सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोप–२८ मा सहभागी हुन आज दुबई जाँदै प्रधानमन्त्री

बुधबार, १३ मङ्सिर २०८०, ०७ : १६
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ । 

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ । 

१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ । उनले शुक्रबार सो सत्रलाई सम्बोधन गर्ने जनाइएको छ । संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटी अवार्ड समारोहमा पनि प्रचण्ड सहभागी हुनेछन् । 

त्यस्तै शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दी माउन्टेन: हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनेछन् । सो सत्रमा नेपाल पर्वतीय र हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्र रूपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्ने र हिमालका एजेन्डालाई कोप–२८ मा महत्वका साथ हेर्नका लागि अपिल गर्नुहुने मन्त्रालयले औँल्याएको छ । 

सम्मेलनको साइडलाइन बैठकका रूपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवं उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । 

त्यस्तै युएईमा रहनुहुँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तर्क्रिया गर्नुहुने कार्यसूची पनि रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप