मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
तिहार

भाइटीकामा मसलाका रूपमा दाजुभाइलाई ‘ड्राइ फ्रुट’ दिन विज्ञको सुझाव

मङ्गलबार, २८ कात्तिक २०८०, १० : ५१
मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौँ । नेपालीको दोस्रो ठुलो पर्व तिहारमा दिदीबहिनीहरूले दाजुभाइलाई टीका आशीर्वादसँगै प्रशस्त मात्रामा मिठा मिठा खानेकुराका परिकार दिने गर्छन् । तिहारमा धेरै थरीका मिठाइका परिकारहरू पनि खुवाउने चलन छ । 

बजारमा पाइने विभिन्न थरीका मिठाइमा विभिन्न मिश्रण भएकाले स्वास्थ्यका लागि फाइदाजनक नभएको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाका पूर्वप्रमुख केदार पराजुली बताउँछन् ।

‘घरमै मिठाइ बनाउने चलन कम हुँदै गएको छ । बजारमा पाइने मिठाइको गुणस्तर पनि कम हुँदै गएकाले आशीर्वादसँगै बजारिया मिठाइ नखाएकै बेस,’ उनको भनाइ छ ।

बजारमा तिहारको समयमा रंगीविरंगी आकर्षक धेरै प्रकारका मिठाइ पाइन्छ । ती मिठाइ देख्दा आकर्षक भएपनि स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भएकाले सचेत हुन उनको सुझाव छ ।

प्याकिङ गरिएका मिठाइ धेरै चिल्लोयुक्त हुन्छ । यस्ता परिकार धेरै खाँदा कोलेस्टोर लगायतका स्वास्थ्य समस्याले सताउने तथा दीर्घकालीन असर गर्ने उनको भनाइ छ । 

तिहार भनेकै दिदीबहिनीले दाजुभाइको सु–स्वास्थ्य दीर्घायुको कामना गर्ने पर्व हो । त्यसैले, दाजुभाइलाई अस्वस्थकर खानेकुरा तथा मिठाइ दिनुको साटो सुक्खा खानेकुरा ड्राइ फ्रुटका रूपमा चिनिने काजु, बदाम, किसमिस, ओखर, छोगडा, नरिवल, सुकमेललगायत भाइ मसलाका रूपमा दिन उनको सुझाव छ । 

ड्राइ फ्रुट स्वास्थ्यका लागि उपयोगी छ । यो सन्तुलित आहारको एक अंश हो । ड्राइ फ्रुट सकेसम्म नियमित खान पनि उनको सुझाव छ । 

‘तर ड्राइ फ्रुट एकै पटक धेरै मात्रामा खान हुँदैन । एकै पटक धेरै मात्रामा खाँदा ग्यास्ट्रिक, कब्जियत, झाडापखाला लगायतका समस्या आउन सक्छ । त्यसैले मिलाएर खानुपर्छ ।’ उनले भने ।

ड्राइ फ्रुटमध्ये काजु भिटामिन ईको स्रोत हो, जसको सेवनले छाला स्वस्थ राख्छ । यस्तै, काजुले कोलेस्ट्रोल, सुगरदेखि उच्च रक्तचाप नियन्त्रणमा पनि सहयोग गर्छ । 

यस्तै, बदामबाट प्रोटिन, एसिड र फाइबर पाइन्छ भने हेमोग्लाबिनको मात्रा बढाउनसमेत सहयोग गर्छ । 

नियमित रूपमा ड्राइ फ्रुटको सेवनले महिलाहरूलाई स्तन क्यान्सरबाट टाढा राख्न पनि सहयोग गर्छ । यसको अलावा छालाको क्यान्सर, पाचन यन्त्रलाई राम्रो बनाउने, शरीरलाई चाहिने भिटामिन ए, पोटासियम, आइरन, फस्फोरस लगायतका तत्त्वहरू पाइने अध्ययनले देखाएको छ । 

यस्तै, ड्राइ फ्रुट सेवन गर्दा आँखा तेजिलो राख्नुका साथै छालालाई राम्रो देखाउने र दाँतमा लाग्ने विभिन्न किसिमका रोगबाट पनि बच्ने सहयोग गर्ने बताइएको छ । 

हार्वर्ड मेडिकल स्कुलका अनुसार धेरैजसो ड्राई फ्रुटमा स्याचुरेटेड फ्याट हुन्छ तर ओखरमा पोलिस्याचुरेटेड फ्याटका साथै ओमेगा थ्री फ्याटी एसिड जुन अन्य कुनै पनि ड्राई फ्रुटमा एकै पटक पाइँदैन । 

ओखरमा अल्फा लिनोलेनिक र लिनोलेनिक एसिड हुन्छ जुन एन्टी–इन्फ्लामेटरी हुन्छ । ओखरको सबैभन्दा ठुलो फाइदा हृदयाघात हुन निकै कम गर्न सक्छ । ओखर सेवनले मुटुका सबै प्रकारका रोग लाग्ने खतरा पनि कम गर्छ ।  

यस्तै, हार्वर्ड मेडिकलले अघिल्लो २६ अध्ययनको तथ्याङ्क विश्लेषण गर्‍यो, जसमा हजारभन्दा बढी मानिसमाथि परीक्षण गरिएको थियो । यसबाट पत्ता लाग्यो कि ओखरको सेवनले कुल कोलेस्ट्रोललाई ७ मिलिग्राम प्रति डेसीलिटर भन्दा कममा ल्याउँछ ।

त्यसैले, ड्राइ फ्रुट नियमित सेवन गर्ने बानी नभएकाहरूले दिदीबहिनीहरू दिएको भाइमसलाबाट सुरु गरी नियमित सेवन गर्दा धेरैथरी स्वास्थ्य समस्यालाई कम गर्न सकिने पूर्व प्रमुख पराजुलीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप