शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लोसपा केन्द्रीय समितिको बैठक बोलाउने तयारी, के–के छन् एजेन्डा ?

बिहीबार, १६ कात्तिक २०८०, २३ : ०२
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक बसाउने तयारी थालेको छ । लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको थियो ।

सो केन्द्रीय समितिको पहिलो बैठक बोलाउने तयारी भइरहेको लोसपाका महासचिव डा.सुरेन्द्र झाले बताए । उनले भने, ‘केन्द्रीय समितिको पहिलो बैठक बसाउने तयारी भइरहेको छ, अहिले डेट फिक्स भएको छैन तर छठ पछि तुरुन्तै बस्न गरी गृहकार्य चलिरहेको छ ।’

केन्द्रीय समितिमा रहेकालाई विभागीय जिम्मेवारी दिनुको साथै भातृ सङ्गठन तथा विभिन्न समिति गठन गर्ने लगायतका काम सो बैठकबाट हुने उनले बताए ।

त्यस्तै, बैठकले केन्द्रीय समिति विस्तार पनि गर्ने बताइएको छ । ‘विधानअनुसार ४०१ सदस्यीय कार्य समिति हुनुपर्छ । हाल ३११ जनाको समिति बनाइएको छ । त्यसमा ९० जना थपेर त्यसलाई बैठकले पूर्णता दिन्छ’ महासचिव झाले भने ।

‘अहिले केन्द्रीय समितिमा केही महत्त्वपूर्ण नेताहरू पर्नुभएको छैन, केही कारणवश छुट्नु भएको छ, उहाँहरूलाई सहभागी गराएर पूर्णता दिने गृहकार्य सुरु भएको छ’ उनले भने, ‘केन्द्रीय समिति पूर्णता पाएपछि सङ्गठन निर्माणको कार्यलाई अभियानको रूपमा सञ्चालन गर्ने सोच बनेको छ ।’

वडा तहदेखि केन्द्रसम्म सङ्गठन विस्तारका कार्यक्रमहरू तय गरी अभियान नै सञ्चालन गर्ने गरी गृहकार्य सुरु भएको उनले बताए । वडा तहदेखि प्रदेशसम्म अधिवेशन गराएर पार्टीको महाधिवेशन समयमा सम्पन्न गर्ने गरी सो पार्टीमा छलफल सुरु भएको छ ।

लोसपामा हाल कार्यकारिणी समिति र केन्द्रीय समिति मात्र रहेको छ ।  त्यसबाहेक कुनै समिति बनेको छैन । युवा र विद्यार्थी सङ्गठनबाहेक अन्य भातृ सङ्गठन पनि बनेको छैन । भातृ सङ्गठन बनाउनका लागि पार्टीमा गृहकार्य चलिरहेको छ । पार्टीका वरिष्ठ नेता तथा पदाधिकारीहरूसँग छलफल गरी भातृ सङ्गठन बनाउने गृहकार्य चलिरहेको लोसपाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप