शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

४ महिनादेखि त्रिनगर प्लान्ट क्वारेन्टिन ठप्प भएपछि आयात निर्यात प्रभावित, प्रत्यक्ष असर उपभोक्तामा

मङ्गलबार, १२ मङ्सिर २०८०, ०८ : ०३
मङ्गलबार, १२ मङ्सिर २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशकै मुख्य भन्सार नाका कैलालीको त्रिनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी, फलफूल, कुखुराको दानालगायत वस्तुको आयात र निर्यात ठप्प छ ।

सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपन्छी तथा दुग्धजन्य वस्तुको आयात र निर्यात गत साउन २८ गतेदेखि ठप्प रहेको हो ।

प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले यी वस्तुको आयात–निर्यातका लागि अनुमति पत्र जारी गर्नेसँगै परीक्षणको कार्य गर्दै आएको थियो । तर, क्वारेन्टिन सेवा बन्द हुँदा खाद्यान्न, फलफूल, तरकारीलगायत वस्तुको आयात पूर्ण रूपमा रोकिएको हो ।

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले आयात निर्यात बन्द हुँदा बजारमा ती बस्तुको मूल्य वृद्धिले त्यसको प्रत्यक्ष असर आम उपभोक्तामा पर्न जाने बताए । 

कञ्चनपुरको गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टाइन मातहत त्रिनगर नाकामा प्लान्ट क्वारेन्टाइनको टुर मुकाम कार्यालयले बिरुवा तथा बिरुवाजन्य उपजको आयात–निर्यातको अनुमति दिनुका साथै परीक्षण गर्ने गरेको थियो । केन्द्रको परिपत्रअनुसार त्रिनगर नाकाको टुर मुकाम कार्यालयबाट सेवा बन्द गरिएको प्लान्ट क्वारेन्टाइन गड्डाचौकीका प्रमुख प्रमोद ठगुन्नाले बताए ।

ठगुन्नाका अनुसार त्रिनगर नाकाबाट वार्षिक सवा दुई अर्बभन्दा बढी मूल्यको खाद्यान्न, तरकारी तथा फलफूल भारतबाट आयात हुने गर्छ भने करिब तीन करोडको तेजपत्ता र पिना भारत निर्यात हुन्छ ।

त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी, फलफूल आयात रोकिएपछि सुदूरपश्चिममा लागत महँगिएको छ । मूल्य वृद्धिको मार उपभोक्तालाई परेको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा प्लान्ट क्वारेन्टाइन छ । तर, गड्डाचौकी नाकाबाट ठुला सवारीसाधन आउन नसक्ने भएकाले नेपालगन्ज नाकाबाट वस्तु आयात गर्नु परिरहेको कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा बताउँछन् ।

उनले भने, ‘बजारको अवस्थाबारे हामीले प्रदेश सरकारका साथै केन्द्रीय सरकारलाई पनि जानकारी गराएका छौ । जसको प्रत्यक्ष मार उपभोक्तालाई परेको हुनाले प्लान्ट क्वारेन्टाइन सुचारु गर्न माग गर्दै आएका छौ ।’

केही दिनभित्रै सञ्चालनमा आउँछ : मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आयात निर्यात ठप्प भएको अवस्थाबारे प्रदेश सरकार गम्भीर रहेको बताउँदै केही दिनभित्रै सञ्चालनको पहल गरिरहेको बताए ।

काठमाडौँमै रहेका मुख्यमन्त्री शाहले सञ्चालनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएको र केही दिनमै सञ्चालन गर्न प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएको सुनाए ।

मुख्यमन्त्री शाहले भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यूले त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन सञ्चालनका लागि कर्मचारी पठाउने निर्णय मन्त्रीपरिषद्बाट भएको बताउनु भएको छ । केही दिनभित्रै सञ्चालनको लागि कर्मचारी पठाउने जानकारी हामीले पाएका छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप