शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
१९ औँ राष्ट्रिय कफी दिवस

पोखरामा दिनमै पिइन्छ २५ लाखको कफी !

शुक्रबार, ०१ मङ्सिर २०८०, २२ : ०८
शुक्रबार, ०१ मङ्सिर २०८०

पोखरा । आर्थिक वर्ष २०७८/०७९ मा कास्की जिल्लामा २१ मेट्रिक टन कफी उत्पादन भएको थियो । जवकि गत आर्थिक वर्ष २०७९/०८० मा घटेर १९.३ मेट्रिक टन मा सीमित भयो। स्याङजाको उत्पादन पनि २० मेट्रिक टनबाट घटेर १८ मेट्रिक टन मात्रै भएको राष्ट्रिय चिया तथा कफी निर्देशनालय पोखराले जनाएको छ  ।

तनहुँमा समेत केही घट्दा तुलनात्मक रुपमा बागलुङ र गोरखाको उत्पादन बढेको निर्देशनालयको भनाइ  छ । ‘कफीले प्याटर्न फेरेको छ । एकवर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने प्याटर्न देखिएको छ । पहिले यस्तो थिएन,’ राष्ट्रिय चिया तथा कफी निर्देशनालय पोखराका नगेन्द्र सुवेदीले भने, ‘कफी उत्पादन घट्नुमा रोगकिरा र खेती विस्तार नहुनु पनि हो । गाउँमा किसान छैनन् । नयाँ फर्महरु पनि थपिएको छैन ।’

उनका अनुसार क्षेत्रफल बढी भएपनि उत्पादन पछिल्ला वर्षहरुमा खासै बढेको छैन । ‘मर्ने दर बढी सर्ने दर कम हुन्छ । क्षेत्र धेरै भएपनि उत्पादन नबढ्नुमा फल कम लाग्नु हो । त्यो भनेको हेरचाह नपुगेको भन्ने बुझ्नुपर्छ,’ उनले थपे, ‘फाट्टफुट्ट बाहेक व्यवसायिक किसान कफीमा आकर्षित भएका छैनन् ।’

 आव २०७८/०८९ मा बागलुङ र गोरखामा क्रमशः १ र ११.५ मेट्रिक टन उत्पादन भएकोमा बढेर पछिल्लो वर्ष ४.८ र १५ मेट्रिक टन उत्पादन भयो । लमजुङ, म्याग्दी, नवलपुर र पर्वतमा पनि सामान्य वृद्धि भएको छ । कफी खेती भने सबै जिल्लामा विस्तार भएको छ । गण्डकी प्रदेश कफी उत्पादनका हिसावले निकै उर्वर मानिन्छ । कफी उत्पादनमा गण्डकीको योगदान उल्लेख्य छ ।

यहाँका ९ जिल्लामा कफीको उत्पादन हुन्छ । १ हजार ८३ हेक्टरमा उत्पादन हुन थालेको छ । अघिल्लो वर्ष भन्दा ८ मेट्रिक टन उत्पादन बढेको छ भने १ सय २५ हेक्टरमा थप कफी खेती विस्तार गरिएको छ ।

यसअघि आव २०७८/०७९ मा ९ सय ५८ हेक्टरमा मात्रै खेती हुन्थ्यो भने ८२ मेट्रिक टनमात्रै उत्पादन भएको थियो । सबैभन्दा बढी कास्कीमा खेती हुने गरेको रेकर्ड छ । कास्कीमा १ सय ९७ हेक्टरमा १९.३ मेट्रिक टन कफी उत्पादन भएको कफी तथा चिया विकास बोर्ड पोखराले जनाएको छ ।

स्याङ्जा उत्पादनको हिसावले गण्डकीमा दोस्रो जिल्ला हो । यहाँ ३ सय ५४ हेक्टरमा कफी खेती हुन्छ  । मनाङ र मुस्ताङमा हालसम्म उत्पादन भएको छैन । गण्डकीमा उत्पादन भएकामध्ये स्याङजाको अधिकांश कफी जापान निर्यात हुन्छ । कास्कीका सबैजसो खपत पोखरामै हुने गरेको तथ्यांक छ ।

माछापुच्छ्रे अर्गानिक कफी सप्लार्यसले महिनामा २ हजार किलो कफी पोखरामै बेच्छ । सप्लायर्सकर्ता शोभाखर अधिकारी पोखरामा कफी कल्चर निकै बढेको बताउँछन् । ‘महिनामै १० वटासम्म कफी सप खुल्छन् ।

हाम्रो उत्पादनले हाम्रै बजारलाई पुग्दैन, विदेश सप्लाई गर्न सम्भव छैन,’ उनले भने, ‘हाम्रो पुस्ता टि कल्चरबाट कफी कल्चरमा आइसक्यो । युवापुस्ता यसैमा लागेका छन् । नेपालको उत्पादनले पुगेको छैन ।’ उनका अनुसार पोखरामा अहिले ५ सय वटा जति कफी सप छन् । दिनमा साढे २ सय किलो कफी खपत कम्तिमा हुन्छ ।

 ‘अहिले मार्केटमा विभिन्न ब्राण्डको कफी आएको छ । कम्पनीहरु खुलेका छन् । जिल्ला जिल्लामा रोष्ट गर्नेहरु छन्,’ उनी भन्छन्, ‘तर हिजोको भन्दा उत्पादन घटेको छ । देशमै उत्पादन भए बाहिरको किन ल्याउनुपर्ने छ र ?’ सरसर्ती हिसाव गर्दा पोखराको बजारमा दैनिक २५ लाख रुपैयाँ भन्दा बढीको कफी खपत हुन्छ ।

पोखरा र गण्डकी जस्तै नेपालमा आजभोलि कफीको माग उच्च छ । तर उत्पादन भने उल्लेख्य बढेको छैन । आर्थिक वर्ष २०७९/०८० मा देशभर ३९४ मेट्रिक टन विन कफी उत्पादन भएकोमा अघिल्लो वर्ष ३ सय ५४ मेट्रिक टन उत्पादन भएको थियो । खेती गर्ने क्षेत्रफल पनि केही बढेको छ ।

अघिल्लो वर्ष ३ हजार ३ सय ४३ हेक्टरमा खेती गरिएकोमा पछिल्लो वर्ष ३ हजार ६ सय ५५ हेक्टरमा विस्तार भएको छ । नेपालमा उत्पादित कफीले बजार नपाउने समस्या छैन । रोपण क्षेत्र पनि केही बढेको छ । तर अपेक्षाकृत बढेको छैन । गत आर्थिक वर्षमा ३ हजार ६ सय ५५ हेक्टर क्षेत्रमा कफी खेती गरिएकोमा अघिल्लो वर्ष चाहिँ ३ हजार ३ सय ४३ हेक्टरमा मात्रै कफी फल्थ्यो ।

कुल उत्पादनको करिव २० प्रतिशत विदेश निर्यात भएको छ । आयात निर्यातको अनुपात निकै असन्तुलित भएको छ । अघिल्लो वर्ष ७७ टन कफी निर्यात हुँदा ४ सय ५० टन आयात भएको छ । गत आव २०७८/०७९ को तथ्यांक अनुसार १२ करोड ७६ लाखको कफी आयात भएको थियो ।

२ सय ७९ मेट्रिक टन कफी आयात भएको हो । तर ११ करोड ७० लाखको ६९ मेट्रिक टन मात्रै निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार १३ करोड ४ लाख बराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाखको ४५० मेट्रिक टन कफी आयात भएको थियो ।

कफी बेचेर नेपालले १३ करोड ४ लाख आम्दानी गर्दा ३२ करोड ५८ लाखको कफी बाहिरबाट आयात गरेको छ । स्वाद र गुणस्तरको हिसावले अरु राष्ट्रको भन्दा नेपालको कफीले बढी मुल्य पाउन थालेको कफी विकास बोर्डले जनाएको छ ।

नेपाली कफी निर्यात हुँदा सरदर प्रति किलो १६ अमेरिकी डलर आउँछ । आयात मूल्यको तुलनामा तीन गुणा बढी निर्यात गरेर प्राप्त हुने बोर्डको भनाइ छ । आजभोलि नेपाली युवाहरुको प्राथमिकतामा कफी व्यवसाय पर्न थालेपछि झनै कफीप्रति आकर्षण बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप