शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
दुई पाङ्ग्रे सवारी

कस्तो हेलमेट लगाउने र आफैँ कसरी सफा गर्ने ? (भिडियो)

सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । मोटरसाइकल तथा स्कुटरजस्ता दुई पाङ्ग्रे सवारीसाधन चलाउनेहरूका लागि हेलमेट अति आवश्यक सामग्री हो । दुई पाङ्ग्रे सवारी साधन चलाउनेहरुका लागि हेलमेट सुरक्षा कवचका रुपमा लिइन्छ ।

विशेष गरेर दुर्घटनाका बेला टाउकोको सुरक्षाका लागि हेलमेट निकै उपयोगी हुन्छ । दुई पाङ्ग्रे सवारीका चालकले मात्र नभएर त्यसमा सवार दोस्रो व्यक्तिका लागि पनि सुरक्षाका दृष्टिले हेलमेट उपयोगी हुन्छ । यद्यपि नेपालमा दुई पाङ्ग्रे सवारीसाधनको पछाडि बस्नेले हेलमेटको उति प्रयोग गरेको पाइँदैन ।

अर्कोतर्फ नयाँ पुस्ताले हेलमेटमा पनि फेसन देखेका छन् । परिणामस्वरुप बजारमा विभिन्न प्रकारका हेलमेट पाइन्छ । नेपालमा विशेष गरेर १५ सय वा २ हजारदेखि ५९ हजार रुपैयाँसम्मको हेलमेट पाइने र त्यो भन्दा महँगा २ लाखसम्मका हेलमेट बजारमा पाइने हेलमेट्स नेपालकी इन्चार्ज अन्जली महर्जन बताउँछिन् ।

helmet (1)

बजारमा थुप्रै खाले हेलमेट पाइने भए पनि ग्राहकले सर्टिफाइड र सेफ्टी हेल्मेटमात्र खरिद गर्नुपर्ने महर्जनको भनाइ छ । आइएसआई सर्टिफाइड, डीओटी सर्टिफाइड र इसीई सर्टिफाइड हेलमेटमात्र प्रयोग गर्नु सुरक्षाका दृष्टिकोणले उपयुक्त हुने भए पनि पछिल्लो पुस्ताले हेलमेटमा सुरक्षा भन्दा धेरै लुक्समा ध्यान दिने गरेको महर्जन बताउँछिन् ।

बाटोको धुलो अनि गर्मीजस्ता विषयले हेल्मेट फोहोर त हुने नै भयो तर, यसलाई आफैँले कसरी सफा गर्न सकिन्छ भन्ने जिज्ञासा पनि धेरैमा हुने गरेको छ । हेलमेट हामी आफैँले सफा गर्न सक्छौँ र त्यसका लागि हामीमा जाँगर भने चाहिन्छ । हेल्मेट नेपालीकी सोरुम इन्चार्ज महर्जनका अनुसार हेल्मेटको प्याडिङहरु सुरक्षित साथ निकालेर बेबी स्याम्पुले धोएर छायाँमा सुकाएर सफा गर्न सकिन्छ । यद्यपि हेल्मेटको प्याडिङ धोएपछि घाममा सुकाउने हो भने मक्किने र धेरै छिटो पुरानो हुने सम्भावना रहन्छ ।

helmet (2)

यदि प्याडिङ निकाल्न नमिल्ने हेल्मेट छ भने बजारमा पाइने हेल्मेट क्लिनर प्रयोग गरेर सफा र चिटिक्क परेको हेलमेटको प्रयोग गर्न सकिन्छ । जाडोमा हेलमेटमा धेरैजसो भाइजर लगाएर हिँड्नु पर्ने र त्यसो गर्दा बाफ जम्मा हुँदा असहज हुने गर्दछ । यस्तो अवस्थामा हेलमेटमा पिन लक दिइएको हुन्छ, जसले बाफ हटाउन सहयोग गर्दछ भने कतिपय हेलमेटमा इनब्युल्ट एन्टीफग पनि राखिएको हुने महर्जन बताउँछिन् ।

धेरै हेलमेटमा भेन्ट राखिए पनि चिसो मौसममा बाफ बन्छ । यस्तो अवस्थामा बजारमा पाइने एन्टीफग किनेर हेलमेटमा राख्न सकिन्छ भने बजारमा पाइने एन्टीफग स्प्रे प्रयोग गर्न सकिने महर्जन बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया