सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तिहार

चाडपर्वमा बढ्यो सुनचाँदीको कारोबार : दैनिक २० किलोग्रामसम्म बिक्री

३ महिनामा ७ अर्बको सुन भित्रियो
मङ्गलबार, २१ कात्तिक २०८०, १६ : १५
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । कोरोना महामारी र मूल्यवृद्धिले सुस्ताएको सुनचाँदीको कारोबार चाडपर्वसँगै बढ्न थालेको छ । नेपालमा सुनचाँदी कारोबारको मुख्य ४ सिजन हुने सुनचाँदी व्यवसायी महासंघ बताउँछ । जसमा तिज, विवाहको समय, दसैँ र तिहार रहेका छन् ।

अहिले दसैँ र तिहारको समयमा दैनिक २० किलोग्रामसम्म सुन कारोबार हुन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले जानकारी दिए । ‘विश्वव्यापी रूपमा बढेको मूल्यका कारण सुनचाँदीको कारोबार घटेको थियो,’ उनले रातोपाटीसँग भने, ‘अहिले चाडबाडका कारण कारोबार बढेको छ ।’

यसअघि विदेशी मुद्राको सञ्चिति घट्न थालेसँगै केन्द्रीय बैंकले सुनको दैनिक आयात कोटा समेत १० किलोमा झारेको थियो । तर, व्यवसायीको मागअनुसार अघिल्लो महिनादेखि लागु हुने गरेर केन्द्रीय बैंकले दैनिक २० किलोग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको थियो ।

अझ तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको महासंघको भनाई छ । तिहार आउनै लाग्दा र तिहारअघि धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ । उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ ।

तिहारलाई सुनभन्दा चाँदी धेरै खपत हुने चाडका रूपमा लिइन्छ । यो समयमा उपभोक्ताले पूजाआजाका लागि चाँदीको सामाग्री किन्ने गर्छन् । सोही कारण, पछिल्लो समय दैनिक ६०० किलोग्रामभन्दा धेरै चाँदी बिक्न थालेको सुनचाँदी व्यवसायी महासंघ बताउँछ । 

३ महिनामा ७ अर्बको सुन भित्रियो

चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको अवधिमा ७ अर्ब रुपैयाँभन्दा धेरैको सुन भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्मको अवधिमा ७ अर्ब ३५ करोड २० लाख रुपैयाँ बराबरको सुन आयात भएको हो ।

९ लाख ग्राम सुन भित्रँदा १ अर्ब १० करोड रुपैयाँभन्दा धेरै राजश्व सरकारले उठाएको छ । यस अवधिमा आयात सम्पूर्ण सुन संयुक्त अरब इमिरेट्समार्फत आएको छ । यस्तै, यस अवधिमा ८ करोड ८३ लाख रुपैयाँ बराबरको सुनको गहन भित्रिएको छ भने ६० करोडभन्दा धेरै रकम बराबरको कच्चा सुन भित्रिएको छ ।

यस्तै, ३ महिनामा ९ करोड ९७ लाख रुपैयाँ बराबरको चाँदी भित्रिएको छ । यस अवधिमा १० लाख ग्राम चाँदी आयात हुँदा राज्यले १ करोड ४९ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

मूल्यवृद्धिको मार

दैनिकरुपमा २० किलोग्रामभन्दा धेरै सुनको कारोबार भएपनि अघिल्ला वर्षहरूको तुलनामा सुनको कारोबार घटेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शाक्यका अनुसार गत वर्षको यही समयमा दैनिक ३० किलोग्रामभन्दा धेरै सुन खपत हुन्थ्यो । यसबाहेक, सुनको मूल्य १ लाख रुपैयाँ प्रतितोला हुँदा दैनिक ४० देखि ५० किलोग्रामसम्म कारोबार हुन्थ्यो ।

पछिल्लो समय सुनको मूल्य बढ्दै जाँदा अघिल्ला वर्षहरूको तुलनामा कारोबार समेत घटेको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले रातोपाटीलाई बताए । ‘गत वर्षको तुलनामा कारोबार दैनिक १० किलोसम्म घटेको छ,’ शाक्यले थपे, ‘यद्यपि, सामान्य अवस्थामा भन्दा अहिले माग र कारोबार बढेको छ ।’ उनका अनुसार २०७२ साल आसपास तिहारको समयमा चाँदीको कारोबार दैनिक २ हजार किलोग्रामभन्दा बढी हुने गरेको बताउँछन् । उनले बजार महँगी र सुनचाँदीको अत्यधिक मूल्यवृद्धिले खपत घटेको हुन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप