कम भयो उपत्यकामा मासुको उपभोग, नबिकेपछि कुखुराको मूल्य घट्यो
काठमाडौँ । दसैँमा खसी–बोका, खुकुरा लगायतको मासुको उपभोग कम भएको पाइएको छ । गत वर्षको तुलनामा १२ हजार न्यून पशु चौपाया दसैँका लागि काठमाडौँ उपत्यकामा ल्याइएको हो ।
गत असोज २८ गते घटस्थापनाको दिनदेखि कार्तिक ६ गते नवमीसम्ममा काठमाडौँ उपत्यकामा ४२ हजार ४ सय ७१ पशु चौपाया मासुका लागि भित्र्याइएको पशु सेवा विभागले जनाएको छ । गत वर्ष सो अवधिमा ५४ हजार पशु चौपाया मासुका लागि काठमाडौँ उपत्यकामा ल्याइएको थियो ।
उपत्यकामा मासुका लागि पशुचौपाया घट्नुको मुख्य कारकका रुपमा आर्थिक मन्दी र मान्छे कम हुनु नै रहेको विभागका सूचना अधिकारी तथा वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालको अनुमान छ ।
गत वर्षको तुलनामा खसी, बोका, च्याङ्ग्रा, भेडाको बिक्री कम भएको नेपाल चौपाया बजार बधशाला व्यवस्थापन प्रालिका संस्थापक तथा व्यवस्थापक जीवनराज खतिवडाले बताए । ‘दसैँमा गत वर्ष २५ हजार खसी, बोका, च्याङ्ग्रा बिक्री भएका थिए,’ उनले भने, ‘यो वर्ष २० देखि २१ हजारको हाराहारीमा खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत बिक्री भएका छन् ।’
उनका अनुसार गत वर्षको तुलनामा खसी, बोका, च्याङ्ग्रा लगायतको व्यापार करिब २० प्रतिशत कम भएको छ । दसैँ लक्षित व्यापार गर्नेको पशुचौपाया बिक्री नभएको सुनिएको उनको भनाइ छ ।
उनका अनुसार दसैँमा कलंकी खसी बजारबाट करिब ४ करोड २० लाख रुपैयाँको हाराहारीमा पशुचौपाया बिक्री भएको छ ।

दसैँमा कुखुराको पनि व्यापार घटेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार दैनिक हुने कुखुराको व्यवसाय भन्दा करिब ५० प्रतिशत व्यापार घटेको हो । उपत्यकामा ५ लाख किलो हरेक दिन कुखुराको तयारी मासु बिक्री हुन्छ । देशभर दैनिक ८ लाख किलो कुखुराको तयारी मासु बिक्री हुने संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए ।
‘विगतका वर्षमा कोरोना, डेंगुका कारणले मान्छे उपत्यकामै बस्थे,’ उनले भने, ‘यो वर्ष उपत्यका छोड्ने धेरै भएर व्यपार घट्यो ।’
मूल्य घट्यो
दसैँमा बिक्री नहुँदा मौज्दात रहेकाले कुखुराको मासुको मूल्य घटेको संघका अध्यक्ष बेलबासेको भनाइ छ । उनका अनुसार तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँ घटेको छ भने जिउँदो कुखुराको प्रतिकिलो १० रुपैयाँका दरले मूल्य घटेको छ ।
‘शनिबार तयारी मासु प्रतिकिलो तीन सय ९० रुपैयाँमा बिक्री भयो,’ उनले भने, ‘आइतबार प्रतिकिलो मासु तीन सय ७५ रुपैयाँमा बिक्री भएको छ ।’
उपत्यकामा मासुका लागि दसैँमा कुन पशु कति भित्रिए ?
पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०८० असोज २८ गते घटस्थापनाको दिनदेखि कार्तिक ६ गते नवमीसम्म काठमाडौँ उपत्यका जम्मा ४२ हजार चार सय ७१ पशुचौपाया भित्रिएका छन् । खसी ३५ हजार चार सय ८६ वटा ल्याइएको छ । बोका दुई हजार आठ सय ३५ वटा भित्र्याइएको छ । यस्तै, बाख्रा चार सय २५ वटा, च्याङ्ग्रा एक हजार आठ सय ८३ वटा ल्याइएको छ ।
यसैगरी भेडा चार सय ३६ वटा र सिन्हाल चार सय ९३ वटा ल्याइएको विभागले जनाएको छ । बोयर एक सय १५ वटा ल्याइएको छ । दसैँमा राँगा दुई सय ९९ वटा ल्याइएको छ भने ८० वटा भैंसी भित्र्याइएको छ ।
मासुका लागि तीन सय ९८ वटा पाडा, १४ वटा पाडी र ७ वटा बंगुर यो अवधिमा ल्याइएको छ । दसैँमा उपत्यकामा २८ हजार ९६ किलो माछा खपत भएको पशु विभागले जनाएको छ ।
दसैँमा मासुका लागि ल्याइएको पशुचौपाया विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण