बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

जाजरकोट भूकम्पपछि राजनीतिक गतिविधि ठप्प, सरकारलाई दलहरुको साथ

मङ्गलबार, २१ कात्तिक २०८०, १५ : ०८
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको विनाशकारी भूकम्पपछि देशमा राजनीतिक गतिविधि ठप्प भएको छ । पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छन् ।

भूकम्प पीडितलाई तत्काल राहत र पुनर्स्थापना गर्न सरकारसँग दलहरुको माग छ । दलहरुले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमार्फत भूकम्प प्रभावितलाई सहयोग पनि गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पकोबारे छलफल गर्न सर्वदलीय राखेका छन् । भूकम्पपछि आ–आफ्नो आन्तरिक कार्यक्रम रोकेर दलहरु सरकारको साथमा उभिएको देखिन्छ ।

सरकारको प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गराएको देखिन्छ । कांग्रेसले केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्न÷गराउन कांग्रेसले मातहतलाई निर्देशन दिएको छ ।

कांग्रेसले भूकम्पकै कारण मंसिर १३ देखि १५ सम्मलाई तय भएको महासमिति बैठक मंसिर २९ देखि पुस २ कालागि सारेको छ ।

आइतबार भूकम्प प्रभावितलाई तत्कालै उद्धार, राहत र पुनर्स्थापनामा पार्टीका तर्फबाट व्यवस्थापन सहजीकरण गर्न कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणका लागि उक्त समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर २१ बुँदे तत्कालीन र अल्पकालीन उपाय सुझाएको छ । साथै कांग्रेसले पार्टीका तर्फबाट ५० लाख र आफ्ना सांसदको आधा महिनाको तलब भूकम्प पीडितका लागि बुझाएको छ ।

कांग्रेसका भ्रातृ संस्था नेविसंघ र नेपाल तरुण दल पनि अन्य कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छन् । कांग्रेसले पार्टीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरे पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने रोकेको छैन ।

कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी ४३ क्षेत्रीय कार्यसमितिलाई कात्तिक २४ को समयसीमा दिएको छ । निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठका अनुसार अहिलेसम्म १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिएको छ ।

यस्तै जाजरकोट भूकम्पका कारण प्रमुख विपक्षी नेकपा एमालेले शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रम स्थगित गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामना आदानप्रदान तथा उत्सव सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न देशभरका सबै पार्टी निकायलाई निर्देशन दिएका थिए ।

एमालेले सबै जनसंगठनलाई भूकम्प पीडितको सेवामा जुट्न भनेको छ । महासचिव शंकर पोखरेलले उद्धार र राहतको काममा जुट्न पार्टी पंक्तिका साथै सबैलाई अनुरोध गरेका थिए । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक अपिल प्रकाशित गरी सरकारलाई ध्यानाकर्षण गराएका थिए । एमालेका उपमहासचिव विष्णु रिमाल जाजरकोट र रुकुम पश्चिम पुगेरै पार्टी पंक्तिलाई भूकम्प पीडितको राहत र सहयोगमा जुट्न निर्देशन दिएका थिए ।

साथै एमालेले भूकम्पमा परी घरबारविहीन भएकालाई १ करोड रूपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने तयारी गरेको छ ।

यता सत्तारुढ माओवादी केन्द्रले पनि भूकम्पका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार भूकम्पको कारण मंसिर २२ मा हुने भनिएको जनप्रदर्शन कार्यक्रम स्थगित गरिएको छ ।

यस्तै माओवादीले चियापान लगायतका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरेको छ । माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको छ ।

माओवादी केन्द्रले उद्धार, राहत र पुनर्निर्माणमा सक्रियतापूर्वक लाग्न सिङ्गो पार्टी पंक्तिलाई निर्देशन दिएको छ । भूकम्पपीडितको राहत र पुनर्निर्माणमा सहयोगका लागि माओवादी केन्द्रले ५० लाख रुपैयाँ दिएको छ ।

यस्तै उपमहासचिव एवं रुकुम पश्चिमका सांसद जनार्दन शर्मा आफ्नै हिसाबले सक्रिय देखिएका छन् । त्यस्तै, अनेरास्ववियु क्रान्तिकारीले पनि उपाध्यक्षको कमाण्डमा छुट्टाछुट्टै टोली प्रभावित क्षेत्रमा पठाएको छ । माओवादीले तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्थालगायत आम नागरिकलाई राहत तथा पुनर्निर्माणमा लाग्न अपिल गरेको छ ।

जाजरकोट भूकम्पका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । यही कात्तिक २२ र २३ गते मधेस प्रदेशमा बस्ने गरी तय भएको संयुक्त बैठक स्थगित गरिएको रास्वपाका उपसभापति डीपी अर्यालको भनाइ छ ।

पार्टीको राजनीतिक, वैचारिक दस्ताबेजमाथि विचार विमर्श र प्रथम महाधिवेशनको मिति तय गर्ने बैठकको एजेन्डा थियो । बैठकलाई स्थगित गरेर रास्वपाका सभापति रवि लामिछाने र केही सांसदको टोली भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित छ । सोमबारमात्र रास्वपाले भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

उपसभापति डोलप्रसाद अर्याल नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पीडितले खानयोग्य राहत समयमै पाउने गरी वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । रास्वपाले सरकारलाई सडक पहुँच राम्रो नभएको ठाउँलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न सुझाव दिएको छ ।

जाजरकोट भूकम्पका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि पूर्व निर्धारित कार्यक्रम स्थगित भएको छ । राप्रपाले भूकम्प पीडितको पुनर्स्थापना र राहतका लागि जाजरकोटमा सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिममा सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली तोकेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा पार्टीको अभियानमा व्यस्त सांसद शाहीलाई बाँकी सबै कार्यक्रम स्थगन गरेर प्रभावित क्षेत्रमा पठाएका थिए । अध्यक्ष लिङ्देनले पार्टी पंक्तिलाई पनि उद्धार तथा राहतका कार्यमा सहभागी हुन भनेका थिए । यस्तै राप्रपाले जाजरकोट भूकम्प प्रभावितहरूलाई २५ लाख दिने भएको छ ।

यसैगरी एकीकृत समाजवादीले पनि भूकम्पका कारण गत शनिबारका लागि शुभकामना आदान–प्रदान सम्बन्धी निर्धारित कार्यक्रम स्थगित गरेको छ । साथै एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग पनि गरेको छ ।

अन्य दलले पनि भूकम्प पीडितलाई सहयोग गर्नुका साथै तत्काल राहत र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप