाग्छ । घर अगाडिको कुलोमा बगिरहेको सङ्लो पानीमा भाँडा माझेको याद आउँछ । गाउँका साथीसँगीसँग जङ्गलमा दाउरा खोज्न, स्याउला काट्न, गाई चराउन, भुटुकी च्याउ टिप्न गएका घटना सम्झेर आँखा भरिन्छन् । आफ्नो जन्मथलोको यादले तड्पाउँदो रहेछ आमा । 

नेपालैमा रहँदा त खासै चासो हुँदैनथ्यो तर यहाँ आएपछि किन यस्तो भएको होला ? यहाँ हरिया रुख त छन् तर नेपालका झैं सुन्दर लाग्दैनन् । घना जङ्गल त छन् तर बाँदर लोट्ने भीर, भुड्की च्याउ, झरी च्याउ, बगाले च्याउ उम्रिने जङ्गल यहाँ छैनन् । घरदेखि परको कञ्चन खोला पनि यहाँ छैन । 

तीज आउँदैछ भन्ने भएपछि म, दिदी र तपाईंले एकैचोटि तीन दिनकै लागि घाँस काटेको, राइमने साइँलाको घर अगाडि आँपको रुखमुनि तीजमा झमझम नाचेको, पिङ् खेलेको किन य िधेरै याद आएको होला ? 

यहाँ त न तीज, न दसैँ, न माघे सक्रान्ति, न त बुद्ध पूर्णिमा ! न कुनै चाड न पर्व ? तीजमा पनि काममा गएँ, दसैँमा पनि काममै गएँ । चाडपर्वका रहर लाग्दा ईच्छाहरु सबै मरेर जाँदैछन् । पहिला विदेश विदेश भनिस्, अहिले यस्तो कुरा गर्छेस् नभन्नु है आमा ! 

यहाँ आएको एकै महिनामै मलाई जन्म दिने आमा र जन्म दिने माटोको अस्याट लागिसकेको थियो । अमेरिका सपनाको देश हो भन्थे तर यहाँ पनि उत्तिकै दुःख छ । भौतिक सुविधा र साधनका हिसाबले जतिसुकै समृद्ध भएपनि सुख त होला, खुसी भने कतै छैन । आएको केही समयपछि नै कहिले फर्कने होला भन्ने हुन थालेको थियो । सायद मलाई जस्तै सबै विदेशिएकाको मनलाई यस्तै त हुन्छ होला ? 

मेरो अनुभवमा आफ्नो जन्मभूमि, त्यहाँको अपनत्व, आत्मीयता र हार्दिकता, त्यो माटोको सुगन्ध, त्यहाँको झैं सुन्दर र मनोरम प्रकृति, त्यो नेपाल र त्यो हिमाल, ती दाजुभाइ र बन्धु बान्धव, त्यहाँको ममतापूर्ण र सस्नेही जीवन शैली, त्यो आद्र्र शीतलता र मातृत्व, त्यो न्यानोपन यहाँ कहाँ पाउनु ? 

न जन्म दिने आमाको प्यार न जन्मभूमिको काख, मुग्लान त मुग्लानै हो ! ‘सृष्टिमै छ सबै चीज खोजे मिल्छ थरीथरी तर जन्म दिने आमा पाइँदैन घरिघरि’ । साँच्चै यो सत्य रहेछ । ‘जननि जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ । अन्त कहीँ छैन स्वर्ग आफ्नो मातृभूमि नै वास्तविक स्वर्ग रहेछ । अरु सबै स्वर्ग भ्रम हुन्, आमाको काख र मातृभूमि नै यथार्थ हुन् । 

त्यसैले म अनुरोध गर्छु कि परदेशिन रहर गरेका नेपालीलाई, गर्ने हो भने आफ्नो माटोमै हीरा, सुन सबै फल्छ । पैसाको प्यासले मरुभूमिमा मृग भौंतारिएझैं आकाङ्क्षाको मृगमरीचिकामा विदेशमा भौंतारिनु सही हैन रहेछ । विदेश जान खर्च गर्ने पैसाले आफ्नै देशमा उद्यम गर्ने हो भने, पौरख गर्ने हो भने, श्रमपसिना खर्चिने हो भने त्यहीं नै सुन, हीरा, मोती सबै फल्छ । 

आफ्नो देशमा ठुलो र सानो भन्दै, सुहाउने र नसुहाउने भन्दै, तल्लो स्तरको र माथिल्लो स्तरको काम भन्दै हामी काम गर्न लजाउँछौं । हीन भावना बनाउँछौं । तुच्छ काम भनेर हेला गर्छौं । तर काम कुनै पनि ठुलो र सानो नहुने रहेछ । नेपालबाट आएका डाक्टर, इञ्जिनियर, पीएचडी योग्यताका मानिसहरुले पनि यहाँ सडकमा कुचो लाउँछन्, नाली सफा गर्छन्, भाँडा माझ्छन्, गाडी धुन्छन्, ‘केयर होम’मा सेवा गर्छन्, ‘ग्रोसरी सप’मा काम गर्छन् । त्यहाँ भए छिः भन्थे होला ? बरु भोकै बस्ने तर सानो काम गर्दैनथे होला । 

कर्म त पूजा हो अझ झन् सडक बढार्नु झन् ठुलो पूजा । त्यो त देशको सेवा हो । जसरी पूजा कुनै तुच्छ र कुनै महान् हुँदैन, त्यस्तै काम पनि । श्रम त सदा पूजनीय नै हुन्छ, चाहे सानो वा ठुलो जस्तोसुकै होस् । त्यसैले श्रम गर्ने मानिस जत्तिको पवित्र, पूजनीय, सम्मानयोग्य अरु कोही छैन भन्ठानेर स्वदेशमै कर्म गरौं । 

भन्छन् नि–“यत् यत् कर्म करोमि तत्तदखिलम् शम्भो तवाराधनम्”(जे जे कर्म गर्छु, त्योत्यो सबै शम्भुकै आराधना हो) सबै कर्म प्रभुका आराधना हुन् । त्यसैले, म परदेशिन चाहने हरेक नेपालीलाई विनम्र अनुरोध गर्छु, सोंच बदल्नुस् । सानो नै सही स्वदेशमा नै काम गर्नुस् त्यही महानता हो । 

विदेश त समुद्र हो, समुद्रमा हाम फाल्नु अघि सयपटक सोंच्नुस् । नेपालमा कल्पना गरेजस्तो विदेश छैन । पौडिन जानेकाहरुमात्र सफल होलान्, नत्र डुब्ने नै हो । यहाँ त आफ्नो देशलाई सम्झेर हामी पलपल मरि पो रहेका छौं त ! ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ’ महाकवि देवकोटाले भने । साँच्चै नै आफ्नो देशको सेवामा समर्पित हुनु जस्तो सुख कहीँ गएर पनि मिल्दैन । विदेशमा त आफ्नै पनि पराइ हुन्छन् । आफ्नैले पनि साथ छोड्छन् । नेपालीले नै नेपालीलाई नचिन्ने र धोका दिने ठाउँ हो भने अरु कसको आश गर्नु ? 

चिठी लामो भयो आमा । गन्थन गरेर सकिने हैन । यहाँ सञ्चै छु र गुजारा चलिरहेछ । त्यहाँ पनि सबैलाई सञ्चो भइरहोस् । दसैँ, तिहार, छठmे सबैमा सुख शान्ति र खुसी दिइरहोस् यही शुभकामना दिंदै अहिलेलाई विदा माग्छु । म अभागीको सधैँ सम्झना रहोस् है आमा ? लौ त विदा !

उही तपाईकी परदेशी छोरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पविता पौडेल
पविता पौडेल
लेखकबाट थप