शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको सांसदहरुको आरोप

शुक्रबार, २४ कात्तिक २०८०, १९ : ३०
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । 

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैंठकमा बोल्दै अधिकांश सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन् । सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए । उनीहरुले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा समेत अर्थमन्त्री लगायत सरकारका सबै मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको बताए । सांसदहरुले सरकारले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मकदेखि पनि अर्थतन्त्रमा संकट रहेको बताएका छन् । 

त्यस्तै सांसदहरुले सरकारमा बस्ने प्रधानमन्त्री र अर्थमन्त्री बीचमा नै अर्थतन्त्रका विषयमा एक रुपता नदेखिएको बताए । उनीहरुले सरकारले निर्माण व्यवसायीहरुलाई गर्नु पर्ने भुक्तानी समेत दिन नसक्नु अर्थतन्त्र मन्दीमा गएको संकेत रहेको उल्लेख गरे । 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार हुँदै आएको र जथाभाबी बोल्दा मनोबल कमजोर हुन्छ भने पनि अहिले मन्तव्य सुधार गर्नेभन्दा पनि अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए । उनले मानिसहरुको मन्तव्य सकारात्मक भए पनि मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताए । उनले अर्थतन्त्रका बारेमा सकारात्मक कुरा गर्दैमा तथ्य नलुक्ने बताए । उनले अर्थतन्त्रका विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीकै फरक–फरक कुरा आउने गरेका बताए । उनले प्रधानमन्त्री नेपालमा अर्थतन्त्र समस्या छ भन्ने तर त्यही सकारका विभागीय अर्थमन्त्री बेलायत पुगेर राम्रो छ भन्ने कुरामा कसको कुरा पत्याउनु ? भन्दै प्रश्न गरे । 

पूर्वअर्थमन्त्री पौडेलले प्रधानमन्त्री समस्याग्रस्त भएको अर्थतन्त्र सुधार गर्न तिहारपछि गोलमेच सम्मेलन गर्छु भन्नु अर्थमन्त्री र प्रधानमन्त्रीबीच भेट नभएको जस्तो लागेको उल्लेख गरे । उनले अर्थमन्त्री र प्रधानमन्त्रीबीच भेट नभएको हो भने मन्त्री र प्रधानमन्त्री भेट्न अर्थ समितिले सिफारिस गरेर पठाउने भन्दै  व्यंग्य गरे । उनले प्रधानमन्त्री गोलमेच सम्मेलन गर्छु भन्दै हिँड्ने गरेको र अर्थमन्त्री लगानी सम्मेलन गर्ने सरकारका फरक–फरक कार्यक्रम गर्न लागेको देखिएको बताए । उनले विद्युतीय सवारीका कारण राजस्व घट्यो भनेर सरकारले पार नपाउने भन्दै आगामी दिनमा विद्युतीय गाडीको आयात बढाउने नीति लिन सुझाव दिए ।

बैठकमा बोल्दै कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र संकटमा परेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्याको जवाफ अर्थमन्त्रीले मात्रै नभएर समग्र सबैले दिन नसके मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताए । उनले पछिल्लो समय नेपालको कमजोर आर्थिक वृद्धिदर, बढ्दो मूल्य वृद्धि रहेको बताए । उनले मुलुकको अर्थतन्त्र आत्मनिर्भर हुनुपर्छ भने पनि आत्मनिर्भर अर्थतन्त्रमा जान नसकेको बताए । 

पूर्वअर्थमन्त्री कार्कीले देश विकासमा सबैको ध्यान जानुपर्ने समय भएपनि त्यस्तो नभएको गुनासो गरे । उनले अहिले ऋण बढ्दै गएको तर त्यसले उत्पादन दिन्छ कि दिँदैन भन्नेमा ध्यान नदिइएको बताए । उनले साना तथा मझौला उद्योगमा विश्वासको अभाव रहेको बताए । उनले नेपाल आउने पर्यटकबाट उठ्ने पैसाभन्दा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा लाग्ने खर्च बढेको भन्दै सरकार यसतर्फ सचेत रहनुपर्ने बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकता लिए अर्थनीति सुधार गर्न आवश्यक रहेको बताए । उनले बजेट कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्रीसँग अति बढी अपेक्षा भएपनि विगतका मन्त्रीको जस्तै अवस्था देखिएको बताए । उनले अर्थतन्त्रका बारेमा जानेको अर्थमन्त्रीले ल्याएका बजेटमा दिएको केही उधारो समर्थन फिर्ता गर्नुपर्ने अवस्था देखिएका बताए । उनले भूकम्पले पारेको क्षेतीलाई हलुका रुपमा हेर्नु नहुने बताए । उनले नियमनकारी निकायहरु बीमा प्राधिकरण र धितोपत्र बोर्डले डरलाग्दो सेटिङमा देश गाँजिएको खबर बाहिर आएको बताए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप