आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

घाइतेको उद्धार र उपचारमा परिचालित हुन अध्यक्ष ओलीको निर्देशन

शनिबार, १८ कात्तिक २०८०, ११ : २४
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट घाइते भएकाहरूको उद्धार उपचारमा परिचालित हुन पार्टी नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले एकसय जनाभन्दा बढीको ज्यान गएको दुःखद अवस्थामा रहेको भन्दै घाइतेहरूको उद्धार र उपचारमा परिचालित हुन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।

‘उद्धार र राहतमा संलग्न स्वयंसेवक साथीहरूले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्धार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्, ‘देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला ।’

उनले विशेष गरी सुर्खेत, नेपालगन्ज, काठमाडौँका पार्टीका कमिटीहरूले उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेका छन् । उद्धारमा भिडभाड भन्दा छरितो व्यवस्थापन गर्नुपर्ने भन्दै  विपत् र शोकको समयमा पार्टीले आज शनिवार राखेका शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रमहरू स्थगित गर्न देशभरका सबै पार्टी निकायहरूलाई आग्रह समेत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप