आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मध्य पूर्वमा तनाव बढे पनि घट्यो तेलको भाउ

सोमबार, १३ कात्तिक २०८०, १६ : ०३
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ सोमबार घटेको छ । मध्यपूर्वमा द्वन्द्व साम्य हुने कुनै सङ्केत छैन । गाजा पट्टीमा इजरायलले सैन्य बल पठाएपछि तनाव चुलिएको छ । तर अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको यही हप्ता बस्ने मौद्रिक नीतिगत बैठक र चीनको म्यानुफ्याक्चरिङ डेटाको पर्खाइमा लगानीकर्ता सतर्क देखिएपछि तेल बजारमा दबाब सृजना भएको छ ।

लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा सोमबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्टको भाउ १ दशमलव ६ प्रतिशतले घटेर प्रतिब्यारेल ८९ डलर ५२ सेन्टमा झर्यो । न्यूयोर्क मर्कन्टाइल एक्चसेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ दशमलव १६ प्रतिशतले घट्दै प्रतिब्यारेल ८४ डलर ५५ सेन्टमा आएको थियो ।

लगानीकर्ताहरू बुधबार बस्ने फेडको नीतिगत बैठकको नतिजा कुरिरहेका छन् । अमेरिकाको रोजगारी तथ्याङ्क र एप्पलको त्रैमासिक प्रतिवेदनले अर्थतन्त्रमा सुस्तीको सङ्केत गर्‍यो भने विश्वको सबैभन्दा धेरै तेल खपत गर्ने अमेरिकाको इन्धन माग प्रभावित हुनेमा लगानीकर्ताको ध्यान छ ।

इजरायल–हमासबिच जारी युद्ध मध्य पूर्वका अन्य क्षेत्रमा समेत पोखिने भय बढ्दा शुक्रबार ब्रेन्ट र डब्ल्यूटीआई दुवैको भाउ ३ प्रतिशतभन्दा धेरैले बढेका थिए । तर सप्ताहान्तमा युद्ध अन्यत्र नभड्किने सङ्केत आएपछि तेलको भाउ घट्न थालेको हो । गएको हप्ता तीन हप्तायता पहिलो पटक कच्चा तेलको भाउमा साप्ताहिक कमी आएको थियो । यही हप्ता चीनको सेवा र कारखाना क्षेत्रको उत्पादनको तथ्याङ्क पनि आउँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप