शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

के कारणले खस्कियो बैंकहरूको पर्फमेन्स् ?

पहिलो त्रैमासमा बैंकको नाफामा ९१ प्रतिशतसम्मको गिरावट !
शुक्रबार, १७ कात्तिक २०८०, २० : ०४
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक भएको छ ।साउन, भदौ र असोज तीन महिनामा बैंकहरुले गरेको आर्थिक कारोबार, अधिकांश बैंकहरुको नाफा/घाटाको ब्यालेन्स सिट निकै कमजोर देखिएको हो । 

बैंकहरुले अघिल्लो वर्ष कमाएको नाफाको तुलनामा ९१ प्रतिशतसम्मले यस वर्ष गुमाएको उनीहरुले नै सार्वजनिक गरेको वित्तीय रिपोर्टले देखाएको छ । 

यो वर्ष निकै कमजोर पर्फमेन्स् देखाएको सिद्धार्थ बैंकले अघिल्लो वर्षको नाफाको तुलनामा अधिकतम् ९१.४० प्रतिशतले गुमाउन पुगेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यो वर्षको पहिलो त्रैमासमा भने बैंकले जम्मा ४ करोड २८ लाख ६२ हजार रुपैयाँ मात्र कमाएको बैंकले जारी गरेको रिपोर्टमा उल्लेख छ । 

उसो त यस्तो कमजोर वित्तीय पर्फमेन्स प्रदर्शन गर्ने सिद्धार्थ बैंक मात्र एक्लो होइन । यसै अवधिमा लक्ष्मी सनराइज बैंकको नाफामा पनि ७९.५३ प्रतिशतले गिरावट आएको छ । 

अघिल्लो आर्थिक वर्षमा ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको लक्ष्मी सनराइज बैंकले यो वर्ष मुस्किलले १० करोड ३० लाख ४१ हजार रुपैयाँ मात्र कमाउन सकेको छ । 

यस्तै, नेपाल बैंकले अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट ७६.४३ प्रतिशतले गिरावट भोग्दै जम्मा १४ करोड, २३ लाख ७० हजार रुपैयाँ मात्र कमाउन सकेको छ । जबकि, अघिल्लो आर्थिक वर्षमै बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यस्तै, आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमै १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको कुमारी बैंकले यो वर्ष ७३.६४ प्रतिशतले नाफा गुमाउँदै जम्मा २६ करोड ३९ लाख ३५ हजार रुपैयाँ मात्र कमाएको छ । 

यस्तै, नाफा गुमाउने बैंकहरुमा एनआईसी एशिया बैंक (–४२.४९ प्रतिशत), नेपाल एसबीआई बैंक (–२३.६२ प्रतिशत), सिटिजन्स् बैंक (–१९.७० प्रतिशत), सानिमा बैंक (–११.९१ प्रतिशत), एभरेष्ट बैंक (–९.४५ प्रतिशत) र नबिल बैंक (–६.५१ प्रतिशत) रहेका छन् । 

यता, सरकारी स्वामित्वको कृषि विकास बैंक पहिलो त्रैमासमा नै ८८ करोड ८० लाख ७१ हजार रुपैयाँ घाटामा गएर निकै कमजोर वित्तीय कारोबारको नमुना प्रदर्शन गरेको छ । 

यस्तो छ, बैंकहरुको आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको नाफा/नोक्सान स्थिति (अंक हजारमा/प्रतिशतमा)

bb1

के कारणले खस्कियो बैंकहरुको पर्फमेन्स् ?

तीब्र आर्थिक मन्दीको प्रभाव, उपभोक्ता, उत्पादन र बजारमा पर्दा त्यसको साइड इफेक्ट यता बैंकको वित्तीय कारोबारमा समेत पर्न गएको हो । 

उपभोग्य बजारको शिथिलताका कारण उत्पादन खस्किदा बैंकको ब्याज किस्ता चल्न सकेन भने थप लगानीको वातावरण नहुँदा बैंकको कर्जासमेत परिचालन हुने अवस्था बनेको छ । यसैबिच, बढेको बैंक ब्याजदरले समेत बैंकहरु स्वयंलाई हानी गर्यो । 

बैंकहरुले बजारमा गरेको कर्जा लगानी उठ्न नसक्दा यता ब्यालेन्स सिट प्रभावित हुन पुगेको बैंकर्सहरुले बताएका छन् । वाणिज्य बैंकहरुको खराब कर्जाको दर (एनपीएल) ४ प्रतिशत हाराहारी पुगिसकेको छ । जसले गर्दा पर्फमेन्समा मात्र नभई भविष्यमा ठूलै संकट नै पो आउने हो कि भन्ने त्रासमा यतिखेर बैंक सञ्चालकहरु देखिन्छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप