मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

गगन–विश्वप्रकाश के गर्दै छन् जाजरकोट र रुकुममा ?

बिहीबार, २३ कात्तिक २०८०, २३ : ०९
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको टोलीलाई भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) पठाएको छ । बुधबारदेखि कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको टोली जाजरकोट र रुकुम पश्चिममा छ ।

महामन्त्री थापा र पार्टीका केन्द्रीय सदस्य गोविन्द पोखरेल जाजरकोटमा छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा रुकुम पश्चिममा छन् । २०७२ सालमा गएको भूकम्पपछि तत्कालीन पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशकका रूपमा काम गरेका पोखरेललाई लिएर महामन्त्रीद्वय बुधबार जाजरकोट पुगेका थिए ।

सात वटा कामको प्राथमिकता छुट्याएर भूकम्प प्रभावित क्षेत्रमा पुगेका महामन्त्रीद्वयले गरिरहेको कामबारे हामीले पोखरेललाई सोधेका थियौँ । पोखरेलले अस्थायी आवास बनाउन प्रेरित गर्न लागिरहेको रातोपाटीलाई बताए ।

‘सबैभन्दा बढी मान्छे मृत्यु भएको जाजरकोटको चिउरी गाउँमा छौँ । अहिले यहाँ एउटा अस्थायी आवास बनाउँदै छौँ । अस्थायी आवास कसरी बनाउने भनेर जनतालाई सिकाउने गरी काम भइरहेको छ,’ पोखरेलले भने ।

स्थानीय सामग्री प्रयोग गरेर आवास बनाउने काम भइरहेको उनको भनाइ छ । महामन्त्री थापाको टोली आज चिउरी गाउँमा एउटा बनाइदिएर भोलि खलंगामा एउटा आवास बनाउने योजनामा छ ।

‘अस्थायी आवासका लागि २५ हजारको बाहिरी सामग्री लाग्ने रहेछ,’ पोखरेल भन्छन्, ‘बाँकी स्थानीय सामग्री प्रयोग गर्न सकिन्छ । सरकारले तत्काल २५ हजार दिँदा पनि अस्थायी आवास बनाउन सकिने अवस्था छ ।’

gagan thapa jajarkat1

पोखरेलका अनुसार जाजरकोटमा मात्र करिब १० हजार घर बस्न नमिल्ने गरी भत्किएका छन् । तत्काल १० हजार अस्थायी आवास बनाउनुपर्ने छ । घर बनाउन एक–दुई वर्ष लाग्ने उनको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा राहत चरम अभाव नभए पनि वितरणमा राजनीतिक प्रभाव देखिएको उनले सुनाए ।

‘बाहिर आएजस्तो राहत सामग्री नै पुगेको छैन भन्ने होइन । राहत सामग्री आएको छ । जिल्लामा एकद्वार प्रणाली अपनाउनु भएको छ,’ उनी भन्छन्, ‘राहत वितरणमा केही राजनीतिक प्रभाव देखिन्छ । वडाध्यक्ष जितेको पार्टीको प्रभाव बढी देखिन्छ । जिल्लामा राम्रै गरे पनि वडासम्म पुग्दा कताकति वितरणमा भेदभाव देखिन्छ । वडामा सबै दलका मान्छे हुँदा धेरै गडबडी हुन पाएको छैन ।’

६५ वटा घर भएको वडामा ३५ घरका लागि मात्र राहत आउँदा वितरणमा समस्या देखिएको पोखरेलको भनाइ छ । ‘कसलाई दिने, कसलाई नदिने भन्ने समस्या छ । यहाँ अहिले पाल र अस्थायी आवास मुख्य आवश्यक छ । केन्द्र र प्रदेश सरकारले तुरुन्तै पाल पुर्‍याइदिनुपर्‍यो,’ उनी भन्छन् ।

प्रदेश सरकारले स्थानीय सरकारलाई अगाडि राखेर एउटा विज्ञ टोली बनाएर अस्थायी आवास बनाउन केन्द्रित हुनुपर्ने उनी सुझाउँछन् ।

साथै बालबालिकाका लागि मनोपरामर्शको आवश्यकता रहेको पोखरेलले औँल्याए । ‘घर भत्किएको छ, मान्छे मरेको छ । बालबालिकामा ठुलो मनोवैज्ञानिक असर देखिन्छ । भयभीत र त्रसित रहेको पाएका छौँ,’ उनले भने, ‘बालबालिकाका लागि मनोपरामर्शको आवश्यकता छ ।’

gagan gobind

भूकम्प प्रभावित क्षेत्रमा औषधि उपचार राम्रो भएको उनले सुनाए । ‘स्वास्थ्यको अहिले आवश्यकता छैन । तर, अब चिसो बढ्दै गएकाले पालमा बस्ने मान्छेहरू बिरामी हुन सक्छन् । तिहारपछि अवस्था झन् अप्ठ्यारो हुँदै जान्छ । रुघाखोकी, निमोनिया, झाडापखालाको जोखिम देखिन सक्छ । यसमा ध्यान दिनुपर्ने अवस्था छ,’ उनले भने ।

२०७२ सालको भूकम्पले जाजरकोटमा उद्धार, राहत, अस्थायी आवास र पुनर्निर्माणबारे पाठ सिकाएको पाइएको पोखरेलको भनाइ छ । ‘२०७२ सालको भूकम्पको प्रशासनिक र नेताहरूको सिकाइले यहाँ मद्दत गरेको छ । एकद्वार प्रणाली अपनाउने, अस्थायी आवासमा बनाउने र पुनर्निर्माणको कामबारे सजग पाएका छौँ,’ पोखरेल भन्छन्, ‘२०७२ मा घरहरू एक–दुई महिनामै बनाउनुपर्छ भन्ने थियो । घर बनाउन एक–दुई वर्ष लाग्छ भन्ने अनुभव छ ।’

भूकम्प प्रभावित क्षेत्रमा नेताहरूका कारण यहाँको गतिविधिमा केही अवरोध नभएको उनले बताए । ‘प्रशासनले गरेका सर्वदलीय बैठकमा सहभागी भएर हामीले सुनिरहेका छौँ । हामीले छुट्टै समय लिएर अपडेट माग्ने गरेका छैनौँ । गाउँ–गाउँ गएर मान्छेहरू भेटेका छौँ,’ उनले भने ।

bishwaprakash 1

उनका अनुसार स्थानीय प्रशासनसँग संसदीय समिति बाहेकलाई छुट्टै समय कसैले लिएका छैनन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति जाजरकोट पुगेको थियो ।

‘नेताहरू आ–आफ्नो ढङ्गले आउने–जाने गर्नु भएको छ । त्यसले राहत वितरणमा कुनै अवरोध गरेको छैन । बरु राहत नपुगेको ठाउँमा पुगेर प्रशासनको ध्यानाकर्षण गराइरहेका छन्,’ पोखरेलले भने ।

उनका अनुसार स्थानीय सरकारको नेतृत्वमा विभिन्न दलका कार्यकर्ताहरू राहत वितरणमा परिचालन भएका छन् । ‘प्रभावित क्षेत्रमा सबैजसो राजनीतिक दलको सार्वजनिक उपस्थिति देखिएको छ । हामी शनिबार काठमाडौँ आइपुग्छौँ,’ उनले भने ।

जाजरकोटमा भूकम्प गएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू शक्ति बस्नेत, प्रकाश ज्वाला, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने, पूर्वमन्त्री जनार्दन शर्मा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नेतृत्वको टोली पनि प्रभावित क्षेत्रमा पुगेको छ ।

एमालेका उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायत पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेर फर्किएका छन् । उपप्रधानमन्त्री खड्का भने भूकम्प प्रभावितहरूको उचित व्यवस्थापन गरेर मात्र काठमाडौँ फर्किने उनको सचिवालयले जनाएको छ ।

कात्तिक १७ गते राति गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने हजारौँ घरमा क्षति पुगेको छ । घटनामा सयौँ मानिस घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप