शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
जुवाडेमाथि प्रहरी कारबाही

दसैँमा भन्दा तिहारमा दोब्बर जुवाडे पक्राउ

बरामद पैसा के हुन्छ ?
शुक्रबार, ०१ मङ्सिर २०८०, २० : ०१
शुक्रबार, ०१ मङ्सिर २०८०

काठमाडौँ । नेपाली सेनाका पूर्वउपरथी होम लावती कात्तिक २८ मा जुवा खालमा भेटिए । ललितपुरको हात्तिवनस्थित क्लासिक टावरमा जुवा खेल्दै गरेका लावतीलाई ललितपुर प्रहरीले पक्राउ गरेर ‘जुवा खेल्न नहुने’ कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरेको छ । 

दसैँ र तिहारको सिजन जुवा खेल्नेहरूलाई ‘उर्वर सिजन’ मानिन्छ । अझै दसैँमा भन्दा तिहारको समयमा जुवा मौलाएको तथ्याङ्कबाट देखिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार दसैँमा भन्दा तिहारमा दोब्बर जुवाडेहरू पक्राउ परेका छन् । 

दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा देशभरबाट १६० जना जुवाडे पक्राउ परेका थिए । तिहारमा पक्राउ पर्ने जुवाडेहरूको सङ्ख्या दोब्बर भएको छ । तिहार अवधि (कार्तिक २५ देखी ३० सम्म) देशभरबाट ३६९ जना जुवाडेहरूलाई पक्राउ गरेर कानुनी कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्म देशभर सञ्चालित २१ वटा जुवा खालबाट प्रहरीले ३१ लाख ६ हजार ३१९ रुपैयाँ नगद बरामद गरेको छ । तिहारको समयमा जुवा खालबाट ५३ लाख ८७ हजार ९६१ रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कबाट देखिन्छ । 

  Capture

तिहार शुरु भएपछि कार्तिक २५ देखि ३० सम्मको अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै जुवाडे पक्राउ परे । बागमती प्रदेशका जिल्लाहरूबाट ९५ जना जुवाडेहरूलाई पक्राउ गरेका हुन् । 

जुवा खालबाट पक्राउ परेकाहरूलाई छुटाउन पनि ठुलो चलखेल हुने गरेको छ । कार्तिक २६ मा नागार्जुन नगरपालिका–३ स्थित एक धाराबाट प्रहरीले २२ जना कौडा खेलाडीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गैरआवासीय नेपाली संघमा आबद्ध टेकबहादुर कार्की र सञ्जय मुडभरी पनि थिए । इचंगुनारायण सामुदायिकका अध्यक्ष प्रताप दानी समेत नागार्जुनको कौडा खालबाट पक्राउ परेका थिए । 

प्रताप दानीलाई छुटाउन माओवादी केन्द्रका नेताहरू लागिपरेको प्रहरी अधिकारीहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्, ‘गैरआवासीय नेपाली संघमा आबद्ध मुडभरी र दानीलाई छाड्न निकै दबाब झेल्नुपरेको थियो ।’ दबाबपछि भाइटीकाको अघिल्लो दिन हाजिर जमानीमा छुटेका उनीहरूलाई शुक्रवार फेरि काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जनही २० हजार रुपैयाँ धरौटी माग गरेको छाड्न आदेश दिएको बताइएको छ । 

Captureबरामद पैसा के हुन्छ ? 

दसैँ र तिहारमा जुवा खालबाट प्रहरीले ठुलो रकम बरामद गर्ने गरेको छ । तिहारको अवधिमा देशभरबाट ५३ लाख ८७ हजार ९६१ रुपैयाँ बरामद गरेको छ । दसैँमा प्रहरीले खालबाट ३१ लाख ६ हजार ३१९ रुपैयाँ बरामद गरेको थियो । सबैभन्दा धेरै रकम काठमाडौँ उपत्यकाबाट बरामद गरिएको छ । 

जुवा खालबाट बरामद रकम सरकारले जफत गर्ने गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत त्यस्तो रकम जफत हुने बताउँछन् । रातोपाटीसँग बस्नेतले भने, ‘जुवा खालबाट बरामद रकम सुरुमा धरौटी खातामा बस्छ, मुद्दा फैसला भएपछि राजस्व खातामा जान्छ ।’ 

थुनछेक बहस हुँदा प्रमुख जिल्ला अधिकारीले तोक्ने धरौटी रकम मुद्दा फैसला हुँदा फिर्ता वा थप हुनसक्छ । तर, बरामद रकम चाहिँ जफत गर्ने गरिएको प्रजिअ बस्नेतले बताए । 

मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार  पहिलो पल्ट जुवा खेल्ने वा खेलाउनेको मुद्दा प्रमुख जिल्ला अधिकारीले सुनुवाइ गर्छन् । पहिलो पटक जुवा खेल्नेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । 

दोस्रो पटक जुवा खेलेको पुष्टि भएमा त्यस्ता जुवाडेहरूलाई अदालतमा पेस गर्नुपर्छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसुरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप