शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार एमाले प्रवेश गरेसँगै अलपत्र पुलहरु ‘भाइरल’

शुक्रबार, ०८ मङ्सिर २०८०, १६ : ५७
शुक्रबार, ०८ मङ्सिर २०८०

बुटवल । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टी प्रवेश गराएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले नयाँ ‘कन्टेन्ट’ पाएका छन् । खास गरी पप्पु कन्स्ट्रक्सनले लुम्बिनी प्रदेशमा निर्माणका लागि ठेक्का लिएका पुल वर्षौंदेखि अलपत्र छन् । रौनियार एमालेमा प्रवेश गरेलगत्तै ती अलपत्र पुलका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।

पप्पु कन्स्ट्रक्सनले रुपन्देहीको लुम्बिनी जाने डन्डा र तिनाउ पुल वर्षौंदेखि अलपत्र पारेको छ भने बर्दियाको जब्दीघाटको पुल भत्किँदा ठुलो क्षति भएको थियो । ती पुल अझै निर्माण सम्पन्न भएका छैनन् । ती पुलको तस्बिर राख्दै अहिले सामाजिक सञ्जालमा व्यङ्ग्य गर्न थालिएको छ ।

रुपन्देहीको तिलोत्तमा निवासी दिनेश पाण्डेयले सामाजिक सञ्जालमा भत्किएका र अलपत्र पुलको तस्बिर राख्दै विवादित व्यक्तिलाई पार्टी प्रवेश गराएको भनेर एमालेको आलोचना गरेका छन् ।

2-pul_yCH7y2Zhqp

भैरहवा–लुम्बिनी सडक खण्डमा तिनाउ र डन्डा गरी दुई वटा पुल छन् । ती पुल निर्माणको जिम्मा लिएको पप्पु कन्स्ट्रक्सले वर्षौंसम्म काम नगरेपछि अन्ततः नयाँ ठेकेदार कम्पनी रमण रियलहोम ईन्फोटेक जेभी ललितपुरलाई ठेक्का दिइएको हुलाकी सडक परियोजना कपिलवस्तुका सडक आयोजना प्रमुख विष्णुबाबु पाण्डेले रातोपाटीलाई बताए । उनले नयाँ ठेकेदारबाट केही प्रगति भएको बताए ।

5

लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने जब्दीघाट पुल पप्पु कन्स्ट्रक्सनको अर्को बदनामी पुल हो जुन कम गुणस्तरमा निर्माण गर्दा सम्पन्न भएको केही महिनामै नदीले बगाएको थियो ।

२०७४ साउनमा भासिएको उक्त पुल ०७६ असोज २० गते बबई नदीमा आएको बाढीले बगाएको थियो । पम्पु कन्स्ट्रक्सनले साढे १६ करोडभन्दा बढी लागतमा बनाएको पुल उदघाटन हुन नपाइ भासिएको ८ वर्ष बितिसक्दा समेत अझै निर्माण हुन सकेको छैन ।

IMG_5727_xaJeWeu0lp

हुलाकी सडकमा पर्ने यो पुल तत्काल निर्माण गर्नुपर्ने मागसहित पूर्व मन्त्री सञ्जय गौतम गत जेठ महिनामा अनसन बसेका थिए । उनीसँगै अनसनमा साथ दिएका स्थानीय सामाजिक अगुवा यमनाथ घिमिरेले पम्पुले बदमासीले अहिलेसम्म पुल नबनेको रातोपाटीलाई बताए ।

pul

यो पुल निर्माण भएको केही दिनमै भाँचिएपछि हरिनारायण र उनका छोरा सुमित लगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दासमेत दायर गरेको थियो । यसरी ठुला पुल निर्माणमा लापरवाही गरेका व्यक्तिलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएपछि एमालेभित्र युवाहरूले असन्तुष्टि पोखेका छन् ।

पप्पुलाई एमाले अध्यक्ष ओलीले स्वागत गरेकोमा व्यङ्ग्य गर्दै नेकपा एमाले रुपन्देहीका युवा नेता देवराज पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मान्छे स्वभावैले आफ्नो विरोध सुन्न सक्दैन, त्यसैले विरोध नगर, के भनिदिँदा खुसी हुन्छ, त्यही भन र आफ्नो काम निकाल । त्यसैले कमरेड पम्पु रौनियारलाई भव्य स्वागत गरौँ ।

sadak papu

रौनियार २०७४ मा भएको चुनावमा पर्सा–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोजमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित भएका थिए । तर दुई करोड धरौटी बुझाएर उनी सोही वर्ष फागुनमा रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप