सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

कहिले आउँछ काठमाडौँमा मेलम्चीको पानी ?

आयोजना स्थलमा पुग्न बल्ल बाटो बनाउने तयारी
शनिबार, २५ कात्तिक २०८०, ०९ : ०६
शनिबार, २५ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँ बासीले वर्षौ लामो पर्खाइपछि मेलम्चीको पानीको स्वाद चाख्न पाए पनि बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण फेरि अन्यौलता बढेको छ । 

दुई वर्ष अघि मेलम्ची खोलामा आएको बाढी पहिरोका कारण आयोजना स्थलमा ठुलो क्षति पुगेको थियो । क्षति भएको १० महिनापछि गत जेठमा अस्थायी बाँध बनाएर एक महिना काठमाडौँमा पानी आएको थियो र त्यसपछि वर्षात् सुरु भएसँगै गत असारदेखि रोकिएको पानी अब कहिले आउँछ अझै टुङ्गो छैन । 

यो वर्षपनि बाढी पहिरोका कारण आयोजना स्थलमा ढुङ्गा, बालुवा, गिटी थुप्रिएको र आयोजनास्थलसम्म पुग्ने बाटो पनि बाढीले बगाएकोले काठमाडौँ पानी आउने विषय अनिश्चित भएको हो । 

खानेपानी मन्त्रालयले एक साता अघि मेलम्ची खानेपानी विकास समितिमा इन्जिनियर जाक्की अहमद अन्सारीलाई कार्यकारी निर्देशक बनाएर पठाएको छ । मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको काम सुरु गर्नका लागि नयाँ कार्यकारी प्रमुख पठाएको बताइन । 

वर्षात्को समय सकिएकोले अब काम अघि बढ्ने, हेलम्बु गाउँपालिकासँग समन्वय गरेर बाटो बनाउने र पहिलेकै निर्माण व्यवसायी सिनो हाइड्रोलाई नै काम गराउन लागिएको उनले बताइन् । 

यो वर्षपनि बाढी आएका कारण आयोजना स्थलमा मर्मत संभारको काम गर्नुपर्ने अवस्था रहेको प्रवक्ता श्रेष्ठले जनाइन् । 

उनले भनिन्–‘यो वर्षहिउँदमा काठमाडौँमा पानी आउँदै नआउने भन्ने त होइन । पहुँचमार्ग बनाएर काम सुरु गरेको एक महिनामै पानी आउँछ भनेर मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुले भन्नुभएको छ । अहिले पहुँचमार्ग बन्दैछ ।’ 

एसियाली विकास बैंकको विज्ञ समूहले मेलम्ची खानेपानी आयोजनालाई दिगो भरपर्दो बनाउन छोटो समयका लागि गर्नुपर्ने काम, मध्यमकालीन काम र दीर्घकालीन समस्या समाधानका बारेमा प्रतिवेदन दिएको थियो । 

दीर्घकालीन समस्या समाधानका लागि टनेलको मुखअहिले भएको भन्दामाथि सार्न सुझाव दिइएको छ ।  त्यसको अध्ययन भइरहेको र अहिले नै त्यसको कार्यान्वयन गर्ने बारेमा निर्णय भई नसकेको मन्त्रालयले जनाएको छ । 

पुस १५ सम्म पानी पठाउँछौँ : कार्यकारी निर्देशक अन्सारी
गतसाता मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका इन्जिनियर ज्याक्की अहमत अन्सारीले तिहारलगत्तै निर्माण व्यवसायी र उपभोक्ता समितिलाई परिचालन गरेर आयोजना स्थलसम्म पुग्ने बाटो बनाउने तयारी गरेको जानकारी दिएका थिए । 

आयोजना स्थलमा १० मिटर गरिराईसम्म ढुङ्गा, बालुवा थुप्रिएकोले त्यसलाई हटाएर अस्थायी रुपमापानी पठाउने योजना बनाएको उनले बताए । स्थानीयवासीले पनिक्षति पूर्तिको माग गरेको र उनीहरुको समस्या समाधान गर्नुपर्ने अन्सारीको भनाई छ । 

‘बाढीका कारण आयोजना स्थलसम्म पुग्नका लागि बाटो बनाउनुपर्ने छ । पहुँचमार्ग बनाएर आयोजना स्थलमा १० मिटर ढुङ्गा, गिटी, बालुवाले पुरिएको छ, त्यसलाई हटाएर पानी पठाउने काम गर्नुपर्नेछ,’उनले भने–‘मुख्य टनेल सफा छ तर पानी पठाउने डाइभर्सन टनेलपनि सफा गर्नुपर्नेछ । हामीले काम सुरु गरेको डेढमहिनाभित्र काठमाडौँमा पानी पठाउन सकिन्छ । तिहारलगत्तै काम सुरु गर्दैछौँ ।’

कार्यकारी निर्देशक अन्सारीले पुस १५ सम्ममा काठमाडौँमा पानी पठाउन सकिने अनुमानका साथ काम अघि बढाउन लागिएको बताए । आयोजना स्थलमापुग्ने बाटो चार–पाँच ठाउँमा निकै बिग्रिएको र बाटो बनाएपछि आयोजनास्थलमा निर्माण उपकरण र सामग्री लैजान सहजहुने उनले बताए । सुरुमा बाटो निर्माण नसकीकन अरु काम हुन नसक्ने उनको भनाई छ । 

मेलम्चीबाट बाह्रै महिना पानी पठाउनका लागि दीर्घकालीन समस्या समाधानको काम पनि अघि बढाउन लागिएको अन्सारीले जानकारी दिए । 

एसियाली विकास बैंकले गरेको सिफारिस कार्यान्वयनका लागि प्राविधिक टोली गठन गर्ने उनले बताए । प्राविधिक टोलीले दिएको सुझावका आधारमा दीर्घकालीन रुपमा काठमाडौँमा पानी पठाउने कामको सुरु गरिने तर त्यसअघि अहिले भएको बाँध स्थल मर्मत गरेर पानी पठाउने अन्सारीले जानकारी दिए । 

मुहान सार्न ४ अर्ब खर्च प्रस्ताव
मेलम्चीमा हरेक वर्ष बाढी पहिरोको समस्याका कारण पानी ल्याउन समस्या हुने भएपछि त्यसको दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकले अध्ययन गरेर एक प्रतिवेदन तयार पारेको छ । 

सोप्रतिवेदनमा काठमाडौँ पानी पठाउने दीर्घकालीन समाधानका लागि हालको पानी पठाउने ठाउँभन्दा ७ सय मिटर माथिनयाँबाँधबनाउन प्रस्ताव गरेको छ । त्यसकालागि ४ अर्ब हाराहारी खर्च लाग्ने पनि प्रस्ताव गरिएको छ ।  

मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजना स्थलमा एउटा थप टनेल थप्न सुझाव दिइएको छ । दीर्घकालीन समाधानका लागि नयाँ ठाउँमा हेडवक्र्स बनाउन सुझाव दिइएको हो । 

एडिबीले गरेको अध्ययनमा अर्को ठाउँमा हेडवक्र्स बनायो भने पहिरोको असर, बाढीको असरलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा विभिन्न सुझाव दिइएको छ । दुई वर्ष अघि २०७८ सालको असारमा मेलम्चीमा भिषण बाढी पहिरोले क्षति पुर्याएपछि एडिबीले क्षति रोक्ने उपायका लागि अध्ययन थालेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप