बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवा विमानस्थल सञ्चालनको वातावरण बनाउन अध्यक्ष मल्लको आग्रह

बुधबार, ०६ मङ्सिर २०८०, १६ : ५७
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।  रुपन्देहीको भैरहवामा बुधबारदेखि सुरु छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बौँ रुपैयाँ लगानी जोखिममा परेको बताए । उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।’ 

विमानस्थल सञ्चालनसँगै गौतमवुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि , व्यावसायिक गतिविधि बढ्ला भनेर आसपासमा करोडौँ रुपैयाँ लगानी गरेकाहरूको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ, ।’  अर्को प्रसङ्गमा अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारी मार्फत भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । 

मुलुककै सबैभन्दा धेरै राजश्व सङ्कलन गर्ने भन्सार नाका मध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।  रुपन्देहीमा स्थानीय उद्योग, व्यापार, कृषि तथा पर्यटकीय गतिविधि विस्तारका लागि महोत्सव निकै फलदायी  भएको अध्यक्ष मल्लको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप