शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कफीले बढाउँछ मस्तिष्कको एकाग्रता

आइतबार, १० मङ्सिर २०८०, ११ : १४
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । कफी यस्तो खालको पेय पदार्थ हो- जसको माग विश्वमा उत्पादन भन्दा धेरै हुने गरेको छ । पेयको रूपमा कफीलाई एउटा बेग्लै जादु भन्दा पनि हुन्छ । यसलाई केहीले तन–मनमा झनझनाहट र ऊर्जा पैदा गर्ने ‘लाइट सुनामी’ पनि भन्छन् । यसमा केही खुबी त पक्कै छ । नत्र त यो धेरै पिइनेमध्येको एक पेय कसरी बन्थ्यो होला र ? 

कफीको सबैभन्दा ठुलो विशेषता के हो भने यसले मस्तिष्कमा एकाग्रता पैदा गर्छ । यसको सेवनले दिल अनि दिमागमा एनर्जी भरिन्छ । यसको सेवनले धुमेह हुने खतरा पनि कम हुने बताइएको छ । कफीको सेवनले मुटु र कलेजो स्वस्थ रहने विश्वास पनि गरिन्छ  । 

तातो र चिसो, दुवै कफी शानदार 

कफीलाई एकदम तात्तातो मात्रै होइन चिऽऽऽसो पनि पिउन सकिन्छ । यो यस्तो फ्रुट पाउडर हो जसलाई कुनै पनि मिठाई, आइसक्रिम, केक अनि पुडिङमा समेत प्रयोग गर्न सकिन्छ । सामान्य हेरफेर गरेर एउटै कफीलाई सामान्य एस्प्रेसो कफी, इटालियन एस्प्रोसो, लात्ते, क्यापचिनो, अमेरिकानो, आइरिश, टर्किश आदि फरक फरक रूपमा ढाल्न सकिन्छ । 

गुणकारी कफीका अनमोल गुणहरू 

–कफीको सबैभन्दा ठुलो विशेषता यही हो कि यसले मस्तिष्कमा एकाग्रता पैदा गर्छ । दिमाग धेरै लगाउनु पर्ने काम गर्नेहरूले कफी धेरै पिउने कारण पनि यही हो । कफीबारे अनगिन्ती अनुसन्धान भएका छन् । केही अनुसन्धानका अनुसार अल्जाइमर्स, पार्किन्सससमेत स्नायु प्रणालीमा गडबडी भएर देखिने केही रोगबाट बच्न समेत कफीले मद्दत गर्न सक्छ । कफी पिउने व्यक्तिमा बाँच्ने इच्छा पनि प्रबल पाइएको छ । 

–कफीमा रहेको क्याफिन नै यसको सबैभन्दा ठुलो विशेषता हो । यो सेवनपछि शारीरिक र मानसिक गतिविधिमा सुधार आउँछ । कुनै पनि कामप्रति तपाईँको लगनशीलता बढ्छ । यसको सेवनपछि शरीरले तन र मनको थकानसँग लड्ने ऊर्जा पाइरहेको आभास हुन्छ । खेलकुदसँग सम्बन्धित व्यक्तिहरूले कफी सेवन गर्दा उनीहरूमा सामान्य मानिसभन्दा धेरै ऊर्जा पैदा हुने पनि अनुसन्धानले देखाएको छ । कफी सेवन गर्दा दोस्रो खालको मधुमेह विकसित हुने खतरा पनि कम हुने बताइन्छ । कफी एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसले जवान भएको आभास गराउँछ । 

–नियमित रूपमा कफी सेवनले शरीरमा बोसो बन्न दिँदैन । यसले वजनको वृद्धिमा अवरोध पैदा गर्छ । कफी सेवन गर्ने मान्छेमा अधिक कार्य गर्ने प्रवृत्तिको सञ्चार हुन थाल्छ । यो शरीरलाई फिट राख्न सहायक हुन्छ । यो दिमाग र शरीरमा सहनशक्ति बढाउन सहायक छ । कफी सेवन गर्दा मेटाबोलिज्म अर्थात् भोजनबाट ऊर्जा बन्ने प्रक्रियामा सुधार आउँछ । यही ऊर्जाले हामीलाई धेरै काम गर्न प्रेरित गर्छ । 

–कफीको सेवन मुटु र कलेजोको लागि लाभकारी मानिन्छ । कफीमा रहेको क्याफिनले रक्तचापको स्तरलाई कन्ट्रोल गर्न मद्दत गर्छ । दोस्रो चाहिँ यसले बोसो बन्न दिँदैन । यसको सिधा लाभ मुटुसँग सम्बन्धित स्वास्थ्यसँग जोडिएको छ । अर्थात् कफीको सेवनले मुटुको काम स्मूद हुन्छ । अनुसन्धानले त के पनि देखाएको छ भने कफी कलेजोको लागि अति नै गुणकारी छ । मुटु र कलेजो ठिक रह्यो अनि तौल नियन्त्रणमा रह्यो भने उमेर बढ्ने सम्भावना पनि बलियो हुन्छ । 

कफीको चमत्कारी इतिहास 

कफी एक प्रकारको फल हो । यसका दानालाई बोटबाट टिपेर सुकाएर पिसेर कफी बनाइन्छ । ९औँ शताब्दीमा इथियोपियाका बासिन्दा कफीको स्फूर्तिदायक गुणबारे पहिलो पटक परिचित भएका थिए । पहाडको गाउँमा एक किसानले झाडीमा फलेको सानो दाना खाएपछि बाख्रा उन्मत्त भएर दौडिने अनि भाग्ने गरेको देखे । 

दिक्क भएर उत्सुकतावश ती किसानले त्यो रुखमा फलेका केही दाना आफ्नो मुखमा हाले । त्यो दाना मुखमा हाल्ने बित्तिकै किसानले फुर्तिलो महसुस गरे, दिनभरिको थकान मेटिएको जस्तो महसुस गर्न थाले । कफीको युगको सुरुआत यहीबाट भएको जानकारहरू बताउँछन् । १७ औँ शताब्दीबाट युरोपमा कफीको लोकप्रियता बढ्न थाल्यो । अहिले सबैभन्दा धेरै कफी ल्याटिन अमेरिका, अफ्रिका र एसियामा हुन्छ । ब्राजिल सबैभन्दा ठुलो कफी उत्पादक देश हो । कोलम्बिया भने दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप