बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मङ्सिरभित्र दुई हजार अस्थायी टहरा हस्तान्तरण गर्ने अखिल क्रान्तिकारीको योजना

आइतबार, १७ मङ्सिर २०८०, १३ : २४
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । कर्णाली प्रदेशको जाजरकोट र रुकुम(पश्चिम)मा भूकम्पबाट क्षति भएका भौतिक संरचना पुनर्निमाणका लागि माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सक्रिय रहेको छ । अखिल क्रान्तिकारीले भग्नावशेष पन्छाउने, स्थायी टहरा बनाउने काममा उपाध्यक्ष मदन भुलको नेतृत्वमा १०० जना टोली रुकुम(पश्चिम) खटाएको छ । अर्का उपाध्यक्ष अम्बरराज शाहीको नेतृत्वमा १०० जना टोली भूकम्पको इपिसेन्टर जाजरकोट पठाएको छ । 

रुकुम(पश्चिम)मा क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्मा, अध्यक्ष पञ्चा सिंह आफै खटिएका छन् । जिल्लाभरको नेतृत्व माओवादी केन्द्रका उपमहासचिव एवं सोही क्षेत्रका जनप्रतिनिधि जनार्दन शर्माले गरेका छन् । त्रिपालबाट भूकम्प पीडितलाई छानामुनि ल्याउन शर्माको नेतृत्वमा तीन हजार स्वयंसेवक परिचालन गरिएको छ । जाजरकोटमा सरकारका उर्जामन्त्रीसमेत रहेका अर्का उपमहासचिव एवं जनप्रतिनिधि शक्तिबहादुर बस्नेतले कमाण्ड गरेका छन् । 

रुकुम(पश्चिम)मा भग्नावशेष हटाउने, अस्थायी टहरा निर्माण गर्ने काममा हिमालको नेतृत्वमा सक्रिय रहेका क्रान्तिकारीले त्रिपालभित्र जनताको जीवनस्तर निकै कष्टकर रहेकाले मङ्सिरभित्र न्यानो स्थायी टहरा बनाएर हस्तान्तरण गर्ने गरी टहरा निर्माण कामलाई तीव्रता दिएका छन् । क्रान्तिकारीले दुई हजार स्थायी टहरा बनाउने जिम्मा लिएको इन्चार्ज हिमालले बताए । 

‘त्रिपालमा जनतालाई धेरै चिसो भएको छ । दुई हजार टहरा बनाउने योजनामा छौँ । मङ्सिरभित्र अस्थायी टहरामा स्थानान्तरण गरी फर्किने छौँ । अहिले क्याम्प बनाएर  बसेका छौँ । सामूहिक रूपमा खाना खाने र दैनिक बिहानैदेखि काममा खटिएका छौँ । जनार्दन जिल्ला भरि नेतृत्व लिएका छन् । अखिल क्रान्तिकारी तोकिएको क्षेत्रमा गएर काम गरिरहेका छन्’, हिमाले भने । 

त्रिपाल र जस्तापाता आफैमा चिसो हुने भएकाले जनतालाई चिसोबाट बचाउन भित्रै बस्ने, आगो बाल्ने, खाना पकाउने र सुत्ने व्यवस्था टहरोमै बनाइएको उनले जानकारी दिए । 

‘चिसो अत्यधिक बढेको छ । त्रिपालले हावा छेक्न मद्दत गरे पनि चिसो छेक्न सक्दैन । अस्थायी टहरामा जसरी पनि सार्नुपर्छ । चिसोबाट बचाउन भित्रै बस्ने, भित्रै पकाउने र खाने व्यवस्था मिलाएका छौँ । चिसोबाट बचाउन खाटको पनि व्यवस्था गरेका छौँ । टहरा बनाउँदा भग्नावशेषका काठपात प्रयोग गरी चिसोरहीत बताउने प्रयास गरेका छौँ । टहराबाट बिस्तारै स्थायी संरचना बनाउने सोचमा रहेका छौँ । एकद्वार नीतिका कारण सबैलाई एकसरो न्यानो कपडा, त्रिपाल सबैलाई पुगेको छ । न्यानो बनाउनका लागि भित्रै आगो बाल्ने र बस्ने व्यवस्था नभएसम्म चिसोबाट बचाउन समस्या देखिएको छ । अहिले हाम्रो ध्यान त्यसमै केन्द्रित गरेका छौँ’, प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी दिँदै उनले भने । अस्थायी टहरा बनाउने काम सकिएपछि सम्पूर्ण ध्यान स्थायी वासस्थानमा लगाउनुपर्ने हिमालले बताए । 

कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति भएको थियो । भूकम्पबाट जाजरकोटमा १०१ जना र रुकुम(पश्चिम)मा ५२ जनाको ज्यान गएको थियो । ९० प्रतिशत भौतिक संरचना पूर्ण क्षति भएको सरकारी तथ्याङ्कले देखाएको छ । चिसो बढ्दै जाँदा प्रभावित क्षेत्रका जनताको जीवनस्तर निकै कष्टकर हुँदै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप