सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विमानस्थल

हवाई पूर्वाधारमा मनोमानी : विराटनगरबाट ४० किलोमिटर दूरीमा किन चाहियो अर्को विमानस्थल ?

आइतबार, २६ कात्तिक २०८०, १३ : ०७
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा आफ्नो जिल्ला, पालिका, वडा र टोल–टोलमा विमानस्थल बनाउने माग चलिरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले आफ्नो फेसबुक र एक्समार्फत सरकारसँग टोल–टोलमा विमानस्थल बनाउने योजना अघि बढाउन माग गरिरहेका छन् ।

सरकारले धरानमा आन्तरिक विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने लक्ष्यसहित समिति गठन गरेपछि समाजिक सञ्जालमा विमानस्थल माग गर्नेको होड चलेको हो ।

धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्ने लक्ष्यसहित नागरिक उड्डयन प्राधिकरणले एक अध्ययन समिति गठन गरेको छ । यो समितिले धरानमा विमानस्थल बनाउने/नबनाउने भन्ने विषयमा अध्ययन प्रतिवेदन बुझाएपछि निर्माण कार्य अघि बढ्छ ।

सरकारको यही निर्णयपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यङ्ग्यत्मक ढङ्गबाट सामाजिक सञ्जालमा सरकारमाथि जथाभावी विमानस्थल नबनाउन दबाब सिर्जना गरिरहेका हुन् ।

सुनसरीको धरान उप–महानगरपालिका मोरङको विराटनगरपालिकाबाट करिब ४० किलोमिटरको दूरीमा छ । सडकमार्गबाट विराटनगरबाट धरान जान ४० देखि ५० मिनेट समय लाग्छ । धरानमा बन्ने भनिएको विमानस्थल र सञ्चालनमा रहेको विमानस्थलबिचको दूरी छोटो हुने भएपछि सरकार चौतर्फी आलोचनाको सिकार बन्नुपरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशन बमोजिम विमानस्थल निर्माणको अध्ययन टोली गठन हुँदा स्वाभाविक रुपमा मन्त्री किराती आलोचनाको केन्द्रमा छन् ।

हाल देशमा आन्तरिक तथा अन्तर्राष्ट्रिय गरेर ५६ वटा विमानस्थल छन् । यसमध्ये ३ वटा अन्तर्राष्ट्रियसहित कुल ३४ वटा विमानस्थल सञ्चालनमा छन् । १८ वटा विमानस्थल बन्द अवस्थामा छन् भने थप ४ वटा विमानस्थल निर्माणाधीन अवस्थामा छन् ।

सञ्चालनमा रहेका ३४ मध्ये पनि दुई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा र भैरहवा गरी) १६ वटाभन्दा धेरै विमानस्थल पूर्णरुपमा घाटामा छन् ।

प्राधिकरणको गत वर्षको तथ्याङ्कअनुसार मोरङ र सुनसरीकै छिमेकी जिल्ला इलाममा रहेको विमानस्थलसमेत बल्लबल्ल नाफामा छ । पछिल्लो तथ्याङ्कअनुसार उक्त विमानस्थलले जम्मा ९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसबाहेक, पूर्वी क्षेत्रमै अवस्थित ताप्लेजुङ विमानस्थल भने घाटामा छ । पूर्वका ताप्लेजुङ, इलाम, झापा र मोरङमा जिल्लैपिच्छे विमानस्थल छन् ।

के भन्छन् विज्ञ ?

पूर्वाधारविद् डा. सूर्यराज आचार्य विकासको निश्चित सोच/योजना नहुँदा औचित्यबिनाका भौतिक संरचना निर्माणलाई नै विकास मान्ने अवस्थामा पुगिने बताउँछन् । योजनाबिनाको विकासलाई अघि बढाउने शैली अन्तर्गत नै धरानमा विमानस्थल बनाउने योजना अघि बढेको उनको भनाइ छ । यसबाट राज्यका सबै निकाय बेकामे देखिएको डा. आचार्यले बताए ।

उनले मन्त्री किरातीले धरानमा विमानस्थल निर्माणको अध्ययन समिति गठनका लागि निर्देशन दिनै नहुनेमा जोड दिन्छन् । मन्त्री किरातीले धरानमा विमानस्थल बनाउनुपर्छ भनेर अघि बढेको अवस्थामा समेत कर्मचारीले आवश्यक नपर्ने विषयमा जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

सरकारको पछिल्लो कदमबाट सरकार र सरकारी संयन्त्रले राम्रोसँग काम नै गर्न नसकेको पुष्टि हुने बताउँछन् ।

पूर्वाधारविज्ञ तथा नेपाल इन्टरमोडल तथा यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल हवाई पूर्वाधारमा सरकार बिनायोजना अघि बढिरहेको बताउँछन् । ‘मास्टरप्लान नहुँदा नेतालाई मन लागेकै भरमा विमानस्थल बनाउँदै अघि बढेका छौँ,’ उनले भने, ‘धरान अहिले थपियो । यसअघि सिन्धुली र तेह्रथुममा पहिलादेखिको योजना छ ।’

विराटनगरमा सञ्चालनमा रहेको विमानस्थललाई नै ठुलो र व्यवस्थितरुपमा अघि बढाउनुपर्नेमा धरानमा विमानस्थल थप्न नहुने गजुरेलको भनाइ छ ।

‘विराटनगरलाई समेत क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा अघि बढाउने भनेर लगानी बोर्डले काम गरिरहेको छ,’ उनले थपे, ‘पोखरा र भैरहवाको अनुभवले समेत गहिरो अध्ययन गरेर विमानस्थल निर्माणको निर्णय लिनुपर्छ ।’

अहिलेको तरिकाले विमानस्थलमा हचुवा लगानीको योजना अघि बढाएमा अर्थतन्त्र पूर्णरुपमा धराशायी हुने जोखिम रहेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप