सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय समिति

निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू

आइतबार, १७ मङ्सिर २०८०, १८ : ५६
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । गत मङ्सिर १४ गते प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न मुस्किलले सांसदहरूको गणपूरक सङ्ख्या पुग्यो । उपस्थिति हाजिरमा १३ जना सांसदको हस्ताक्षर भए पनि १० जना सांसद मात्र बैठकमा सहभागी थिए । बाँकी ३ जनाले गणपूरक सङ्ख्या पुर्‍याइदिनका लागि हाजिर गरेर बाहिरिएका थिए । अन्यत्र काम भएकाले सांसदहरू उदय शमशेर राणा, गंगाराम चौधरी र प्रभु साहले बैठकमा उपस्थिति मात्र जनाएका थिए ।

समितिको उक्त बैठकमा सांसदहरूको गणपूरक सङ्ख्या पुर्‍याउन समस्या हुने भएकाले उपसमिति बनाएर काम गर्ने र समितिको बैठकले त्यसलाई अनुमोदन गर्नुपर्ने सांसदहरूले बताएका थिए । 

गत कार्तिक १६ गते संघीय संसद्को बर्खे अधिवेशन अन्त्य भएको थियो । त्यसपछि तिहार, छठ लगायतका चाडपर्व मनाउनका लागि सांसदहरू आ–आफ्नो जिल्लातिर लागे । तर मङ्सिर ३ गते छठ पर्व सकिएपछि सबै सरकारी कार्यालयका कामकारबाही सुरु भए पनि संसदीय समितिहरू भने चलायमान हुन सकेका छैनन् ।

धेरैजसो सांसद काठमाडौँ बाहिर रहेकाले बैठक राख्न गणपूरक सङ्ख्या नपुग्ने भएपछि समितिका सभापतिहरूले बैठक डाक्न सकेका छैनन् । केही समितिका सभापतिसमेत काठमाडौँ बाहिरै छन् ।

प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति लगायतले सांसदहरूलाई फोन गरेर काठमाडौँ डाकिरहेका छन् । साथै दलका प्रमुख सचेतकहरूलाई अनुरोध गरेर सांसदलाई बैठकमा पठाउन पनि अनुरोध गरेको समितिका सभापतिद्वय रामहरि खतिवडा र भानुभक्त जोशीले रातोपाटीलाई बताए ।

संसदीय समितिहरू निष्क्रिय बन्दा समितिमा विचाराधीन विधेयकमाथिको छलफल प्रक्रिया अघि बढ्न सकेको छैन भने अर्कोतिर संसदीय समितिमा सरोकारवाला पक्षहरूले गरेका उजुरीहरूमाथि छलफल प्रक्रिया अघि बढ्न सकेको छैन ।

सांसद खोज्न प्रमुख सचेतक गुहार्दै राज्यव्यवस्था समिति

समितिमा विचाराधीन विधेयक र विभिन्न क्षेत्रबाट परेका उजुरीमाथि छलफलका लागि बैठक बोलाउन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आइतबार समितिका सदस्यहरूलाई फोन गरेर बैठकमा आइदिन आग्रह गरे ।

सभापति खतिवडाले भने, ‘आज मैले समितिका सबै साथीहरूलाई फोन गरेँ । काठमाडौँमा नौ–दश जनाभन्दा बढी कोही हुनुहुन्न । हाम्रो यो कमिटीमा सिनियर नेताहरू हुनुहुन्छ । रवि लामिछाने विदेशतिर हुनुहुन्छ । उपेन्द्र यादव तराईतिर हुनुहुन्छ । अरू साथीहरू बाहिरी जिल्लामा हुनुहुन्छ । एमालेको मध्यपहाडी राजमार्ग अभियान चलेको छ, साथीहरू त्यतातिर हुनुहुन्छ ।’

समितिमा विचाराधीन विधेयकहरूमाथि छलफल गर्नुपर्ने, विभिन्न विषयमा उजुरीहरू पनि आइरहेको र त्यसमाथि छलफल गर्नुपर्ने उनले बताए । साथै सरकारी निकायका पदाधिकारीहरूको उमेर सम्बन्धी विवाद लगायतका विषयमा उजुरीहरू आइरहेको खतिवडाको भनाइ छ ।

उनले भने, ‘ती विषयमा समितिको बैठक बसेर छिटो निर्णय गर्नुपर्ने छ । माननीय सदस्यहरू उपस्थित नहुँदा गणपूरक सङ्ख्या नपुग्ने भएकाले हामीले बैठक राख्न सकेका छैनौँ ।’

संसदीय व्यवस्थालाई दह्रो बनाउने भनेकै संसदीय समिति रहेको उनले बताए । ‘जनताका आवाज उठाउने ठाउँ नै यही हो । यहाँ उठेका कुराहरू सदनमा जान्छ र सदनले काम गरेको देखिन्छ,’ उनले भने, ‘समितिलाई बढी समय दिनुपर्नेमा अन्यत्र सांसदहरूले बढी समय दिएपछि यो समस्या सिर्जना भएको हो । संसदीय पद्धतिको मर्म नबुझिदिएपछि यस्तो समस्या उत्पन्न हुँदोरहेछ ।’

खतिवडाले समितिको बैठक सुरु गर्नका लागि सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने बताए । दलका प्रमुख सचेतक मार्फत सांसदहरूलाई बोलाएर बैठक राख्ने तयारीमा रहेको उनले प्रस्ट पारे ।

सांसदको उपस्थिति बढाउन उपाय खोज्न सभामुखसँग छलफल

यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले समितिको बैठकमा सांसदहरूको उपस्थिति बढाउने उपायका लागि सभामुख देवराज घिमिरेसँग छलफल गरेको बताए । सभामुखले दलका प्रमुख सचेतक मार्फत सांसदहरूलाई बैठकमा नियमित गराउन सकिनेबारे सुझाव दिएको उनले बताए ।

सभापति जोशीले भने, ‘हामी आफैँ पनि सभामुखज्यू कहाँ गयौँ । माननीयज्यूहरूलाई बैठकमा उपस्थित गराउने कुनै उपाय छ कि भनेर पनि छलफल गर्‍यौँ । उहाँले प्रमुख सचेतक मार्फत पनि दलका नेताहरूसँग कुरा पुर्‍याएर माननीय सदस्यहरूलाई उपस्थित गराउने काम गर्नुस् भन्नुभएको छ । मलाई लाग्छ अब यो महिनाको अन्तिमदेखि समितिहरूको बैठक नियमित बस्न सक्छ ।’

समितिमा आएका विधेयकहरूमाथि छलफल चलाउनका लागि भनेर सभामुख पनि  चिन्तित रहेको उनले बताए ।

उनले भने, ‘चाडपर्वका कारणले माननीयज्यूहरू घरतिर जानुभयो । सदन नभएको हुनाले अरू बेला आउनु हुँदो रहेनछ । हामीले दलका सचेतकहरूलाई आफ्नो दलका  माननीयज्यूहरूलाई उपस्थित गराउनका लागि भनिरहेका छौँ ।’

बैठकलाई नियमित सञ्चालन गर्ने पक्षमा आफू रहे पनि चाडपर्व लगायतका कारण देखाएर सांसदहरू घर गएपछि संसद् बैठक छैन भनेर नफर्किएको उनको भनाइ छ । उनले भने, ‘माननीयज्यूहरूको सङ्ख्या नपुगी बैठक गर्ने कुरा भएन ।’

जाजरकोट र रुकुममा गएको भूकम्प तथा चाडपर्वका कारण सांसदहरू निर्वाचन क्षेत्रमा गएका कारण बैठक बस्न समस्या भएको उनले बताए ।

सांसदलाई काठमाडौँ आउन २ दिन दिएर बुधबारका लागि अर्थ समितिको बैठक

यता प्रतिनिधि सभा अन्तर्गत रहेको अर्थ समितिका सभापति सन्तोष चालिसेले आउँदो बुधबारका लागि समितिको बैठक बोलाएका छन् । आइतबार समितिका कर्मचारीसँग छलफल गरेर २ दिनभित्र काठमाडौँ बाहिर भएका सांसदहरूलाई फर्किन समय पुग्ने गरी बैठक डाकेको उनले बताए ।

उनले भने, ‘बुधबार ११ बजेका लागि बैठक बोलाएको छु, अहिलेको मौद्रिक नीतिका बारेमा छलफलका लागि राष्ट्र बैंकलाई बोलाउने, दूरसञ्चार प्राधिकरणलाई बोलाएर एनसेल र टेलिकमको राजस्व सम्बन्धी छलफल गराउँदैछु । सोमबार र मंगलबार दुई दिन सांसदहरूलाई काठमाडौँ फर्किन समय पुग्छ भनेर बुधबारका लागि बैठक बोलाएको हो । भोलि नै बैठक बोलाए गणपूरक सङ्ख्या पुग्दैन । अब सांसदहरूलाई फोन गरेर बैठकमा बोलाउने काम सचिवालयका कर्मचारीले गर्नुहुन्छ ।’

यता राष्ट्रिय सभा अन्तर्गत रहेका समितिहरूको बैठक पनि नियमित बस्न सकेको छैन । यद्यपि विधायन व्यवस्थापन समितिले भने नियमित बैठक सञ्चालन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप