शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

तीन क्विन्टल गाँजा नष्ट

शनिबार, २५ कात्तिक २०८०, १६ : ५३
शनिबार, २५ कात्तिक २०८०

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले चालु आर्थिक वर्षको चार महिनामा बरामद भएको करिब साढे तीन क्विन्टल गाँजा प्रहरीले नष्ट गरेको छ । इप्रका रानीले शनिबार विराटनगर–६ स्थित डम्पिङ साइटमा आगो लगाएर बरामद गरेको गाँजा नष्ट गरेको हो । 

चालु आर्थिक वर्षको साउनदेखि भदौसम्म इप्रका रानीले विभिन्न मितिमा करिब ३ क्विन्टल गाजा बरामद गरेको थियो । बरामद गरेको गाँजा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय र सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप वेल्वासेले जानकारी दिए । 

पहाडी जिल्लाबाट गाँजा तस्करी भएर भारत जाने गर्दछ । तस्करको समूहले धनकुटा र भोजपुरदेखि भारत लैजान लागेको गाँजा प्रहरीले बरामद गरेको थियो ।  यसरी बरामद गरेको गाँजा राखेर सामूहिक रूपमा नष्ट गरेको प्रहरीले जनाएको छ । 

सिमावर्ती प्रहरी युनिटको तथ्यांकले लागूऔषधको अवस्था भयावह बनिरहेको देखाउँछ । पछिल्लो ३ वर्षको तथ्यांक विश्लेषण गर्दा लागूऔषधसँग सम्बन्धित मुद्दा बढेको पाइएको छ । लागूऔषधका मुद्दा बढ्नुले यसको कारोबार र ओसारपसारसँगै सेवनकर्तासमेत बढेको निष्कर्षमा प्रहरी पुगेको छ ।

इप्रका रानी आर्थिक वर्ष २०७९/०८० मा विभिन्न अपराधसँग सम्बन्धित ३ सय २२ वटा मुद्दा दर्ता भएको अभिलेखमा देखिन्छ  । एक वर्षमा ३२२ वटा मुद्दा दर्ता भएको मध्ये लागूऔषधसँग सम्बन्धित मात्रै २ सय ७ वटा छन् । जुन प्रतिशतको हिसाबले ६४.२८ प्रतिशत हुन आउँछ । प्रहरी हिरासत सधैँ जसो लागूऔषध सम्बन्धी मुद्दाका थुनुवाले नै भरिने गरेको छ । 

रानीबाट आर्थिक वर्ष २०७८/०७९ मा लागूऔषधसँग सम्बन्धित १ सय ९३ वटा मुद्दा दर्ता भएको थियो । २०७७÷०७८ मा १ सय १ वटा मुद्दा दर्ता भएका थिए । सीमा क्षेत्रमा लागूऔषधको तुलनामा अन्य अपराधसँग सम्बन्धित मुद्दा कम छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप